काठमाडौं। नेपालमा बसिरहेका १८९ जना नागरिकको देश पहिचान नभएको तथ्यांक सार्वजनिक भएको छ। यसले देशै नभएका अनागरिक नेपालमा कसरी बसिरहेका छन् भन्ने प्रश्न खडा भएको छ।
नेपालको कुल जनसंख्यामध्ये १ लाख ३७ हजार ४ सय ७ जना नेपाल बाहिरका रहेको तथ्यांकले देखाएको छ। तीमध्ये १८९ को देशकै पहिचान नखुलेको हो।
नेपालको जनगणना २०७८ मा उल्लेख गरिएको तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये एक लाख ३७ हजार ४ सय ७ जना अन्य देशका हुन्।
जनगणना गर्दा नेपालभित्र अक्सर बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकको विवरण सार्वजनिक गरिन्छ । त्यसैले नेपालको कुल जनसंख्यामा ती नागरिकसमेत गणनामा छन्।
तथ्यांकअनुसार नेपालमा छिमेकी भारतीय नागरिक एक लाख ३२ हजार ७ सय ८१ जना रहेका छन्। त्यसैगरी, अर्को छिमेकी चीनका नागरिक एक हजार ८ सय ८२ जना छन्।
भारत र चीनबाहेक अन्य सार्क राष्ट्रका पाँच सय ८० जना र अन्य तेस्रो मुलुकका एक हजार ९ सय ७५ जना नागरिक नेपालमा बसोबास गरिरहेका छन्। नेपालमा बसोबास गर्ने एक सय ८९ जनाको भने देश खुल्न सकेको छैन।
ती एक सय ८९ जना कुन देशका नागरिक हुन भनेर विवरण खुल्न नसकेका मध्य १ सय ५३ जना बागमती प्रदेशमा बसिरहेका छन्। कोशीमा ७ मधेसमा ३ र गण्डकीमा २२ र लुम्बिनी प्रदेशमा ४ जना छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो संख्या शून्य छ।
शहरी र ग्रामिण हिसाबले हेर्दा देश नखुलेका नागरिक नगरपालिका क्षेत्रमा १ सय ८६ जना र गाउँपालिकामा ३ जना बसेका छन्। भौगोलिक हिसाबले हिमाली क्षेत्रमा १ जना पहाडी क्षेत्रमा १६६ जना र तराईमा २२ जना छन्।