किन गएनन् प्रचण्ड बोआओ ? किन संलग्न हुँदैछन् ‘डेमोक्रेसी समिट’ मा ?

वैदेशिक मामिलामा माओवादीको 'यूटर्न'

प्रचण्ड र माओवादी पार्टीलाई चीन नजिक रहँदै आएको मानिन्थ्यो । माओवादी पार्टीले भारतलाई विस्तारवाद, अमेरिकालाई साम्राज्यवादका रूपमा निन्दा गर्दछ भने चीनलाई समाजवादी मुलुकका रूपमा सम्मान गर्दछ । तर, फाल्गुन ११ गते एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेसलगायतका दलसँग नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै प्रचण्ड र माओवादीले अन्तर्राष्ट्रिय राजनीतिको लवी परिवर्तन गरेको ठानिन्छ ।

किन गएनन् प्रचण्ड बोआओ ? किन संलग्न हुँदैछन् ‘डेमोक्रेसी समिट’ मा ?

काठमाडौं । चीनको हेनान् प्रान्तमा आयोजना हुने महत्त्वपूर्ण एशियाली विकास मञ्च बैठक बोआओ मंगलबार सुरू भएको छ । सम्मेलनमा ५० देशका २ हजारभन्दा बढीले भाग लिएका छन् । सम्मेलनको शीर्षक ‘एक अनिश्चित विश्व : चुनौतीबीच विकासका लागि ऐक्यबद्धता र सहकार्य’ राखिएको छ ।

सम्मेलनमा चीनका प्रधानमन्त्री लि छ्याङका अतिरिक्त सिंगापुर, मलेसिया, स्पेन र आइभोरीकोष्टका प्रधानमन्त्रीले पनि भाग लिनेछन् । सहभागी उच्च नेताको सम्बोधन बिहीबार हुनेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टालिना जेर्जिभासमेत सहभागी हुनेछन् ।

बोआओ सम्मेलनलाई डाभोस सम्मेलनको प्रतिक्रियामा चीनको प्रयास मानिन्छ । सन् २०७१ देखि स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन हुने गर्दछ । यसमा विश्वका व्यवसायिक क्षेत्रका व्यक्तित्वले भाग लिने गर्दछन् ।

बोआओ फोरम भने सन् २००६ मा स्थापित भएको हो । सन् २००८ देखि यसले हेनान प्रान्तको बोआओमा विश्व आर्थिक सम्मेलन गर्दै आएको छ । सन् २०१९ को मार्च यता कोभिड-१९ का कारण सम्मेलन हुन सकेको थिएन ।

सन् २०१६ र २०१७ को बोआयो सम्मेलनमा प्रचण्डले नेपालको तर्फबाट भाग लिएका थिए । ती दुवै सम्मेलनमा उनले भावी दिनमा सहकार्य र साझा यात्रा गर्ने प्रतिबद्धता गरेका थिए । यसपटक भने बोआओ सम्मेलनमा प्रचण्डले भाग लिएनन् । गत फाल्गुन १० मा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफैँले भेटेर बोआओ सम्मेलनको निमन्त्रणा दिएका थिए ।

यस्तो निमन्त्रणा प्राप्त भएको प्रचण्डको सचिवालयले सार्वजनिक रूपमा जानकारी गराएको थियो । तर, यो सम्मेलनमा भाग लिने, नलिनेबारे प्रचण्ड मौन रहँदै आएका थिए । अन्ततः प्रधानमन्त्री प्रचण्ड बोआओ सम्मेलनमा गएनन् ।

कुटनीतिक क्षेत्रका जानकारकाअनुसार यसका मुख्य दुई कारण छन् । पहिलो— नेपालको कुनै प्रधानमन्त्रीले कार्यकाल प्रारम्भ गर्दा चीनबाट भ्रमण सुरू गरेको भारतले मन पराउँदैन । पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा चीनबाट भ्रमण सुरुवात गरेकोले भारतसँगको सम्बन्ध राम्रो हुन नसकी उनले ९ महिनामै सत्ता गुमाउनु परेको ठानिन्छ ।

बोआओ सम्मेलन अघि नै भारतको भ्रमण हुन सकेको भए प्रचण्ड हेनान् जान सक्थे । यही आशाले उनी बसेका थिए । तर, भारतले यसबीच भ्रमणको निम्तो नै दिएन । राष्ट्रपतिको निर्वाचन अघि नेपाल आएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो नै दिएनन् । अर्को महिना प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन सक्ने अपेक्षा गरिएको छ तर टुंगो भने छैन ।

दोस्रो— प्रधानमन्त्री प्रचण्डले स्वयम् बोआओ जान अनिच्छा देखाएको हुन सक्दछ । त्यसको कारण भने एमसीसी प्रकरणपछि विश्व राजनीतिमा उनले गरेको लवी परिवर्तन हो । प्रचण्ड र माओवादी पार्टी अमेरिकासँगको एमसीसी सम्झौताको विरुद्धमा रहँदै आएका थिए ।

नेपालको संसद्ले एमसीसी पारित गर्न नहुने चीन सरकारको धारणा रहँदै आएको थियो । तर, अन्तिम समयमा माओवादी पार्टी एमसीसी पारित गर्ने पक्षमा उभियो । यसपछि प्रचण्ड र चीनको सम्बन्ध चिसिएको थियो । बोआयो सम्मेलनमा निम्ता गरेर चीनले प्रचण्ड र माओवादीसँगको सम्बन्ध सुधार गर्न चाहेको थियो । तर, अमेरिकी पक्षको अपेक्षालाई ध्यान दिँदै प्रचण्ड बोआओ गएनन् ।

अर्को रोचक पक्ष चीनको हेनानमा बोआओ सम्मेलन चलिरहेकै समयमा बुधबारबाट अमेरिकी राष्ट्रपति जो वाइडनले आयोजना गरेको ‘लोकतन्त्र विश्व शिखर सम्मेलन’ (वर्ल्ड समिट फर डेमोक्रेसी ) सुरू हुँदैछ । यसमा भने प्रधानमन्त्री प्रचण्डले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनले अमेरिकाको लोकतन्त्र सम्मेलनलाई ‘विचारधाराका आधारमा विश्वलाई विभाजित गर्ने’ प्रयास भन्दै विरोध गरेको छ । सन् २०२० को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा जो बाइडनले लोकतन्त्रको विश्वव्यापी प्रवर्द्धन र सहकार्यका लागि विश्व लोकतन्त्र शिखर सम्मेलन गर्ने प्रचलन स्थापित गर्ने प्रतिबद्धता गरेका थिए ।

राष्ट्रपति बाइडनले आयोजना गरेको यो दोस्रो लोकतन्त्र शिखर सम्मेलन हो । यस सम्मेलनका लागि राष्ट्रपति बाइडनले १२० देशका सरकार प्रमुखलाई निमन्त्रणा दिएका छन् । फाल्गुनको पहिलो हप्ता नेपाल आएका उच्च अमेरिकी अधिकारी उपविदेशमन्त्री भिक्टोरिया न्युलान्डले शिखर सम्मेलनको निमन्त्रणा प्रधानमन्त्री प्रचण्डलाई दिएकी थिइन । अर्की उच्च अधिकारी सामन्था पावर यो सम्मेलनको व्यवस्थापनका लागेकी महत्त्वपूर्ण पात्र हुन् ।

प्रचण्ड र माओवादी पार्टीलाई चीन नजिक रहँदै आएको मानिन्थ्यो । माओवादी पार्टीले भारतलाई विस्तारवाद, अमेरिकालाई साम्राज्यवादका रूपमा निन्दा गर्दछ भने चीनलाई समाजवादी मुलुकका रूपमा सम्मान गर्दछ ।

तर, फाल्गुन ११ गते एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेसलगायतका दलसँग नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै प्रचण्ड र माओवादीले अन्तर्राष्ट्रिय राजनीतिको लवी परिवर्तन गरेको ठानिन्छ । यस्तो नयाँ समीकरण र सत्ता गठबन्धन बनाउन त्यसअघि नेपाल भ्रमणमा आएका उच्च अमेरकी तथा भारतीय अधिकारीले प्रेरित गरेको आम बुझाइ छ ।

प्रचण्ड चीनको निमन्त्रणमा बोआओ सम्मेलनमा नजानु तर, जो बइडनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा भर्चुअल सहभागिता जनाउने निर्णयमा पुग्नुले उक्त बुझाइलाई थप पुष्टि गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved