प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग

नेपाल भ्युज

प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग

बैतडी ।  बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए ।

पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । उनले भने, ‘गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा पर्‍यो, परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो ।’

सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा यो रोगको सङ्क्रमण देखापरेको भए पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूपमा देखापरेको प्रमुख पन्तले बताए । उनले भने, ‘यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ ।’

गाई, गोरु, भैँसीमा यो रोग देखापरेको भए पनि गाई र गोरुमा बढी सङ्क्रमण देखापरेको बताइएको छ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्ने गर्दछन् । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेको तथ्याङ्क नआएको केन्द्रले जनाएको छ ।

शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको बताए । यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन छैन । उनले भने, ‘उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ । बेटाडिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौँ ।’

पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने,  र्‍याल र सिँगान काढ्ने, गर्भीणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्दछ ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तिमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ ।

लम्पी भाइरल रोग नेपालमा विसं २०७७ मा मोरङबाट फैलिएको होे । त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved