काठमाडौं । म्याक्स बस्नेत नेपाली बक्सिङमा चिरपरिचित नाम हो । १४ पटक राष्ट्रिय च्याम्पियन भइसकेका बस्नेत २ पटक महाराष्ट्र च्याम्प वर्ल्ड बक्सिङ अर्गनाइजेसका लागि दक्षिण एसियाका प्रतिनिधि समेत बनेका थिए ।
उनै बस्नेतले सुरु गरेको अभियान या यात्रा हो ‘बक्स फर मिल’ । ‘बालबालिकाको लागि खाना’ भन्ने नाराका साथ म्याक्सले यो अभियान सुरु गरेका हुन् । बालबालिकालाई जीवनमा एउटा दिशा दिन र समाजमा केही योगदान गर्नका लागि आफूले यो यात्रा सुरु गरेको म्याक्स बताउँछन् ।
‘साना बालबालिकाको अवस्थाको फाइदा उठाउँदै कसैले गैरकानुनी कार्यमा संलग्न हुन बाध्य नपारोस्। एउटा टोलको बच्चाले बाटो बिराए, पूरै टोललाई असर पर्न सक्छ । यो अभियान सुरु गर्नुको मुख्य उदेश्य बालबालिकालाई आर्थिक अभावका कारण नराम्रो बाटोमा जान नपरोस भन्ने हो ।’ म्याक्स बताउँछन् ।
यो अभियान अन्तरगत उनले थुप्रै बालबालिकालाई बक्सिङको प्रशिक्षण पनि दिइरहेका छन् ।
कसरी भयो ‘बक्स फर मिल’को सुरुवात ?
आफ्नो अन्तिम फाइटको लागि अमेरिका जाँदा मिल्ने साथीहरूले खाजा खर्च भनेर ५०–१०० डलर दिएका थिए। लिन अफ्ठ्यारो लाग्यो। धेरै कर गरेपछि लिएँ। तर, त्यो पैसा आवस्यक हुनेका लागि खर्च गर्न मन लागेको थियो।
पहिलेदेखि बालबालिका बाटोमा झगडा गर्दा रोकेर यति पुसअप गर्यो भने यति पैसा दिन्छु भन्ने गर्थें। यसले बालबालिकालाई हिंसा त्यागेर व्यायाममा जोड दिनुपर्छ भन्ने भावना विकास हुन्छ कि जस्तो लाग्थ्यो।
अमेरिकामा आफ्नो अन्तिम फाइट खेल्न महालक्ष्मी मन्दिरमा तालिम गरिरहेको थिएँ। त्यही बेला बच्चाहरूले मलाई देखेछन् । गोलो घेरा बनाएर मैले तालिम गरेको उनीहरूले हेरिरहे।
हामीले बसेर समोसा पनि खायौँ। रमाइलो कुराकानी भयो। मैलै उनीहरूलाई बक्सिङ सिक्ने भनेर प्रस्ताव गरेँ। उनीहरू भोलिपल्टै सिक्नलाई सबैजना समयमै आए । विस्तारै विस्तारै त्यो सङ्ख्या बढेर अहिले २० पुगेको छ।
सायद बच्चाहरूले केही आशा राखे होलान्। फलस्वरूप, उनीहरूले आफ्नो लगनशीलता देखाउन अहिले तालिममा निरन्तर आइरहेका छन्। बक्सिङमा राम्रो गरिरहेका छन्। यसले मलाई थप ऊर्जा प्रदान गरिरहेको छ।
५०० डलरबाट सुरु गरेको रकममा थप खर्च भइरहेको छ। यही सङ्ख्यालाई ५० मा पुर्याउन सकिन्छ कि भन्ने विश्वासको साथ अघि बढिरहेको छु।
सुपर हिरो बक्सिङ स्कुल
हरेक दिन बेलुकी ४ बजेपछि आएर खेल्ने बच्चाहरूले गर्दा नै सुपर हिरो बक्सिङ स्कुलको जन्म भयो। सुपरम्यान, स्पाइडरम्यान जस्ता सुपर हिरोजस्तै अरुलाई सहयोग गर्ने, दुःख नदिने, उदाहरणीय बन्ने भावना पनि विकास गर्ने प्रयासमा छु।
१० देखि १४ वर्षसम्मको बालबालिकाको उपस्थितिले आफूले बक्सिङ सुरु गर्दाको दिन फेरि बाँचिरहेको अनुभव भइरहेको छ। एउटा लक्ष्य लिएर अगाडि बढिरहेको महशुस हुन्छ।
यी बच्चासँग समयले जुराएको सम्बन्धजस्तो लाग्छ। विगत २ महिनाको तालिममा बच्चासँग आत्मीयता बढ्को छ। बच्चाहरू देखेर पनि माया लाग्ने भइसक्यो। विभिन्न चुनौती छन्। आत्मसन्तुष्टिको लागि सुरु गरेको तालिम अब छाड्न नसक्ने भएको छु ।
बालबालिकाको अवस्था
इमाडोलस्थित सरकारी विद्यालय ‘श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय’ का बालबालिका अहिले नियमित प्रशिक्षणमा आइरहेका छन्। तालिम गर्न आउने बालबालिका आर्थिक रूपले विपन्न परिवारका नै छन्। कति बालुवा बोकेर पनि सिक्न आउने गर्छन्। एकजना रोशन भन्ने भाइ छन्। उसको आमाबुबा खुकुरी बनाउने पेशामा संलग्न छन्। हिमाल भन्ने भाइ बिहान उठेर ज्यामी काम गर्न जान्छ।
बक्सिङलाई ‘गरिब मानिसको खेल’ पनि भनिन्छ। मसँग सिक्ने बच्चाहरू पनि खानाको लागि संघर्ष गर्नुपर्छ भन्ने भावना बुझेकाहरू नै छन्। बालबालिकासँग मानसिकरूपमा खेल्न सक्ने क्षमता पनि रहेछ। मात्र अवसर र मार्गदर्शकको कमी भएको अनुभूति भयो। मानसिक रूपले बक्सिङको लागि सबल रहेको अनुभव पाएँ।
बालबालिकालाई आर्थिकरूपले सहयोग गर्ने अवस्था त मेरो पनि छैन। आफूसँग भएको बक्सिङको सीप र अनुभव नै साट्ने प्रयास गर्दैछु। तर, आगामी दिनमा डब्लुबीसीको दक्षिण एसियाको संयोजकको रूपमा बनाएको केही अन्तर्राष्ट्रिय सम्बन्धले बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरमा केही अवसर सिर्जना गर्न सकिन्छ कि भन्नेमा आशावादी छु। बक्सिङलाई आधार बनाएर पनि बालबालिकालाई जीवनयापन गराउन सक्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने पनि सोचिरहेको छु।
बक्स फर मिलका चुनौती
यो यात्रामा थुप्रै चुनौती छन्। भविष्यमा पनि नहोला भन्न सकिन्न। वास्तवमा भन्नुपर्दा धेरै ऋण भइसक्यो। बिचमा छोड्दिऊँ जस्तो पनि महशुस भयो। तर, मलाई विश्वास गर्ने साथीहरूले भने हौसला प्रदान गरिरहेका छन्। साथीहरूले आवाज उठाइरहन प्रेरित गर्छन्। त्यसैले पनि निरन्तरता दिइरहेको छु।
स्कुल र कलेजका मेरा साथीहरूले नै बक्सिङको लागि आर्थिक सहयोग गरिरहेका हुन्छन्। यो क्याम्पेनको लागि बाहिरीरूपमा सहयोग गर्नुस् मलाई भनेरचाँहि गएको छैन।
आफ्नो र साथीभाइहरूको आर्थिक सहयोगले अघि बढिरहेको छु। जीवनमा बक्सिङबाहेक अरु केही पनि नभएकोले यसैमा रमाउन व्यक्तिगत प्रयासको रूपमा नै अघि बढिरहेको छु। निकै ठूलो प्रयास नसोची यसलाई सुरुवातको रूपमा लिएको छु।
नेपाल बक्सिङ संघसँगको चिसिएको सम्बन्ध
नेपाल बक्सिङ संघसँग मेरो सम्बन्ध खासै राम्रो छैन। सायद मेरो बोली ठाडो भएको कारणले पनि होला। मैले नेपालमा बक्सिङ ‘सफा’ हुनुपर्छ भन्ने कुरामा झगडा गरिरहेको हुन्छु।
कहिले कुन राजनीतिक नेता, कहिले कुन नेताको नाममा प्रतियोगिता सञ्चालन भइरहेका छन्। तथापि, नेपाली बक्सिङमा योगदान पुर्याएका खेलाडीको स्मृतिमा किन प्रतियोगिता आयोजना भइरहेको छैन भन्ने मेरो प्रश्न हो।
के खेलाडीले देशको लागि गरेको त्याग र बलिदानको औचित्य खेलेपछि शून्य हुन्छ र ? नेपाली बक्सिङको यहाँ सम्म पुर्याउन अग्रज बक्सरले गरेको योगदानलाई युवा खेलाडीलाई स्मरण गराउनु संघको जिम्मेवारी हो जस्तो लाग्छ। मेरो आवाज यही कुरामा उठ्ने गर्दछन्।
संघका कुनै व्यक्तिसँग मेरो रिसिइवी होइन। केवल बक्सिङ संघले खेलाडीलाई दिनुपर्ने सुनिश्चित भविष्यको वातावरणको लागि आवाज उठाउन मात्र खोजेको हुँ। यसकारण पनि आगामी दिनमा संघमा नयाँ कार्यकाल आएपछि सम्बन्ध राम्रो बनाउने पहल गर्नेछु। संघसँग सुमधुर सम्बन्ध बनाउन प्रयास पक्कै गर्नेछु।
मेरो संघको व्यथितिप्रति उठ्ने आवाजका कारण पनि मसँग सिकिरहेका बालबालिकाको भविष्य सुनिश्चित गर्न सकिन्छ कि सकिँदैन भन्ने डरचाँहि लाग्छ। तथापि, अमेच्यर बक्सिङ प्रतियोगिता सञ्चालन गर्न लाइसेन्स पाएको छु। त्यसलाई पनि प्रयोग गरेर प्रतियोगिता आयोजना गरी अवसर सिर्जना गर्ने सोचमा छु।
आशावादी सपना
अबको १०–१५ वर्षमा वर्ल्ड क्लास फाइटर जन्माउन मन छ। यी बालबालिकाले बक्सिङलाई आत्मसात् गरिरहे उनीहरूलाई एसिया, लसभेगास, युरोप, अमेरिकामा खेलाउने सपना छ।
बक्सिङबाट पैसा कमाउन सकिन्छ भन्ने बुझेको छु । वैदेशिक फाइटमा १ हप्ता जाँदा, कम्तिमा ५०० देखि ३ हजार डलर कमाउन सकिने रहेछ। जुन नेपालीको लागि खर्च चलाउन सकिने रकम हुन जान्छ।
मेहनत गर्न सकेमा अवसर छ भनेर बुझेको छु। ‘बक्स फर मिल’ सुरु भएसँगै दुबई, कतारलगायात अन्य राष्ट्रबाट पनि विद्यालयस्तरीय स्पर्धाको लागि प्रस्ताव आइरहेका छन्। तर, बच्चाको पासपोर्ट नहुँदा, अथाह आर्थिक चुनौतीको कारण सम्भव हुन सकिरहेको छैन।
यसकारण पनि अहिले नेपालमा नै खेलाडीलाई अनुभव बटुल्न लगाएर १५–१६ वर्ष उमेरको ले खेल्ने इलाइट बक्सिङको लागि विदेश लाने सोच भने पक्कै हो।
ऋण छ, तर आत्मसन्तुष्टि छ
बक्स फर मिल चलिरहँदा पनि कहिले पैसा हुन्छ कहिले हुँदैन। कहिलेकाहीँ घरबेटी आन्टीसँग नै पैसा मागेर पनि खुवाउने गर्छु। कहिले चिनेको मःमः पसलमा लगेर बालबालिकालाई मःमः खुवाइदिन अनुरोध गर्छु। मलाई विश्वास गरिरहेका नजिकका मानिसहरूको साथले नै निरन्तरता दिइरहेको छु।
आज बालबालिकालाई मःमः खान पाउनु ठूलो कुरा होला। भोलि कपडा पाइन्छ भनेर पनि खेल्न आउँछन् होला। अलिक ठूला भएपछि बक्सिङबाट कमाउने सकिने बुझेर पनि निरन्तरता दिन्छन् भन्ने विश्वास छ। यसरी बालबालिकालाई बक्सिङलाई निरन्तरता दिन प्रेरणा दिने र आफैँ पनि लिने गर्छु।
सपना र वास्तविकताको लडाइँ
सपना आफ्नो ठाउँमा छ, वास्तविकता आफ्नो ठाउँमा छ। भविष्य अनिश्चित छ। मैले सञ्चालन गरिरहेको फिटनेस जिमको अवस्था पनि नाजुक छ। वास्तवमा भन्नुपर्दा विगत ४–५ महिनादेखि भाडा तिर्न सकिरहेको छैन। घरधनीले माया गरे पनि अरुको समस्या पनि बुझ्नु आवश्यक हुन्छ।
सिक्न आउने खेलाडीको सङ्ख्या पनि निकै घटेको छ। कोभिड–१९ पछि त झन् शुल्क तिरेर प्रशिक्षणको लागि आउने सङ्ख्या ह्वात्तै घटेको छ। आर्थिक रूपले निकै चुनौतीपूर्ण अवस्था छ।
तर, फिटनेस जिम नरहे पनि बच्चालाई तालिम भने दिइरहनेछु। कुनै सार्वजनिक स्थानमा नियमित प्रशिक्षण गराउने छु। मलाई विश्वास छ। यी बच्चाले बक्सिङलाई निरन्तरता दिए पक्कै पनि नेपालले भविष्यमा दक्ष बक्सर पाउनेछन्। साथै, बक्सिङलाई उपत्यकाबाहिर लैजाने सोच पनि बनाएको छु।
कसले कति कमायो भन्दा पनि मरेपछि कसले कस्तो कीर्ति राख्यो भन्ने कुराको महत्त्व बढी हुने रहेछ। बक्सिङमा केही गरेर मरौँ भन्ने सोचाइ साथ अघि बढिरहेको छु।
Facebook Comment
Comment