सरकारका प्रवक्ताको दाबी- संक्रमणकालीन न्याय चाँडै टुङ्गिन्छ

नेपालभ्युज

सरकारका प्रवक्ताको दाबी- संक्रमणकालीन न्याय चाँडै टुङ्गिन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तेस्रो प्रधानमन्त्रीत्वकाल देश र जनताको समृद्धिको लागि सफल हुने बताएकी छन् ।

सरकारका प्रवक्तासमेत रहेकी शर्माले सरकारले केही महत्त्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने दाबी गरिन् । ‘अहिले संघीयता कार्यान्वयनको विषय र संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्ने कुरा नै मुख्य चुनौती हो ।’

युद्धका घट्ना नियतवश् नभएको भन्दै मन्त्री शर्माले विद्येयक बनाउँदा आफूहरूले विज्ञहरूका सल्लाह र सुझाव लिएको पनि दाबी गरिन् । ‘यसमा सर्वोच्चको फैसलाका नजीरलगायत सबैलाई समेट्ने कोसिस गरिएको छ । यसलाई छिट्टै टुङ्गोमा पुर्‍याउनेछौँ ।’

मन्त्री शर्माले प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको सुनाइन् । ‘प्रधानमन्त्रीज्यूले जनताको आशा र भरोसा जगाउन सकारात्मक भूमिका खेल्नुभएको छ । सरकार गठन भएको यत्तिका दिनसम्म के काम भयो भन्ने चासोको विषय सबैलाई छ । सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलायो, सरकारले केही गर्छ भन्ने भाव जागृत भयो । त्यो नै ठूलो कुरा हो,’ उनले भनिन् ।

उनले संवैधानिक परिषद्सम्बन्धी ऐन अघि बढाइएको पनि बताइन् । त्यसैगरी गम्भीर मानवअधिकार उल्लंघनका घटनामा क्षमा नहुने पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘शाही नेपाली सेनाको हिरासतभित्र म पनि शारीरिक र मानसिक यातना भोगेर आएको पात्र हुँ । गम्भीर मानवअधिकार उल्लंघन घटनामा कानूनतः क्षमा हुँदैन् ।’

यस्तै, उनले नेपालमा पछिल्लो समय मिडियाको विकास तीव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved