काठमाडौं। २०७९ पुस २६ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिनुलाई ‘जाल’ थापेको अर्थ लगाएका थिए।
ओलीले कांग्रेसको समर्थनमा कुनै जाल भए त्यो सफल नहुनेसमेत दाबी गरेका थिए । ‘यो समर्थन कुनै ‘जाल’ वा ‘ढोक्सा’ होइन भने स्वागत योग्य छ’, ओलीले चुनौती दिँदै भनेका थिए–‘ढोक्सा वा जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुनेछ।’
ओली त्यतिमा मात्रै रोकिएनन् उनले दाबीका साथ भनेका थिए–‘पानीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन। र ‘ढोक्सा’ रित्तै हुनेछ।’
तर, ओलीले भनेजस्तै नेपाली कांग्रेसले आफू प्रमुख प्रतिपक्षमा बसेरै सत्ताको पानीमा राष्ट्रपतिको ‘ढोक्सा’ थाप्न सुरु गर्यो । यद्यपि, ‘ढोक्सा’मा माछा पर्न बाँकी छ । अर्थात् ढोक्सामा राष्ट्रपति पार्न सक्ने नसक्ने टुङ्गो अझै केही घण्टापछि मात्रै लाग्नेछ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको केही समयपछि नै नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा ‘ढोक्सा थाप्छौं’ भन्दै खुल्ला चुनौती दिन थाल्यो । सुरुमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार उठाउने र माओवादी समेतले मत दिने कुरा सार्वजनिक गरे।
त्यसलाई थप पुष्टि गर्दै कांग्रेसका सांसद प्रदीप पौडेलले प्रतिनिधिसभाको बैठकबाटै एमाले अध्यक्ष ओलीलाई चुनौती दिँदै भने–‘संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्रीज्युले चर्चित बनाउनुभयो । रबर स्ट्याम्प राष्ट्रपति हुनुहुँदैन भन्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा र थाप्न तयार छौं।’
त्यसपछि सुरु भयो राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्ने रस्साकस्की । पुस १० मा सरकार गठन हुँदा राष्ट्रपति आफूले लिने सहमति भएको भन्ने एमाले अन्ततः राष्ट्रपति निर्वाचनसम्म पुग्दा राष्ट्रपतिविहीन हुने अवस्थामा देखिएको छ । एक्लै राष्ट्रपतिको ‘ढोक्सा’ थाप्दा एमालेको ढोक्सामा राष्ट्रपति पर्ने देखिँदैन ।
त्यसमाथि, राष्ट्रपतिका लागि पछिल्लोपटक नेपाली कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले समेत ‘ढोक्सा’ थापेको छ । यसमा अझै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र स्वतन्त्र व्यक्तिहरूको पनि ‘ढोक्सा’ थपिन सक्छ । यद्यपि, माओवादी केन्द्रले राष्ट्रपतिमा राजनीतिक दलकै भए पनि राष्ट्रिय सहमति जुट्ने साझा व्यक्ति वा गैरराजनीतिक व्यक्ति भन्ने मात्रै कुरा उठाएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई अगाडि सारेको छ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाल र लोसपाले पनि अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको लागि ‘ढोक्सा’ थापेको छ ।
यीबाहेक बजार हल्ला र स्वदेशी तथा विदेशी बुद्धिजीविले थुप्रै पात्रको नाम राष्ट्रपतिका लागि लिएका छन् । ईश्वर पोखरेलदेखि सुवास नेम्वाङ, डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, अमिक शेरचन, दमननाथ ढुंगाना, अनुराधा कोइराला, देवेन्द्रराज पाण्डे सम्मको नाममा ‘ढोक्सा’ थाप्न सकिने हल्ला चलाइएको छ ।
स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले निर्णायक मत लिएर बसेका कारण उनको समर्थन र सहयोगविना थापिने कुनै पनि ढोक्सामा राष्ट्रपति पर्ने देखिँदैन । यही मेसो पाएका कारण एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई पुस १० यता २४ पटक र कांग्रेस सभापति देउवाले ४ पटक भेटघाट गरिसकेका छन् ।
त्यसैगरी, प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राजदूत, भारतीय राजदूत, अमेरिकी प्रतिनिधि दूतले समेत भेटेर चासो राखेका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते शनिबार उम्मेदवारी दर्ता गरिसक्नुपर्ने भएकोले दलहरू दबाबमा छन्।
Facebook Comment
Comment