माधवसँग वामदेवका तीन सर्त

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेवलाई गौतम पार्टी प्रवेश गराउने प्रयासमा छ ।

नेपालभ्युज

माधवसँग वामदेवका तीन सर्त

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेवलाई गौतम पार्टी प्रवेश गराउने प्रयासमा छ ।

महासचिव डा. वेदुराम भूसालको नेतृत्वमा बनेको कार्यदलले गौतमसँग उसैगरी वार्ता अगाडि बढाएको छ ।

तर, गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै पनि वान् अन वान् वार्ता गरेका छन् । यसअघि गत शुक्रबार एकीकृत समाजवादीको कार्यालयमै गौतम-नेपालबीच भेटवार्ता भएको थियो ।

त्यसक्रममा पार्टी प्रवेशका लागि नेपालले गरेको आग्रहमा गौतमले मुख्यत: ३ वटा सर्त राखेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘उहाँ (वामदेव गौतम) ले केही सर्तहरू राख्नुभएको छ । त्यसमा पार्टीमा छलफल हुन्छ ।’

गौतमले पहिलो सर्तका रूपमा आफूमात्रै पार्टी प्रवेश नगर्ने बताएका छन् । छुट्टै पार्टीको नेतृत्व गरिरहेकाले आफ्नो पार्टीमा रहेका अन्य नेताहरूको पनि व्यवस्थापन हुनुपर्ने उनले बताएका छन् । ‘यो त छलफल गर्न सकिने विषय भयो,’ ती पदाधिकारीले भनेका छन् ।

दोस्रो सर्तका रूपमा गौतमले पार्टीले अवलम्बन गर्ने राजनीतिक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) पनि हुनुपर्ने बताएका छन् ।

अहिले एकीकृत समाजवादीले मार्क्सवाद-लेनिनवाद मान्दै आएको छ । अध्यक्ष नेपालसँगको भेटमा गौतमले यस्तो माग राखेको ती पदाधिकारीले बताए ।

यस्तै गौतमले तेस्रो सर्तका रूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री र समानुपातिक निर्वाचन प्रणाली छ । यसमा पार्टीमा अनौपचारिकरूपमा छलफल भएको ती पदाधिकारीले बताए । ‘उहाँको सर्तका बारेमा पार्टीमा अनौपचारिकरूपमै भएपनि छलफल भइरहेको छ, यसका बारेमा अध्यक्ष कमरेडले निर्णय लिनुहुन्छ, उनले भनेका छन् ।

नेपाल र गौतम दुवै नेकपा (एमाले) बाट छुट्टिएका नेताहरू हुन् । नेपालले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी बनाए भने गौतमले नेकपा एकता अभियान गठन गरेका छन् ।

यसपछि बृहत् वामपन्थी ध्रुवीकरणको मुद्दा उठाउँदै आएको एकीकृत समाजवादीले गौतमलाई एकीकरणको निम्ति आग्रह गर्दै आएको छ । यसबाहेक एकीकृत समाजवादीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि चाँडै पार्टी एकीकरण हुने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved