किसान बचाउने बहानामा दूधको मूल्य लिटरमै १४ रुपैयाँसम्म वृद्धि, उपभोक्ताको विरोध

नेपालभ्युज

किसान बचाउने बहानामा दूधको मूल्य लिटरमै १४ रुपैयाँसम्म वृद्धि, उपभोक्ताको विरोध

काठमाडौं। किसानको हकहितका लागि दानालगायतमा सहुलियत दिनुपर्नेमा उद्योगीहरूको प्रभावमा परेर मूल्य बढाइएको भन्दै विरोध भएको छ।

लिटरमै १४ रुपैयाँसम्म वृद्धि गर्दै बजारलाई प्रत्यक्ष असर गर्ने मूल्यवृद्धि मान्य नहुने भन्दै उपभोक्ता अधिकारकर्मीहरूले विरोध गरेका हुन्।

दाना, चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको थियो। बोर्डको प्रस्तावका आधारमा भन्दै कृषिले मन्त्रिपरिषद्को बैठकमा ४ रुपैयाँ बढाएर प्रस्ताव गरेको हो।

उपभोक्ताकर्मी ज्योति बानियाँ भन्छन् ‘‘किसानको हकहितका लागि दानालगायतमा सहुलियत दिनुपर्थ्यो । तर, बजारलाई प्रत्यक्ष प्रभाव पार्न मूल्य बढाइयो। बढेको मूल्य फिर्ता हुनुपर्छ।’’

दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छिन्। यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए। अब प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन्।

मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी) लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुने डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए। मूल्य बढेको प्रत्यक्ष असर भने दूधको खुद्रा मूल्य र दूधबाट उत्पादित वस्तुको मूल्यमा पर्नेछ।

डीडीसीले हाल फ्याट निकालिएको नीलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब करिब ९६ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्ने डीडीसीले जनाएको छ ।

दूधको मूल्य बढेको एक वर्ष पुगेलगत्तै सरकारले पुनः मूल्यवृद्धि गरेको हो । यसअघि लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । दूधको मूल्य बढेपछि दुग्धजन्य वस्तु दही, पनिर, घिउलगायतको पनि मूल्य बढ्ने निश्चित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved