काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले सोमबार आफ्नो घोषणापत्रसहित प्यानल घोषणा गर्दैछन्। चैत अन्तिममा हुने महासंघको निर्वाचनको लागि उनले सोमबार दिउँसो तीन बजे एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
चैत २८ र २९ मा महासंघमा साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका थिए। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन्।
३ वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्नेछ। त्यसमा आकांक्षि रहेका श्रेष्ठ बलिया उम्मेदवार मानिन्छन्। पूर्वअध्यक्षहरु र अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चन्द्र ढकालको समर्थन श्रेष्ठलाई छ।
श्रेष्ठले आफ्नो प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाउँदैछन्।
अन्जन श्रेष्ठ को हुन् ?
अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि चुनाव जितेका थिए। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्।
लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ।
उत्पादनमूलक उद्योग
उत्पादनमूलकतर्फ सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्।
सुजल फुड अर्थात् खाद्य उद्योगतर्फ लक्ष्मी ग्रुपको कन्फेक्सनरी उत्पादन नेपालमा लोकप्रिय छ।
यसको उत्पादनमा कन्फेक्सनरी, स्ट्रिप गम, टफी, ललीपप्स र बबल गमहरूमा केन्द्रित छ।
चोकोफन, सुजल गम, स्मार्ट ललीपप, मिल्क फल्स महत्त्वपूर्ण ब्रान्ड हो। यी वस्तुहरू छिमेकी देश भारत र चीनमा निर्यात समेत गर्दै आएको छ।
सुजल प्लास्टिक : सुजल प्लास्टिकले खाद्य तथा पेय पदार्थ उद्योगका लागि बोतल र जारमा पूर्ण प्याकेजिङ्ग उत्पादन गर्ने गर्छ। यसले एक्वा हन्ड्रेड, बिस्लेरी, किन्ले, स्प्रिंगले, थस्र्टपाइ जस्ता प्रख्यात ब्रान्डहरूलाई सेवा दिइरहेको छ। अर्थात् यी ब्राण्डको प्याकेजिङ प्रोडक्ट सुजल प्लाष्टिकले उत्पादन गर्ने गर्छ।
सिद्धि लक्ष्मी स्टिल : लक्ष्मी ग्रुपको स्टिल उत्पादन गर्ने संस्था सिद्धि लक्ष्मी स्टिलले समृद्धि स्टिल, एक्सरिब्ड टीएमटी रिबार्स उत्पादन गर्दै आएको छ।
सुजल डेरी : लक्ष्मी समूहको सहायक कम्पनी दूध प्रशोधन गर्ने ठूलो कम्पनीका रूपमा यसले परिचय बनाएको छ। सन् २००५ मा पोखरा दूध आपूर्ति योजना स्थापना भएको यो उत्पादक कम्पनीले दूध, दही, घिउ, आइसक्रिम, बटर, नौनी, पनीर र पाउडर प्लान्ट सुविधा समावेश छ।
व्यापारतर्फ
जाइमा लक्ष्मी ट्रेडिङ : यस कम्पनीले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयल को व्यापार यस कम्पनीले गर्दै आएको छ।
अटोमोटिभ : लक्ष्मी ग्रुपको महत्त्वपूर्ण विजनेश अटोमोटिभ हो। कोरियन कम्पनी हुण्डाई प्यासेन्जर भेइलल्सको आधिकारिक बिक्रेता हो।
अटोपार्ट, लुब्रिकेन्ट समेत बिक्री वितरण गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्रान्ड बिएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारी बिक्रेता हो।
इलेक्ट्रोनिक्स : लक्ष्मी ग्रुपको जैमा इन्टरकन्टिनेन्टल कम्पनीले ओट्टो र कूलप्याड जस्ता मोबाइल ब्रान्डहरू आयात गर्छ।
अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनमा समेत अन्जन श्रेष्ठको उल्लेख्य लगानी रहेको छ।
महासंघमा कस्तो छ उनको अनुभव ?
लक्ष्मी ग्रुपका निर्देशक तथा महासंघका हालका उपाध्यक्ष श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्।
उनी महासंघमा आबद्ध भएको भने २० वर्षको पूरा भएको छ। १५ वर्ष कार्यसमिति र एक कार्यकाल पदाधिकारी आफ्नो समेत बिताएका छन्।
महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव समेत उनीसँग छ।
Facebook Comment
Comment