काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा ‘कोशी प्रदेश’ खारेजको मागसहित बृहत् प्रदर्शन भएको छ ।
बृहत् प्रदर्शन प्रदेश नं. १ को नाम पहिचानका आधारमा राखिनुपर्ने माग दोहोर्याउँदै आएका पहिचानवादी समुदायका सदस्यहरूको उपस्थितिमा भएको हो ।

उनीहरूले कोशी खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुरूप नाम राखिनुपर्ने माग गरेका छन् । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘किरात लिम्बूवान् शेर्पालुङ नामाकरण गर’, ‘चोमोलुङ्माको कसम प्रदेश नं. १ को नाम किरात नै लेखाउँछौँ’लगायत लेखिएको पर्चाहरू बोकेका थिए ।
उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामासमेत मागेका छन् । पहिचानसहितको सङ्घीयताको मर्मलाई कुल्चेर नामाकरण गरेको आरोप लगाउँदै उनीहरूले मुख्यमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

अहिले काठमाडौंसहित कोशी प्रदेशका अधिकांश शहरहरूमा पहिचानवादी प्रदर्शन भइरहेका छन् । किरात राई यायोक्खाले विराटनगरलगायतका शहरहरूमा प्रदर्शन गर्दै आएको छ ।
गत फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेको छ ।
Facebook Comment
Comment