काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको बताएका छन् ।
चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानमन्त्री निवास बालुवाटारबाट आज भर्चुअल सम्बोधन गर्दै उनले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेको छु ।’
उनले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तर्क्रिया गर्दै आएको उल्लेख गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री दाहालले सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरे ।
विसं २०३८ देखि औपचारिक रूपमा ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भई लाखौैँ खेलाडी आबद्ध रहेको कराते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
अन्तर्राष्ट्रियरूपमा कीर्तिमान हासिल गर्न सफल कराते खेलाडीको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले करातेको विकास र खेलाडीको प्रोत्साहनमा महत्त्वपूर्ण सफलता मिल्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।