उद्योगी व्यवसायीको चुनावमा राजनीति : कसले कसलाई बोक्दैछन् ?

नेपालभ्युज

उद्योगी व्यवसायीको चुनावमा राजनीति : कसले कसलाई बोक्दैछन् ?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा कसलाई जिताउने भन्नेमा उद्योगी व्यवसायीसँगै राजनीतिक दलभित्र समेत चासोका साथ हेरिएको छ।

उद्योगी व्यवसायीको छाता संगठन मानिएको महासंघमा वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने विधानतः प्रावधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुनेछन्।

त्यसपछिको वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्वका लागि चैत २८ र २९ गते हुने साधारणसभाबाट निर्वाचित हुनुपर्नेछ। हाल वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका उपाध्यहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले आ-आफ्ना प्यानल खडा गरी प्रतिस्पर्धा गर्दैछन्।

महासंघको साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने विधानमा व्यवस्था छ। यसभन्दा अघिको चुनावमा वरिष्ठ उपाध्यका दुई जना मात्रै उम्मेदवार हुने गरेकामा यसपटक भने तीन जनाको प्रतिस्पर्धा हुने भएको छ।

यद्यपि, वरिष्ठमा चुनावै नगर्नेगरी सर्वसम्मत बनाउन भावी अध्यक्ष चन्द्र ढकाल लागि परेका छन्। उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारलाई एकैसाथ राखेर र छुट्टाछुट्टै पनि भेटेर यो पहल गरिरहेको देखिन्छ।

उद्योगी व्यवसायीको चुनावमा राजनीतिले पनि प्रवेश पाउने गरेको छ। यसपटक उम्मेदवार रहेका मध्य उमेशलाल श्रेष्ठ कम्युनिस्ट पृष्ठभूमिका हुन्। उनी नेकपाका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठ र कम्युनिस्ट नेतृ स्व.सहाना प्रधानका छोरा हुन्।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई दुवै नेपाली कांग्रेससँग नजिक छन्। उनीहरूलाई नेपाली कांग्रेसको समर्थन रहने भनिए पनि कुन उम्मेदवारलाई कांग्रेसभित्रको कुन पक्षले समर्थन गर्ने भन्ने अन्योल छ।

कांग्रेस महामन्त्री गगन थापासँग राम्रो सम्बन्ध भएका अञ्जन श्रेष्ठलाई शेखर कोइराला समूहले समर्थन गर्ने देखिन्छ । यो सँगै उनलाई गठबन्धनका दलभित्रका उद्योगी व्यवसायीको समेत समर्थन जुटाउने प्रयास भइरहेको कांग्रेसका एक नेताले बताए।

पोखराको लक्ष्मी ग्रुपसँगै उदायका अञ्जन शालीन र भद्र छन्। सबैसँग मिल्न सक्ने र उद्योगी व्यवसायीको मर्म बुझेको भनेर पनि उनलाई पोखरा र पश्चिमाञ्चलका उद्योगी व्यवसायीले सघाउने भनिसकेका छन्।

यता, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको समर्थन भने रामचन्द्र संघाईलाई रहेको कांग्रेसभित्र चर्चा छ।

देउवापत्नी आरजु राणाले संघाईलाई वरिष्ठ उपाध्यक्ष बनाउन आफ्नो पक्षका उद्योगी व्यवसायीलाई फोन गर्ने, भेला गर्नेसमेत गर्न थालेको कांग्रेसभित्रै चर्चा हुन थालेको छ।

संघाईले पनि कांग्रेस नेताहरूलाई भेटेर सहयोगको आग्रह गरेको र आश्वासनसमेत पाएको स्रोतको भनाइ छ। उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट उद्योगी व्यवसायीसँग समेत सहयोगको अपिल गरेको माओवादी निकट व्यवसायीले बताए।

त्यसैगरी, वरिष्ठ उपाध्यक्ष अर्का उम्मेदवार उमेशलाल श्रेष्ठलाई नेकपा एमालेको समर्थन छ। एमालेबाहेक राप्रपा, जसपा र केही स्वतन्त्र व्यवसायीले समेत उनलाई सहयोग गर्ने वचन दिएको उनी निकट व्यवसायी बताउँछन्।

‘उमेशजी सकेसम्म सर्वसम्मत नै हुने र चुनाव नै हुँदा पनि जित्ने उम्मेदवार हो’ उनीनिकट एक व्यवसायी भन्छन्–‘प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारलाई समेत मिलाएर लैजाने प्रयत्नमा उहाँ हुनुहुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved