काठमाडौं। नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. वेदुराम भुसालले जानकारी दिए ।
पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत राष्ट्रपतिको ‘अफर’ आइरहेको बेला हतारमै पार्टीको बैठक बस्न लागेको हो । महासचिव भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले जानकारी दिए।
अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा बाहिर आएको छ । एमालेको प्रस्तावको बारेमा एकीकृत समाजवादीले कुनै भनाइ सार्वजनिक गरेको छैन । आजको बैठकपछि समाजवादीको पार्टीगत धारणा आउने अपेक्षा गरिएको छ।
Facebook Comment
Comment