उपसभामुखको असन्तुष्टि- बैठक छोडेर सांसदहरु बाहिरिए, मेरो ‘प्रेसर’ बढ्यो

नेपालभ्युज

उपसभामुखको असन्तुष्टि- बैठक छोडेर सांसदहरु बाहिरिए, मेरो ‘प्रेसर’ बढ्यो
फाइल फोटो

काठमाडौं ।  उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी  छन् । मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले बैठकमा खालि सिट मात्र देखिन थालेको बताईन् । उनले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफुलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताईन् । उनले आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताईन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गरिन् ।

उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताईन् ।  ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ ‘ उनले भनिन्, मलाई त प्रेसर पनि बढिसक्यो, म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु ।’

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताईन् । आफु उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसि जनताका कुराहरु सुन्न जिल्ला जिल्लामा पुग्ने उनले बताईन् ।

उनले भनिन्,  ‘माननीयहरुले मलाई आमा भन्नुहुन्छ, आमा नै त्यहाँ उपसभामुख हुनुभयो भने कर्णाली,सुदूरपश्चिम र हिमालको कुरा उठाउनुहुन्छ । उहाँले एउटै व्यवहार गर्नुहुन्छ भन्ने उहाँहरुको एउटै स्वर थियो । त्यसैले आज मैले उपसभामुख हुने मौका पाएको छु ।’  उनले आफू  राजधानीमा मात्रै बस्ने नभई जुम्ला, कर्णाली, अन्यपनि  योजना बनाएको र उपसभामुख भएको एक महिना नभई  पाँचवटा जिल्ला भिजिट गरिसकेको बताईन् ।

उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताईन् । राज्यका निकायमा ५० प्रतिशत महिला पुर्‍याउन प्रयास गर्नुपर्ने उनको भनाई छ । महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उनले बताईन् ।

‘हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन । हामीले आफ्नो ठाउँमा आफ्नो भुमिका खोजिहाल्नु पर्छ । आफ्नो काम पनि गर्दै जाने, काम गर्ने मान्छेलाई कसैको अधिकार, कसैको पर्मिशन चाहिँदैन भन्छु म । काम गरेपछि झुक्नैपर्छ जो पनि मान्छे । म त्यो भन्छु ।’

उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved