भारतीय विदेश सचिवको नेपाल भ्रमण : कुटनीतिक कम, राजनीतिक बढी

यी भेटघाटले प्रष्ट गर्दछ कि सत्ता राजनीतिका मुख्य खेलाडी तीन ठूला दल, कांग्रेस, एमाले र माओवादीका अतिरिक्त उनको रुचि मधेस केन्द्रित दलमा थियो । त्यसमा पनि उपेन्द्र यादवलाई छोडेर । संसदमा १२ सिट रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको साटो सानो आकारमा रहेका लोसपा र जनमत पार्टीप्रति उनको रुचि देखियो ।

नेपालभ्युज

भारतीय विदेश सचिवको नेपाल भ्रमण : कुटनीतिक कम, राजनीतिक बढी

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुई दिने नेपाल भ्रमण पूरा गरि फर्किएका छन् । फाल्गुन १ गते सोमबार काठमाण्डौं उत्रिएका क्वात्राले सोमबार र मंगलबार व्यस्त भेटघाट गरेका थिए । सरकारी अधिकारीका अतिरिक्त उनले राजनीतिक दलका प्रतिनिधिसँग समेत भेटघाट गरे ।

विदेश सचिव क्वात्राले राजकीय पदमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमल राई पौडेल, परराष्ट्र सचिव, भरतराज पौडेल, भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, जलस्रोत तथा उर्जामन्त्री राजेन्द्र लिङदेनलाई भेटेका थिए।

साथै, राजनीतिक दलका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी ) का अध्यक्ष शेरबहादुर देउवा, कांग्रेस नेताहरु शेखर कोइराला, बालकृष्ण खाण र रमेश लेखक, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र हृदयश त्रिपाठीसँग भेटघाट गरेका थिए ।

यी भेटघाटले प्रष्ट गर्दछ कि सत्ता राजनीतिका मुख्य खेलाडी तीन ठूला दल, कांग्रेस, एमाले र माओवादीका अतिरिक्त उनको रुचि मधेस केन्द्रित दलमा थियो । त्यसमा पनि उपेन्द्र यादवलाई छोडेर । संसदमा १२ सिट रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको साटो सानो आकारमा रहेका लोसपा र जनमत पार्टीप्रति उनको रुचि देखियो ।

सभापति शेरबहादुर देउवाका अतिरिक्त कांग्रेसका ‘लो प्रोफाइल’ थप नेतासँग भेटघाट गरेर उनले कांग्रेसप्रति यतिखेर भारतको थप चासो रहेको संकेत गरेका छन् । यी भेटघाटको प्रवृति हेर्दा क्वात्राको भ्रमण कुटनीतिक कम र राजनीतिक बढी भएको सहजै अनुमान गर्न सकिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्वात्राको भेट ‘औपचारिक’ कम र ‘अनौपचारिक’ बढी थियो । सोमबार साँझ उनले करिब २ घन्टा प्रधानमन्त्री प्रचण्डसँग वालुवाटारमा ‘गोप्य’ भेटघाट गरेका थिए । स्रोतका अनुसार उनको मुख्य चासो नेपाल–भारत सम्बन्धका अन्य विभिन्न आयाममा भन्दा गठबन्धन र राष्ट्रपति निर्वाचनमा केन्द्रित थियो ।

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्न सक्ने भनिए पनि त्यसो भएन । यसको अर्थ हुन सक्दछ कि क्वात्रा नेपालको राजनीतिक परिदृष्य र प्रधानमन्त्री प्रचण्डको भूमिकाप्रति आश्वस्त भएनन् । भारतले कम्तीमा राष्ट्रपतिको निर्वाचनसम्म ‘पर्ख र हेर’ को नीति लिएको हुन सक्दछ ।

क्वात्राको नेपाल भ्रमणको अन्तर्यमा गठबन्धन परिवर्तनको प्रयास समेत छ भन्ने संकेत एमालेले पाइसकेको हुनु पर्दछ । एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिले त्यसको संकेत गर्दछन् । उनले केही दिन यता विद्यमान सत्ता गठबन्धन भत्किन सक्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।

तर, सकेसम्म गठबन्धन जोगाउन लागेका छन् । गठबन्धन भत्किए एमालेले धेरै चिज गुमाउनु पर्नेछ भन्ने बुझेका ओली यसपटक पहिले जस्तो उत्ताउलो देखिएका छैनन् । निक्कै संयमित प्रयत्न गरिरहका छन् ।

कांग्रेसका दोस्रो तहका र मधेस केन्द्रित दलका नेतासँग भने क्वात्राले राष्ट्रपति निर्वाचनबारे खुलेरै कुरा गरेको बताइन्छ । उनले लोकतान्त्रिक पृष्ठभूमिको राष्ट्रपति ल्याउन सबैलाई आग्रह गरेका थिए । त्यस्तो राष्ट्रपति आए दुई देशको सम्बन्ध झनै सहज हुने’ आसय उनले व्यक्त गरेका थिए ।

माओवादीलाई एमालेसँगको गठबन्धनबाट निकालेर आफूतिर तान्न कांग्रेस नेताहरु मरिहत्ते गरेर लागेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेसले अघि सारेको उम्मेद्वारलाई माओवादी केन्द्रको समर्थन हुने र त्यसपछि एमालेसँगको गठबन्धन समाप्त हुने कांग्रेसको अपेक्षा छ । क्वात्राको भ्रमणले यसमा सहयोग पुर्‍याउन सक्ने कांग्रेका नेताहरुको विश्वास छ ।

तर, क्वात्रासँगका औपचारिक र गोप्य दुवै भेटघाटपछि प्रधानमन्त्री प्रचण्डले कस्तो मनस्थिति बनाएका छन् भन्ने अझै अस्पष्ट छ । राष्ट्रपति निर्वाचनमा एमालेले अघि सारेको उम्मेद्वारलाई सहयोग गर्ने या कांग्रेसले अघि सारेको उम्मेद्वारलाई समर्थन गरेर गठबन्धन तोड्ने, अथवा माओवादीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न एमालेलाई मनाएर अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रधानमन्त्री प्रचण्डको हातमा छ ।

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । तर उम्मेदवारी दर्ता गर्ने फागुन १३ गते अगाडी नै नेपाली राजनीति कता जाने भन्ने प्रष्ट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved