फरार सांसद कोइरीसहित तीन जनाले राष्ट्रपति उम्मेदवारलाई मत दिन नपाउने

जम्मा मतदाता ८८४ भएपनि मतदिन पाउने ८८१ मात्रै

नेपालभ्युज

फरार सांसद कोइरीसहित तीन जनाले राष्ट्रपति उम्मेदवारलाई मत दिन नपाउने

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा आठ सय ८१ जनाले मात्रै मतदान गर्न पाउनेगरी मतदाता नामावली सार्वजनिक गरेको छ । मतदाता आठ सय ८४ भए पनि आयोगले ३ जनाले मत दिन नसक्ने जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनुपर्ने हो । तर, सार्वजनिक गरेको सूचीमा महोत्तरी १ का सांसद लक्ष्मी कोइरीसमेत मनाङका टेकबहादुर गुरुङ र चितवन २ का रवि लामिछानेको नाम छैन ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने पदमुक्त,नेपाली कांग्रेसबाट मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बन र एमालेबाट निर्वाचित लक्ष्मी कोईरी फरार रहेको कारण यीनको मतदानमा सहभागिता हुँदैन ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार आठ सय ८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूले भाग लिन पाउँछन्।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले दाबी, विरोध र उजुरीउपर छानबिन फागुन ११ र १२ गते गर्नेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता र निर्वाचन बानेश्वरस्थित संघीय संसद् भवनमा हुनेछ । आयोगले निर्वाचन अधिकृतको कार्यालयसमेत त्यहाँ स्थापना गरिसकेको छ । निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved