अन्तर्वार्ता

राष्ट्रपतिमा मेरो जित निश्चित छ, गठबन्धनको काम छैन : नेम्वाङ

यस्तो अवस्थामा चुनाव जित्न सहज छ ? फागुन २५ सम्म राष्ट्रिय राजनीतिको समीकरण फेरिने दाबी के हुन् ? राष्ट्रपतिको निर्वाचनमा गठबन्धनले कस्तो प्रभाव पार्छ ? यी र यस्तै प्रश्नहरूको जवाफ हामीले नेम्वाङसँग खोजेका छौँ ।

काठमाडौं । संविधान सभा अध्यक्षसमेत रहिसकेका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् ।

अहिले उनी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताको घरदैलो चहार्नमा व्यस्त छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यसअघि नै भेटिसकेका उनले बिहीबारमात्रै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेर मत मागेका छन् ।

भेटमा नेताहरूले खासै आशलाग्दो जवाफ नदिएपनि नेम्वाङ आफूले राष्ट्रपतिमा बाजी मार्ने बताउँछन् । निर्वाचक मण्डलमाथि पूर्ण विश्वास रहेको बताउने नेम्वाङसँग आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भिड्दैछन् ।

अहिले सरसर्ती हेर्दा रामचन्द्रसँग ८ दल हुँदा सुवासचन्द्रसँग भने एमालेमात्रै छ । यस्तो अवस्थामा चुनाव जित्न सहज छ ? फागुन २५ सम्म राष्ट्रिय राजनीतिको समीकरण फेरिने दाबी के हुन् ? राष्ट्रपतिको निर्वाचनमा गठबन्धनले कस्तो प्रभाव पार्छ ? यी र यस्तै प्रश्नहरूको जवाफ हामीले उनै नेम्वाङसँग खोजेका छौँ ।

पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन फागुन १३ गते फुट्यो, यो फुट्नुमा बाह्य कारण पनि देख्नुहुन्छ तपाईं ?

कतिपय कारणहरू जिम्मेवार हुनसक्छन्, त्यसमा विवाद भएन । अझ हाम्रो जस्तो देशमा त्यस्तो त्यस्ता कुराहरू अलिक बढी आउने गर्छन् । तर, अहिले तपाईंको प्रश्नमा मात्रै होइन, मैले सधैँ भन्ने गरेको छु कि- अरुलाई चोर समात्नूभन्दा आफ्नो थैली दह्रो बान्नू राम्रो, बुद्धिमानी ।

त्यसैले हामीले आफ्नो थैली दह्रो बनाउन सकेनौँ । हामीमा कमजोरी देखियो । त्यसबारेमा हामीले छलफल गर्नुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ । हाम्रा यी सबै काम कारबाहीबाट जनताचाहिँ निराश बन्न पुगेका छन्, यसलाईचाहिँ ध्यान राख्नुपर्छ ।

पुस १० गते बनेको गठबन्धनमा उत्तरी प्रभाव र फागुन १३ गते बनेको गठबन्धनमा दक्षिणी प्रभाव पर्‍यो भनेर विश्लेषण गरिन्छन् नि ?

मैले भनिहालेँ तपाईंलाई, कतिपय सवालहरूमा विभिन्न कारण जिम्मेवार हुनसक्छन् । तर, जहाँ पनि त्यही हुन्छ, नेपालमा हुने सबै कामहरू बाह्य प्रभावमा मात्रै हुन्छन् भन्ने कुराचाहिँ होइन ।

फागुन २५ गते गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको निर्वाचन हुँदैछ, त्यसमा तपाईं पनि एक उम्मेदवारका रूपमा हुनुहुन्छ, प्रतिस्पर्धीको रूपमा रामचन्द्र पौडेल हुनुहुन्छ, यो प्रतिपर्धालाई तपाईंले कसरी हेर्नुभएको छ ?

लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, त्यसलाई हामी हार्दिकतापूर्वक स्वीकार गर्छौँ र गर्नुपर्छ । हिजो एक प्रकारको निषेधको राजनीति चल्दा पनि यो निषेधको राजनीति ठिक होइन भनेर भन्यौँ । म अहिले धेरै त्यसलाई दोहोर्‍याउन चाहन्नँ, त्यसैले स्वस्थ प्रतिस्पर्धा हुनुलाई अन्यथा लिनु हुँदैन ।

तर, तपाईंले प्रश्न गर्दा आठदलीय गठबन्धनको कुरा गर्नुभयो नि, यो राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा त्यो गठबन्धनको अर्थ छैन । हामी यही सोच्छौँ र यही ठान्छौँ पनि । यो निर्वाचनमा संविधानबमोजिम एउटा निर्वाचक मण्डल बन्छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातै प्रदेशका सभाहरू, त्यसको जुन निर्वाचन मण्डल छ, त्यो निर्वाचक मण्डलले आफ्नो विवेक प्रयोग गर्दछ र ‘फ्री एन्ड फेयर’ निर्वाचनको मान्यताको आधारमा एउटा निष्कर्षमा पुग्छ ।

त्यसैले अहिले भएका यी तमाम घटनाक्रमहरूबाट टाढा रहेर विवेकपूर्ण मतदान गरेर यो निर्वाचक मण्डलले मलाई विजयी तुल्याउँछ भन्नेमा म विश्वस्त छु ।

तर, त्यस्तो अवस्था देखिएन । पछि ह्वीप लाग्ने होला । तपाईंले जसरी एउटा निर्वाचक मण्डल हुन्छ र त्यसले आफ्नो विवेक प्रयोग गर्छ, त्यसबेला म जित्छु भनेर भन्नुभयो, यसमा कसरी विश्वास गर्ने ? फेरि हामीले यसअघिका कैयन् घटनाक्रम पनि नियालेकै छौँ ?

मलाई हाम्रा मतदातामाथि, संघीय र प्रदेशसभाका माननीयमाथि, उहाँहरूको विवेकमाथि पूरा विश्वास छ । ‘फ्री एन्ड फेयर’ निर्वाचन भनेर जुन भनिरहेको छु । तपाईंले सोधेपछि मैले अझ प्रष्ट गर्नुपर्छ, यो संसद्‌भित्रको कुनै प्रस्तावको कुरा होइन, संसद्‌मा सबै कुरा पारदर्शी हुन्छ । त्यहाँ ह्वीपका कुराहरू हुन्छन्, सबै कुरा प्रष्ट देखिनेगरी मतदान हुन्छ, त्यहाँ त अर्कैतिर पो सही गर्नुभयो कि, त्यसो भएको भए सच्याउनूस् भनेर सच्याउने समयसमेत दिइन्छ ।

तर, यो निर्वाचन भने आमनिर्वाचनजस्तै निष्पक्ष र स्वस्थ ढङ्गले सम्पन्न होस् भनेर ‘फ्री एन्ड फेयर’ निर्वाचनको अवधारणाअनुरूप हुन्छ । कुनै प्रकारका कामहरू भए भने त्यो ठिक हुँदैन भनेरै निर्वाचन आयोगले अहिले सूचना पनि प्रकाशित गरिसकेको छ ।

त्यसैले मलाई हाम्रा मतदातामाथि पूरै विश्वास छ, हाम्रा सांसदमाथि विश्वास छ, उहाँहरूले विवेक प्रयोग गर्नुहुन्छ, मेरो जित निश्चित छ ।

त्यसो त राष्ट्रपतिको निर्वाचनअगाडि तपाईंहरूको नेतृत्वमा रहेको गठबन्धन किन भत्कियो ? किन बन्यो नयाँ गठबन्धन ? तपाईंको प्रष्ट्याइँले त यसको कुनै औचित्य देखिएन नि ?

त्यो गठबन्धन एउटा राजनीतिको पक्ष हो, त्यो गठबन्धन बनाउने कुरामा म अन्यथा टिप्पणी गर्दिनँ । गठबन्धन बनाउने साथीहरूलाई लिएर म कुनै टिप्पणी गर्दिनँ । गठबन्धन यो राष्ट्रपतिको निर्वाचनसँग जोड्ने प्रयास होला, तर त्यसले कुनै असर पर्छ भन्ने मलाई लाग्दैन ।

त्यसैले तपाईंलाई सम्झना होला, प्रधानमन्त्रीजीसँग भएको समझदारीअनुसार हामीले मनोनयन दाखिला गर्‍यौँ । २५ गतेको परिणाम हेर्नूस् है भनेर हामीले पत्रकार साथीहरूमार्फत आफ्नो कुरा राखेका पनि छौँ । त्यसैले मेरो विश्वास के छ त भन्दा विवेकको मत निर्वाचक मण्डलले प्रयोग गर्दछ, र म विजयी हुनेछु ।

भनेको माओवादी केन्द्रले पुस १० को सहमतिअनुरूप नै समर्थन गर्छ भन्ने तपाईंको भनाइ रह्यो ?

विश्वास गर्न त पाइयो नि !

तर विश्वास एउटा पाटो भयो, निर्वाचनताका देखिने राजनीतिचाहिँ निकै फरक रहन्छ होइन त ?

अर्को कुराचाहिँ चुनावमा लडेपछि हार-जित हुन्छ भन्ने कुरालाई यत्तिधेरै मेहनतै गर्न पर्दैन, मलाई सोझै सोध्नुहुन्छ भने भनिहाल्ने मान्छे हुँ । चुनाव हो, हार-जित हुन्छ । तर, यो निर्वाचनमा म ‘अलरेडी टेस्टेड’ हुँ, निष्पक्ष संविधान सभा अध्यक्षको रूपमा, निष्पक्ष सभामुखको रूपमा, सबैको साझा मित्रको रूपमा मैले भूमिका निर्वाह गरिसकेको छु ।

संविधान सभामा त एकपटक होइन, दुई/दुईपटक; सबै राजनीतिक दलहरूको सर्वसम्मत उम्मेदवारको रूपमा मैले संविधान सभा अध्यक्ष भएर संविधान निर्माण गरेको छु । त्यो मेरो अहोभाग्य पनि हो । त्यसैले मैले शब्द प्रयोग गरेँ, अलरेडी टेस्टेड हुँ, सबैको साझा हुँ । त्यसैले मलाई हाम्रा मतदाताले विजयी गराउनुहुनेछ ।

मैले कतै सुनेको; कांग्रेको ढोक्सामा राष्ट्रपति पर्ने भएपछि एमालेचाहिँ दुवाली छेक्ने प्रयासमा छ, के यो सत्य हो ?

संविधान, कानून र स्थापित लोकतन्त्रका मूल्यमान्यताभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौँ, म कुनै पनि हालतमा जान्नँ । म कानूनको शासनमा विश्वास गर्ने मान्छे हुँ, त्यसैले म त्यही मूल्य र मान्यताअनुसार चल्छु ।

जहाँसम्म दलहरू एकअर्कासँग मिल्छन् कि भन्ने कुरा उठाउनुभयो, दलहरू एकअर्कासँग छलफल गर्ने, सम्पर्क गर्ने, संवाद गर्ने र एउटा निष्कर्षमा पुग्ने त्यो त अचम्मको कुरै भएन नि । लोकतन्त्रको मूल्य र मान्यताअनुरूप दलहरू छलफलमा हुन्छन् । छलफल नै भएन भने पनि अचम्मको कुरा भयो त । यो त खुसीको कुरा हो नि ।

विदेशी मित्रहरू हामी दलहरूबीचको छलफल देखेर छक्क पर्छन्, प्रशंसा गर्छन् । हामी त्यो ठाउँमा छौँ, यसको त प्रशंसा गर्नुपर्छ । मलाई के विश्वास छ त भन्दा यो अहिले देखा परेका कतिपय स्थिति छन् नि जनता निराश छन्, जनताले प्रश्न उठाइरहेका छन्, खाली म यत्ति भनिरहेको छु— यो सबै कुराले राष्ट्रपतिको निर्वाचनमा अर्को असर पार्दैन, हामी जित्छौँ, म जित्छु । तर, जहाँसम्म राष्ट्रिय राजनीतिका प्रसङ्ग छन्, त्यसबारेमा दलहरू एकठाउँ उभिनुपर्छ । छलफल गर्नुपर्छ । संविधान, कानून र अभ्यासबमोजिम एउटा निष्कर्षमा पुग्नुपर्छ ।

मंसिर ४ गतेको परिणाम आउनसाथ मैले भनेको थिएँ— जनताले निषेधको राजनीतिलाई अस्वीकार गरेका छन्, कांग्रेसलाई प्रत्यक्षमा ठूलो दल, एमालेलाई समानुपातिकमा पहिलो पार्टी बनायो, माओवादी केन्द्रलाई पनि राम्रै सिट दियो, यो सब देखाएर मैले भनेको थिएँ कि— दलहरूलाई जनताले प्रष्ट सन्देश दिए, निषेधको राजनीति होइन, मिलेर राजनीति गरे । म त यो कुरामा साह्रै खुसी छु ।

भनेको राष्ट्रपतिको निर्वाचनसम्म यो राष्ट्रिय राजनीतिको समीकरण परिवर्तन हुँदैन ?

संसद्, लोकतन्त्र र यसका राम्रा मूल्य मान्यताबमोजिम र संविधान र कानूनबमोजित हामी अगाडि बढ्छौँ, एउटा राम्रो निष्कर्षमा पुगिन्छ/पुग्छौँ ।

अन्यमा, तपाईं संविधान सभा अध्यक्षसमेत रहेकाले सोध्दैछु; संविधानमा हामीले ‘समाजवादउन्मुख’ भनेर लेख्यौँ । तर त्योचाहिँ अहिले आएर दलहरूबीचको एउटा सम्झौतामात्रै बन्यो, जनजीवनमा त्यो ‘कुन चरीको नामझैँ’ भयो भनेर पनि बहसहरू छेडिन थालिएको छ, यसमा तपाईंको भनाइ के छ ?

वास्तवमा संविधान बनायौँ, संविधानलाई कार्यान्वयन गर्‍यौँ, ठूलो राजनीतिक परिवर्तन गर्‍यौँ । त्यसलाई हामीले सफलता भन्दै आएका छौँ । यसका लागि सबै राजनीतिक दल, दलका साथीहरू र नेताहरूलाई धन्यवाद भन्नुपर्छ । तर, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन भने जनताले महसुस गर्न पाएनन् । अब त्यसतर्फ हामी सबै साथीहरू, दलहरू लाग्नुपर्छ ।

कमजोरी देखिएका छन्, जनताले प्रश्न ठड्याउने गरेका छन् । अहिले नै पनि जनता दुखी छन्, निराश छन् भनेर मैले भन्दै आएको छु । अब यसको के कारण हो त ? म कसैमाथि आरोप लगाउँदिनँ । मैले असोज ३ गते संविधान सभाबाट संविधान जारी गर्दा भनेको थिएँ— हामीले राम्रो संविधान बनायौँ, यसलाई कार्यान्वयन गर्दै अगाडि जानुपर्छ ।

तर, जत्तिसुकै राम्रो संविधान बनाएपनि त्यसले बुद्धि, विवेक र क्षमता भने बाँड्दैन । त्यो बुद्धि, विवेक र क्षमता हामीले देखाउनुपर्छ । यो संविधानलाई कार्यान्वयन गर्ने भनेको हामी दलहरूले हो । त्यसकारण हामीले कहिलेकाहीँ कमीकमजोरी देखाएका छौँ कि, त्यो प्रश्नलाई गम्भीरतापूर्वक हेरेर कमीकमजोरी सच्याउँदै दलहरू अगाडि बढ्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved