काठमाडौं। नेपाली चलचित्रका नायक (पूर्णविक्रम शाह) पल शाहको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। उनले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा अभिनेता शाहविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको थियो ।
नवलपुरले गरेको फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन्। यसैगरी सरकारी वकिलले पनि पललाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालत पोखरामा रिट निवेदन हालेका छन्।
ती दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो। पलका अधिवक्ताले आजको पेसी सार्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।
अहिले उनी तनहुँ कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने यो मुद्दामा पललाई सफाइ दिइसकेको छ। पल शाहविरुद्ध २०७८ फागुन ११ गते जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भएको थियो। त्यसको केही समयपछि नवलपुरमा पनि जाहेरी परेको थियो।
तनहुँमा जाहेरी परेको चौथो दिनमा पल आफैंले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए। उनी विरुद्धको जाहेरीमा नवलपुर अदालतले भदौ २१ गते फैसला गरेको थियो।
Facebook Comment
Comment