काठमाडौं। सभामुख देवराज घिमिरे र जर्मनी संसदको साउथ एसिया समूहका सदस्यहरूबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा नेपालका लागि जर्मनीका राजदूतसमेत सहभागी थिए ।
भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकासलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कुटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका थिए । नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै सो विषयलाई संसदले यथाशिघ्र टुंगो लगाउने पनि उनले उल्लेख गरे।
यसैगरी, नवीकरणीय र स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा जर्मनीले नेपाललाई गरेको सहायताको प्रशंसा गर्दै उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका नेपालीलाई ज्ञान आर्जनपश्चात् स्वदेशमै लगानी तथा बसोबासका लागि आकर्षित गर्न सके नेपालमा उपलब्ध मानवपुँजी थप मजबुत हुने र वैदेशिक लगानी आकर्षित गर्न सकिने उल्लेख गरे । उनले नेपालको आर्थिक समृद्धि निर्माणमा लगानी सहायताको नयाँ आयाम मानव पुँजी निर्माण हुनसक्ने समेत बताए ।
जर्मनीका संसदको साउथ एसिया समूहका नेपाल भ्रमणमा रहेका टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहणको शुभकामना दिँदै कार्यकाल सफलताको कामना दिए । नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावना रहेको उनले बताए ।
भ्रमणमा रहेका अन्य सदस्यहरूले नेपालको कलिलो लोकतन्त्रलाई मजबुत बनाउन आवश्यक सहयोग जर्मनीले गर्नसक्ने र सो का लागि नेपालले पहल गर्नुपर्ने बताए । नेपालमा प्रगतिशील कानुनहरू रहेकोमा भ्रमण टोलीका सदस्यहरुले नेपालको कानुन निर्माण प्रक्रियाको प्रशंसा समेत गरे ।
Facebook Comment
Comment