खप्तड गोल्डकपको उपाधिमाथि मनाङ र थ्रीस्टारको दाबी

नेपालभ्युज

खप्तड गोल्डकपको उपाधिमाथि मनाङ र थ्रीस्टारको दाबी

धनगढी। धनगढीमा जारी छटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल भोलि हुँदैछ । धनगढी रङ्गशालामा उपाधिका लागि साविक विजेता मनाङ मस्याङ्दी क्लब र थ्रीस्टार क्लब भिड्दै छन् । फाइनल खेल शनिबार दिउँसो ३ बजे हुने भएको हो ।

फाइनल भिडन्तअघि गोल्डकपको सबैभन्दा सफल टोली मनाङ र तेस्रोपटक फाइनल पुगेको थ्रीस्टार क्लबले उपाधिमाथि दाबी गरेका छन् । धनगढीमा आज भएको प्रि–म्याच कन्फ्रेन्समा खप्तड गोल्डकपको फाइनल अघि दुवै टिमका कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

थ्रीस्टार पहिलोपटक सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने मनाङ भने तेस्रोपटक उपाधि आफ्ना कब्जामा पार्ने दाउमा छ । मनाङले सेमिफाइनलमा विदेशी क्लब एभिनियरलाई ६–० ले हराएको हो । क्वार्टरफाइनलमा उसले बागमती युवा क्लबलाई २–१ ले किनारा लगाएको थियो ।

मनाङले पहिलो र पाँचौं संस्करणको उपाधि जितेको थियो । दुवै संस्करणमा फाइनल पुग्दा मनाङले सफलता हासिल गरेको छ । यो सफलतालाई निरन्तरता दिने मनाङको योजना छ । मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपमा टिमको लक्ष्य विगतको जस्तै उपाधि जित्नु रहेको बताए ।

थ्रीस्टारले सेमिफाइनलमा भने १० खेलाडीमा सीमित भएर पनि आयोजक सुदूरपश्चिम ११ लाई ट्राइबे्रकरमा ४–२ ले हराएको थियो । क्वार्टरफाइनलमा थ्रीस्टारले फेन्ड्स क्लबलाई १–० ले किनारा लगाएको छ । थ्रीस्टार तेस्रो र चौथो संस्करणमा फाइनल पुगेर उपविजेतामा सीमित भएको थियो ।

तेस्रो फाइनलमा भने विगतमा भएका गल्तीलाई सुधारेर उपाधि जित्ने योजना थ्रीस्टारको छ । थ्रीस्टारका कप्तान विक्रम लामाले विगतमा भएको गल्ती सुधार्दै उपाधि जित्ने बताए ।

सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ सालदेखि आयोजना हुँदै आएको छ । सबैभन्दा बढी दुईपटक पहिलो र पाचौँ संस्करणको उपाधि मनाङले जितेको छ भने दोस्रो संस्करणको उपाधि नेपाल आर्मी क्लब, तेस्रो संस्करणकोे उपाधि नेपाल पुलिस क्लब र चौथो संस्करणको उपाधि आयोजक सुदूरपश्चिम ११ ले जितेको थियो ।

छैटौ संस्करणको विजेताको टुंगो भोलि हुने फाइनल खेलले लगाउनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved