काठमाडौं। नेपाली चलचित्रका वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपाली मूलका भारतीय फिल्म निर्देशकसमेत हुन् ।
२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका थिए ।
नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ ।
सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हुन् ।
४० को दशकमा नेपाल आएका उनले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए ।