रविको विषयमा ओली-प्रचण्डबीच नोक-झोंक

प्रचण्ड भन्छन्- गृहको कुरै नगरौं अब रोजेको अरु मन्त्रालय पनि पाइँदैन

रविले आफूलाई पुनः गृहमन्त्री बनाउन बालकोट र बालुवाटारको चक्कर लगाउँदै आएका छन् । गृह नपाए सरकार नै छाड्न सक्ने चेतावनी दिँदै आएका रविलाई प्रधानमन्त्रीले भने अब कुनै पनि रोजेको मन्त्रालय नदिने मनस्थिति बनाएका छन् ।

नेपालभ्युज

रविको विषयमा ओली-प्रचण्डबीच नोक-झोंक

काठमाडौं। नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मागलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच नोक-झोंक भएको छ ।

एमाले अध्यक्ष ओली रविलाई पुनः गृह मन्त्रालय दिनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री प्रचण्ड त्यो कुरा सुन्न पनि चाहँदैनन् । प्रधानमन्त्री प्रचण्डलाई उनकै पार्टीभित्रबाट समेत गृह मन्त्रालय अब अरूलाई नदिन दबाब छ ।

गृह मन्त्रालयबारे निर्णय गर्न अदालतको फैसलाको पूर्णपाठ आउनुपर्ने भन्दै आएका प्रधानमन्त्री दाहाल पछिल्लो समय अब रविलाई गृह मन्त्रालय मात्रै होइन, कुनै पनि रोजेको मन्त्रालय माग्दासमेत नदिने मनस्थितिमा पुगेका छन् ।

एमाले अध्यक्ष ओली भने गृह मन्त्रालय रविलाई नै दिनुपर्नेमा अडिग छन् । ओलीले सार्वजनिक रूपमै रवि लामिछानेको बचाउ गर्दै आएका छन् ।

यही विषयलाई लिएर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच लगातार भेटघाट र छलफल भइरहेको छ । राष्ट्रपति निर्वाचनदेखि सत्ता सञ्चालनका विविध विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहाल र ओलीको भेट रविकै विषयमा केन्द्रित हुने गरेको छ।

‘प्रधानमन्त्री रविप्रति त्यति धेरै नेगेटिभ हुन आवश्यक छैन’ एमालेका एक नेता भन्छन्-‘प्रतिपक्षी गठबन्धन भत्किन्छ भन्दै हिँडेका छन्, प्रधानमन्त्रीको चाहना के हो थाहा भएन, तर एमालेले सत्ता गठबन्धन नभत्कियोस् भन्ने चाहन्छ ।’ एक एमाले नेता भन्छन् ।

माओवादी केन्द्रका नेताहरू भने गृहमन्त्री अब अरु पार्टीलाई दिन नहुने बताउँछन् । शनिबार बसेको माओवादी स्थायी समिति बैठकले प्रधानमन्त्री दाहाललाई ओली र रवि दुवैको कुरामा अनावश्यक सम्झौता नगर्न सुझाव दिएको बुझिएको छ । माओवादी बैठक बस्नुअघि पनि बालुवाटार पुगेर ओलीले रविलाई गृह मन्त्रालय दिनेबारे छिटो निर्णय लिन भनेका थिए।

उता गैरसांसद रहेका रविले पनि आफूलाई पुनः गृहमन्त्री बनाउन बालकोट र बालुवाटारको चक्कर लगाउँदै आएका छन् । गृह नपाए सरकार नै छाड्न सक्ने चेतावनी दिँदै आएका रविलाई प्रधानमन्त्रीले भने अब कुनै पनि रोजेको मन्त्रालय समेत नदिने मनस्थिति बनाएका छन् ।

सांसद नहुँदा पनि पुनः गृहमन्त्री बन्ने रविको कसरत खेर जाने भएपछि आइतबार ओली आफैँले प्रचण्डसँग अन्तिम कुराकानी गरेका छन् ।

कुराकानीमा ओलीले प्रचण्डलाई गठबन्धनमा असर पर्नेगरी धेरै कठोर नबन्न र रविलाई गृहमन्त्री दिन पुनः आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहको कुरै नगरौं अर्को मन्त्रालय पनि दिन सकिन्न भन्ने जवाफ दिएका थिए ।

यसभन्दा अगाडि रविले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई छुट्टाछुट्टै भेटेका थिए । उनले आजै पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेका छन् । बैठकलगत्तै विशेष पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी गराउने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved