काठमाडौं। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा बनेको नयाँ गठबन्धनअनुसार बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले प्रदेश सरकारमा मन्त्रालय हेरफेर भए पनि नेतृत्वमा हालकै मुख्यमन्त्री शालिकराम जमरकट्टेल नै कायम हुने बताएका हन्।
प्रदेश सरकारको नेतृत्व परिवर्तन हुँदैन’ मन्त्री श्रेष्ठले भने, ‘गठबन्धन तलमाथि हुँदा प्रदेशमा केही असर त पर्लान् । तर बागमती प्रदेशको सरकारको नेतृत्वचाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन।’
उनले केन्द्रमा एमालेसँगको गठबन्धन टुटे पनि बागमतीमा राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने पनि बताए । कांग्रेस सहितको गठबन्धनका दलहरू पनि सरकारमा आउँदा एमाले पनि बस्न चाहेमा त्यो अझै राम्रो हुने उनको तर्क थियो। तर, जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्नचाहिँ नसकिने उनको भनाइ थियो।
सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरूको फरक-फरक अभिव्यक्ति सार्वजनिक भएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर जाऔं भन्ने हाम्रो अनुरोध रहन्छ । तर, उहाँहरू बस्न चाहनुभएन भने त जर्बजस्ती बस्नुस् भनेर हामीले बाँधेर राख्न पनि सक्दैनौं।’
बागमती प्रदेश सरकारको समीकरण कस्तो हुन्छ भन्ने विषय एमालेको निर्णयमा भर पर्ने पनि मन्त्री श्रेष्ठको भनाइ थियो।
Facebook Comment
Comment