रवि लामिछानेको क्षेत्रमा कहिले होला निर्वाचन ?

नेपालभ्युज

रवि लामिछानेको क्षेत्रमा कहिले होला निर्वाचन ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उप निर्वाचन हुने भएको छ ।

उप निर्वाचन हुने पक्का भएपनि मिति भने टुंगो छैन । उप निर्वाचनको लागि पहिले संघीय संसद सचिवालयबाट सांसद पद रिक्त भएको सूचना निर्वाचन आयोगमा पुग्नुपर्नेछ । तर अहिलेसम्म सचिवालयले आयोगलाई पत्र पठाएको छैन ।

‘सङ्घीय संसद् सचिवालयबाट पद रिक्त रहेको पत्र प्राप्त हुनुपर्छ, त्यसपछि मात्रै हामीले आवश्यक प्रक्रिया अघि बढाउने हो । तर अहिलेसम्म सचिवालयबाट हामीलाई सांसद पद रिक्त भएको सूचना प्राप्त भइसकेको छैन’, निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भनेका छन् ।

संघीय संसद सचिवालयले भने सर्वोच्च अदालतबाट फैसलाको पाठ र औपचारिक पत्र नआएसम्म निर्वाचन आयोगलाई जानकारी गराउन नसकिने बताएको छ ।

‘सर्वोच्च अदालतले गरेको फैसला लिखितरूपमा हामीलाई प्राप्त हुनुपर्छ, तबमात्रै हामीले निर्वाचन आयोगलाई पत्र पठाउँछौँ,’ सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने ।

यसअघि गत मंसिर ४ गते भएको निर्वाचनमा रवि देशभरकै सबैभन्दा फराकिलो अन्तरले विजयी भएका थिए । चितवन-२ बाट लामिछानेले ४९ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved