मध्य एसियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

नेपालभ्युज

मध्य एसियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

वासिङ्टन। रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एसियाली देशको भ्रमणमा निस्कँदै छन्।

युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मङ्गलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्ने भएका छन् । कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वशोभियत राज्यका विदेशमन्त्रीसँग उनले संयुक्तरूपमा भेटवार्ता गर्नेछन् ।

दक्षिण र मध्य एसियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वशोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्त्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताएका छन् । विदेशमन्त्री ब्लिङ्केनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिङ्टन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वास्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताएका छन् ।

पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उनले उल्लेख गरे । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उनको कथन छ ।

कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एसियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट विमुख हुन चाहँदैनन्। रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुका हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् ।

गत बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् । मध्यएसिया अमेरिकाका निम्ति सीमाहीन भएको मध्यएसिया विज्ञ पिट्सवर्ग विश्वविद्यालयका जेनिफर ब्रिक मर्तजासभिली बताउँछन् ।

‘मध्य एसियाली राष्ट्रका नेताहरू रुसको प्रभावबाट मुक्त हुन चाहन्छन् । यो कुरा उनीहरूले राम्ररी बुझेका छन् । रुस उनीहरूका लागि खतरा हो, तर भूगोलका आधारमा उनीहरू चाहेर पनि मस्कोको साथ छाड्न सक्दैनन् । उनीहरूको आर्थिक स्थितिले पनि त्यसो गर्ने अनुमति दिँदैन ।

उनीहरू विकल्प चाहन्छन्,’ उनले भने । संयुक्त राज्य अमेरिकाका लागि यी रचनात्मक पक्ष भएका बताउँदै उहाँले ती देशका नेताहरूसँग अमेरिकाले संलग्नता बढाउनु स्वाभाविक भएको तर्क गरे । कजाकिस्तानसँग रुसको सबैभन्दा लामो सिमाना छ भने सबैभन्दा जटिल सम्बन्ध पनि । कजाकिस्तान जातीय रुसी अल्पसङ्ख्यकको अधिकारको बारेमा सजग छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणको औचित्यबारे कजाक नेताहरूलाई बताएका छन् । उनले कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभलाई गत वर्ष भेटेर रुससँगको साझेदारी पुनः पुष्टि गरेका थिए । केही समयअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको कुराकानीमा कजाकिस्तानका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कानुनमा आधारित द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका थिए ।

युक्रेन आक्रमणको एक महिनाअघि राष्ट्रपति तोकायेभले रुसी नेतृत्वको सेनालाई दङ्गा नियन्त्रणमा मद्दत गर्न आह्वान गरे, तर जनताको व्यापक विरोधपछि उनले उक्त आह्वान स्थगन गरेका थिए ।

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गत अक्टोबरमा रुसले मध्यएसियाली देशहरूको हितलाई बेवास्ता गरेको आरोप लगाउँदै पुटिनलाई क्षेत्रीय बैठकमा सार्वजनिकरूपमा गाली गरेको भिडियो भाइरल भएपछि रुस– ताजिकिस्तान सम्बन्धमा तरङ्ग उत्पन्न भएको थियो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved