लालुको डर, शहरको झुप्रो र लास

यसपटक बुढालाई असाध्यै गर्मी भयो र बसको झ्यालतिर टाउको फर्काए । केहीबेरपछि बागमती पुलमुनि अभावले छाएका सुकुम्वासी छाप्रा देखे र बुढालाई आफ्नो गाउँको सम्झना आयो ।

लालुको डर, शहरको झुप्रो र लास

                            लालुको डर

लालु प्रसाद एक वर्षको तलब बोकेर घर फर्किन लाग्यो । बाटोमा जंगल भएकाले उसलाई निकै डर लाग्यो । उसलाई डर त लाग्यो, तर के को डर ? कसको डर ?

ऊभित्र अनुत्तरित प्रश्न निस्किए ? बाघ सम्झ्यो , भालु सम्झ्यो, सर्प सम्झ्यो, हात्ती सम्झ्यो उसलाई पटक्कै डर लागेन । राक्षस मसान भूत सम्झ्यो डर लाग्नुको सट्टा झन् हाँसो लाग्यो ।

अन्तिममा जब मान्छे सम्झ्यो उसको आङ सिरिगं भयो, नौनाडी गले ।

 

                   लास

रातभरि जंगलमा गड्याङगुडुङ भयो । आकाशबाट आगोका पर्रा छुटे । विस्फोट, आगोको मुस्लो र धुँवाले जंगलका जीवजन्तु  र मान्छे भयभित भए । जनावर आ-आफ्नो वासस्थानमा लुकेर बसे ।

बिहान पख बाघ, चितुवा, स्याल, ब्वाँसो आदि मांसहारी जनावर मानिसको आलो रगतको गन्ध थाहा पाएपछि ओडारभित्र बसिरहन सकेनन् । तिनीहरू विस्तारै आ-आफ्नो वासस्थानबाट बाहिर निस्केर मानिसको लास खोज्न थाले ।

ठाउँ-ठाउँमा तिनीहरुले रगत जमेको त भेट्टाए तर एउटा पनि लास भेट्टाएनन् । आफ्ना अनुभवी नाकको सहायताले तिनीहरूले जंगलमा खोज्दै जाँदा एक ठाउँमा जमिनमुनि लास गाडेको चाल पाए ।

र्‍याल काढ्दै तिनीहरूले माटो खोस्रे र केही बेरपछि थुप्रै लास भेट्टाए ।

टन्न अघाएपछि छक्क पर्दै तिनीहरू एक आपसमा कुरा गर्न थाले, ‘होइन यी मानिसहरू आफूले नखाने भएपछि किन मान्छे मार्छन् होला है ? नत आफू खान्छन् नत हामीलाई खान दिन्छन् मूर्ख मान्छेहरू । ‘

 

                शहरको झुप्रो

‘बुवा ! त्यो सिंहदरबार, त्यो सर्वोच्च अदालत, त्यो कृषि विकास बैंक… !’ “हँ ?”, बुढाले ठूला घरका नाम पहिलोपटक सुने, तुरुन्तै बिर्सिए ।

बुढ्यौलीले अनुहारमा मुजा परेका वृद्धलाई कालो इस्टकोट, सेतो कछाड र भादगाउँले टोपीले गाउँले हुनुको परिचय दिएको थियो ।

“बुबा त्यो बबरमहल, त्यो केशरमहल, त्यो संसद् भवन अनि ऊ त्योचाहिँ एभरेस्ट होटल ।”  “ए”, बुढाले पसिना पुछे र उत्सुकताविहीन जवाफ दिए । “त्यो नौतले दरबार, त्यो विशाल बजार, त्यो वातानुकुलित भवन त्यो काठमाडौं प्लाजा ।”

यसपटक बुढालाई असाध्यै गर्मी भयो र बसको झ्यालतिर टाउको फर्काए । केहीबेरपछि बागमती पुलमुनि अभावले छाएका सुकुम्वासी छाप्रा देखे र बुढालाई आफ्नो गाउँको सम्झना आयो ।

घरको अज्ञात नियास्रोले आँखा रसायो…। “मा…माइला ! त्यो हाम्रोजस्तो सानो झुप्रो कसको हो ?” “हँ”– छोराको मुखबाट प्रतिध्वनि परिवर्तित भयो । “हाम्रो घरजस्तो सानो झुप्रो कसको हो हँ ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved