अन्तरवार्ता

राष्ट्रिय सहमति जनताको म्यान्डेड हो, राष्ट्रपति यहीँबाटै टुङ्गिन्छ : लीलामणि पोखरेल

'राष्ट्रपति चयनमा बाह्य प्रभाव लागू हुँदैन'

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) राष्ट्रपति राष्ट्रिय सहमतिबाटै टुङ्गिनुपर्ने अडानमा छ । राष्ट्रपतीय निर्वाचनका लागि माओवादी केन्द्रसँग निर्णायक मतभार छ, त्यसैले पनि उसले भनेको कुरा सुन्नैपर्ने अवस्थामा अरु दलहरू छन् । माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलसँगको अन्तरवार्ता ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) राष्ट्रपति राष्ट्रिय सहमतिबाटै टुङ्गिनुपर्ने अडानमा छ । राष्ट्रपतीय निर्वाचनका लागि माओवादी केन्द्रसँग निर्णायक मतभार छ, त्यसैले पनि उसले भनेको कुरा सुन्नैपर्ने अवस्थामा अरु दलहरू छन् ।

३२ सिटसहित प्रतिनिधि सभामा तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । उसले राष्ट्रिय सहमति बनाएर राष्ट्रपति चयन गर्नुपर्ने भनिरहँदा दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने आफैँले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुनुपर्ने बताइरहेका छन् ।

तर, आइतबार साँझ कांग्रेस नेताहरूलाई प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसकै उम्मेदवारमाथि राष्ट्रिय सहमति जुट्ने बताएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रणनीतिक चाल चालेका छन् । उनले एमाले नै टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् ।

आफूले भनेजस्तै अध्यक्ष नेपाल राष्ट्रपति बनेको खण्डमा एकीकृत समाजवादी एमालेमा डोल्याउने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा नकार्न नसक्ने भन्ने रणनीतिका साथ उनले नेपालको नाम अगाडि सारेको विश्लेषकहरूले बताउने गरेका छन् ।

एमालेले नेपाललाई प्रस्ताव गर्दा कांग्रेस सशंकित भएको छ । यसपछि उसले प्रधानमन्त्री प्रचण्डसँग थप वार्ता गर्ने भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, ‘प्रधानमन्त्रीजीसँग थप वार्ता गर्नेछौँ । राष्ट्रपति उम्किँदैन ।’

केही दिनअगाडि मात्रै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले दलहरूका शीर्षस्त नेतादेखि केन्द्रीय सदस्यसम्मलाई भेटेर गएका छन् । क्वात्राको उक्त भेटघाटले पनि राष्ट्रपति चयनमा प्रभाव पार्ने कतिपयले बताउने गरेका छन् ।

यी गणतन्त्र नेपालको चौथो राष्ट्रपति खोजीका क्रममा देखिएका राजनीतिक उतारचढावहरू हुन् । त्यसो त निर्णायक माओवादी केन्द्रले के सोचिरहेको छ ? अबको उसको कदम कस्तो रहन्छ ? राष्ट्रपतिमा राष्ट्रिय सहमति किन चाहियो ? कुन दलले सिफारिस गरेको व्यक्तिलाई समर्थन गर्दैछ ? यी नै विषयवस्तुका बारेमा माओवादीका केन्द्रीय सचिव लीलामणि पोखरेलसँग कुराकानी गरिएको छ ।

‘राष्ट्रिय सहमति जनताले दिएको म्यान्डेड हो’

सचिव पोखरेल राष्ट्रिय सहमति जनताले दिएको म्यान्डेड ठान्छन् । ‘दुई वा दुईभन्दा बढी दलहरू मिलेरसमेत सरकार नबन्ने देखिन्छ, कांग्रेस र एमाले मिलेनन् भने । तर, उनीहरू मिल्ने अवस्था त छैन । यस्तो अवस्थामा जनताले हामीलाई सबै मिलेर काम गर्नु भनेर भनेका हुन्, यो हामीले बुझ्नुपर्छ,’ उनले भनेका छन् ।

आफूहरू जनताको म्यान्डेड बुझेर राष्ट्रिय सहमतिको पक्षमा उभिएको बताउँछन् उनी ।

जनताको म्यान्डेडविरुद्ध जानु असंवैधानिक कदम हुने भनाइ उनको छ, भन्छन्— सर्वेसर्वा जनता हुन्, उनीहरूको म्यान्डेडअनुसार काम हुनुपर्छ । यसमा माओवादी केन्द्र दृढ छ ।

‘विगतका राष्ट्रपतिझैँ विवादित नबनून् भनेर राष्ट्रिय सहमति चाहिएको हो’

सचिव पोखरेल विगतका राष्ट्रपतिले निर्विवादित भएर काम गर्न नसकेको टिप्पणी गर्छन् । त्यसका कारणमध्ये राष्ट्रिय सहमति नहुनु पनि प्रमुख रहेको औंल्याउँछन् उनी । ‘पहिलो राष्ट्रपतिका रूपमा डा. रामवरण यादव र दोस्रो र तेस्रो कार्यकालमा विद्यादेवी भण्डारी हुनुभयो । दुवै राष्ट्रपतिले निर्विवादित भएर काम गर्न सक्नुभएन ।’

अबचाहिँ त्यस्तो नहोस् भनेर पनि राष्ट्रिय सहमतिमा जोड गरिएको भनाइ सचिव पोखरेलको छ । ‘अबचाहिँ त्यसरी विवादित नहोउन् भनेर राष्ट्रि सहमति खोजिएको हो,’ उनले भने, ‘राजनीति पृष्ठभूमि र चेतना हुन पनि पर्छ । तर, उसले स्वतन्त्ररूपमा आफ्नो भूमिका गर्न सकोस्, विगतका राष्ट्रपति कुनै न कुनैरूपमा आफ्नै पूर्वदलको विचारबाट टाढा रहन सक्नुभएन ।’

यस्तै संविधान, संघीयता र निर्वाचित संसद्‌को रक्षाका लागि पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति चाहिएको तर्क सचिव पोखरेलको छ ।

‘राष्ट्रपति चयनमा बाह्य शक्तिको प्रभाव लागू हुँदैन’

केही दिनअगाडि मात्रै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मुलुकका शीर्षस्त नेतादेखि विभिन्न दलका केन्द्रीय सदस्यहरूलाई भेटेर गए ।

क्वात्राको भ्रमणले राष्ट्रपतीय निर्वाचनमा केही प्रभाव पार्छ ? भन्ने सवालमा सचिव पोखरेल भन्छन्, ‘नेपाली दलहरूमा पनि निर्णय क्षमता छ । राष्ट्रपतीय निर्वाचनमा बाह्य निर्णयको प्रभाव शून्य हुन्छ ।’

त्यसअघि उनले भनेका छन्, ‘भारतीय विदेश सचिव कुन उद्देश्यका साथ आए र के लिएर गए, त्यो अर्को पाटो हो । त्यसमा कतिपय मिडियाले सुझाएरै गए भनेर पनि लेखे । यदि सुझाएकै हो भनेपनि त्यो लागू हुँदैन, प्रभाव शून्य हुन्छ ।’

यसबीचमा अमेरिकी अधिकारीहरूको पनि बाक्लो भ्रमण भयो । त्यसले पनि राष्ट्रपतीय निर्वाचनमा कुनै प्रभाव नपार्ने भनाइ सचिव पोखरेलको छ ।

‘राजनीतिक सन्तुलन मिलाउन आफैँले उम्मेदवार बनाउँदैनौँ’

सचिव पोखरेल माओवादी केन्द्र आफैँले भने राष्ट्रपतिको उम्मेदवार नबनाउने बताउँछन् ।

‘हाम्रा मान्छेहरू पनि योग्य छन्, उनीहरूको भूमिका पनि एकदमै क्लिन छ । तर राजनीतिक सन्तुलन पनि आवश्यक छ भनेर हामीले आफैँले उम्मेदवार खडा नगर्ने भनेका छौँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved