काठमाडौं। आजबाट छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ ) शुरु हुँदैछ । चैत्र २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आज प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गर्नेछन्।
कार्यक्रमको शुभारम्भ आज दिउँसो ३ बजे सिभिल मलमा हुनेछ । समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ ।
५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बताएको छ । यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ ।
ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।