संघीय सरकारद्वारा मधेस प्रदेशको चार अर्ब बजेट कटौती

मुलुकमा आर्थिक मन्दी तथा राजस्व संकलनमा समस्या देखिएपछि संघीय सरकारले मधेस प्रदेशको बजेट कटौती गरेको सचिव ठाकुरले जानकारी दिए ।

संघीय सरकारद्वारा मधेस प्रदेशको चार अर्ब बजेट कटौती

जनकपुरधाम । संघीय सरकारले मधेस प्रदेश सरकारको सशर्त तर्फको चार अर्ब बजेट कटौती गरेको छ ।

मधेस सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाखको बजेट ल्याएको थियो । चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख बजेट छुट्याइएको छ ।

तर संघीय सरकारले सशर्त तर्फको ४ अर्ब कटौती गरेपछि प्रदेश सरकारको बजेट ४२ अर्ब ८८ करोड ९ लाख ४६ हजार मात्रै हुन पुगेको प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट निर्माण क्रममा संघीय सरकारबाट सशर्त योजनाको लागि संघीय सरकारले १० अर्ब ६ करोड ५१ लाख दिने भनेर स्रोत उल्लेख गरिएको थियो । तर मुलुकमा आर्थिक मन्दी तथा राजस्व संकलनमा समस्या देखिएपछि संघीय सरकारले मधेस प्रदेशको बजेट कटौती गरेको सचिव ठाकुरले जानकारी दिए ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्त सम्म प्रदेश सरकारले कुल बजेटको झण्डै ११ प्रतिशत मात्रै खर्च गरेको छ । चालुतर्फ ११ दशमलव ७२ प्रतिशत र पूँजीगततर्फ १० दशमलव २४ प्रतिशत बजेट खर्च भएको नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैबीच, संघीय सरकारले समयमा आवश्यक बजेट निकासा नगर्दा प्रदेश सरकारको कामकाज समेत प्रभावित भएको छ । अहिले सम्म दोस्रो चौमासिकको बजेट आउनुपर्ने समयमा प्रदेश सरकारले केही दिन अघि पहिलो चौमासिकको बजेट पठाएको थियो ।

चालु आर्थिक वर्षमा संघीय सरकारले राजस्व बाँडफाँट, समानीकरण अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा सशर्त लगायतका विभिन्न शीर्षकमा २६ अर्ब रुपैयाँ मात्रै प्रदेश सरकारलाई उपलब्ध गराउने छ । तर चालु आर्थिक वर्षको ६ महिना भन्दा बढी समय बितिसक्दा पनि अहिले सम्म ६ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराइएको छ ।

संघीय सरकारले तोकिएको समयमा बजेट उपलब्ध नगराउँदा प्रदेश सरकारको योजना कार्यान्वयनमा ढिलाइ हुने गरेको सचिव ठाकुरले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved