मधेसमा अरु दललाई पाइला पनि टेक्न नदिनेगरी शक्ति बन्न सक्छ, उपराष्ट्रपतिमा दाबी छैन : मनिष सुमन

‘घाम बैठकको निर्णय गठबन्धनमा लादिएपछि सरकारमा गएनौँ’

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सातदलीय गठबन्धनमा भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा भने सामेल छैन । के अब सरकारमा जान्छ ?

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सातदलीय गठबन्धनमा भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा भने सामेल छैन ।

मन्त्रालय भागबन्डादेखि अन्य राजनीतिक असहमति देखाएर ऊ सरकारमा सहभागी भएको छैन । गत पुस १८ र १९ गते बसेको जसपा राजनीतिक समितिको बैठकले निर्णय गरेको छ— तत्काल सरकारमा नजाने, गुण र दोषको आधारमा समर्थन वा विमति जनाउने ।

हुन त जसपाले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्नेदेखि लिएर प्रधानमन्त्री, सभामुख, उपसभामुखको पक्षमै मतदान गरिसकेको छ । सम्भवत: राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि जसपाले पक्षमै मतदान गर्नेछ । तर, सरकारमै भने सहभागी भएको छैन, यो किन ?

जसपाले उपराष्ट्रपतिमा आकांक्षा व्यक्त गरेको भनेर सतहमा कुरा उठेको छ । हुन त यसबारे जसपा नेताहरूले मुख खोलिसकेको छैनन् । भनिन्छ—अध्यक्ष उपेन्द्र यादव यही चाहन्छन्, रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू बारा २ बाट उपनिर्वाचन लड्न चाहन्छन् । के यो साँचो हो त ?

जसपा नेताहरूले यो बताउने गरेका छन् कि, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग चाँडै पार्टी एकीकरण हुन्छ । त्यसो त दुवै दलले विचार मिल्नेसँग पार्टी एकीकरण, त्यो नभए पनि कार्यगत एकतासम्म गर्ने भनेर वार्ता समिति बनाएका छन् । समितिले वार्ता कहाँ पुर्‍यायो ?

उसो त मधेसमा थप दुई दल; जनमत पार्टी र नागरिक उन्मुक्ति अनपेक्षित रूपमा उदाएका छन् । उनीहरूको उदयका बारेमा विभिन्न विश्लेषण भएपनि यसलाई जसपाका नेताहरू सहजरूपमा लिएको बताउँछन् । कतिपय नेताहरूले थप अगाडि बढेर भन्छन्— भविष्यमा यी मधेसकेन्द्रित दल एकठाउँ आउन पनि सक्छन् । त्यसो त यो सम्भव छ त ?

यी नै सवालका सन्दर्भमा हामीले जसपाका केन्द्रीय प्रवक्ता मनिष सुमनसँग कुराकानी गरेका छौँ, यो सम्पादित अंश हेर्नूस् ।

‘विन-विन पोजिसनमा मात्रै सरकारमा जान्छौँ’  

प्रवक्ता सुमन आफूहरू तत्कालै सरकारमा नजाने बताउँछन् । सातदलीय गठबन्धनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णय लादिएको भनाइ प्रवक्ता सुमनको छ । ‘५/५ घण्टा घाममा बैठक गरेर तैँले यो मन्त्रालय पाइस्, तैँले यो पद पाइस् भनेर गरिएको निर्णय गठबन्धनमा लादियो,’ उनले भने, ‘त्यसैले सरकारमा गएनौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपाका लागि भनेर वन र खेलकुद मन्त्रालय राखेका छन् । तर, त्यो मन्त्रालय आफूहरूलाई नचाहिने बताउँछन् उनी, भन्छन्— ‘हाम्रो प्रधानमन्त्रीजी धेरै फुर्सदिलो हुनुहुन्छ । अब उहाँले नै हेर्नुहुन्छ होला । हामीलाई त चाहिएन त्यो मन्त्रालय ।’

उनले गठबनधनमै रहेको जसपाले गुण वा दोषको आधारमा सरकारलाई समर्थन वा विमति जनाउने बताए । ‘हाम्रो राजनीतिक समितिको बैठककै निर्णय हो । हामीले गुण वा दोषको आधारमा सरकारलाई समर्थन वा विमति जनाउने हो,’ उनले भने ।

शक्ति बाँडफाँटमा आफूलाई पक्षपात भएको भनाइ प्रवक्ता सुमनको छ । ‘हामीले राष्ट्रपतिदेखि प्रदेशका उपसभामुखसम्ममा दामासाहीरूपमा बाँडफाँट हुनुपर्छ भनेका थियौँ, त्यो भएन त्यहीकारण हामीले तत्कालै सरकारमा नजाने निर्णय गर्‍यौँ,’ उनले भने, ‘वीन्–वीन पोजिसनमा मात्रै हामी सरकारमा जान्छौँ ।’

‘उपराष्ट्रपतिमा दाबी गरेका छैनौँ’

प्रवक्ता सुमन उपराष्ट्रपतिमा दाबी नरहेको बताउँछन् । ‘उपराष्ट्रपति दाबी गर्नेबारे पार्टीभित्र पनि कुनैखाले कुराकानी भएको छैन । म तपाईंलाई इमान्दार पार्टीको कार्यकर्ताको रूपमा बताइरहेको छु,’ उनले भने ।

यद्यपि जसपाले उपराष्ट्रपतिमा दाबी गरे त्यसलाई फरक हिसाबले हेर्नुपर्ने कुनै विषय नरहेको बताउँछन् उनी । ‘यो देशमा आदिवासी जनजाति, मधेशी, मुस्लिम समुदायबाट माथिल्लो पदमा पुग्नै हुँदैन भन्ने त हुँदैन नि, सधैँ खसआर्य समुदायबाटै हुनुपर्छ भन्ने त भएन ।’

त्यसो अध्यक्ष उपेन्द्र यादवको लक्ष्य भने उपराष्ट्रपतिमा दाबी गर्ने छ भनेर विश्लेषण गरिन्छ । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँगै झन्डै दोब्बर मतान्तरले हारेका यादवले उपराष्ट्रतिमा बारा २ बाट निर्वाचित रामसहाय यादवलाई पठाउने र आफू त्यहीबाट उपनिर्वाचन लड्ने तयारी गरेको भनेर भनिन्छ ।

तर, प्रवक्ता सुमन भने यो विश्लेषणमा बिल्कुलै सत्यता नभएको जिकिर गर्छन् । ‘मैले बुझेसम्म उहाँले त्यसरी सोच्नुभएको छैन, उहाँको नजिकको मान्छे म पनि हुँ, मलाई यसबारे थाहा छैन । यो झुट हो,’ उनले भने ।

‘जसपा र एकीकृत समाजवादी चाँडै एक हुन्छ’

प्रवक्ता सुमन एकीकृत समाजवादीसँग एकता हुनेमा ढुक्क देखिन्छन् । ‘मलाई लाग्छ कि जसपा र एकीकृत समाजवादी चाँडै नै एक हुन्छन्,’ उनले भने ।

दुवै दल समाजवादी विचारधाराको भएको उल्लेख गर्दै उनले पार्टी एकीकरण पनि सहज हुने दाबी गरे । ‘दुवै दलहरू समाजवादी विचारधाराका हुन् । यसो हुँदा पनि एकीकरणमा सहज हुन्छ । कार्यदलले त्यसैगरी काम गरिरहेका छन्,’ उनले भने, ‘केही समय लाग्ला । तर, एकीकरण भने जरुर हुन्छ ।’

उपेन्द्र यादव र माधवकुमार नेपाल दुवैले मुलुकका लागि महत्त्वपूर्ण काम गरेको भनाइ प्रवक्ता सुमनको छ । ‘उपेन्द्र यादवले हिजोको मधेस आन्दोलनको नेतृत्व गर्नुभयो र त्यसले अहिले उपलब्धि प्राप्त भयो । माधवकुमार नेपालल पनि महत्त्वपूर्ण नेता हुनुहुन्छ । उहाँहरूले त अझ नेतृत्व नै गरेर सन्की नेताबाट मुलुकलाई बचाउनुभएको हो,’ उनले भने ।

यी आधारहरूले पनि जसपा र एकीकृत समाजवादी चाँडै एक हुने भनाइ प्रवक्ता सुमनको छ ।

‘मधेसका ४ दल एक ठाउँमा उभिन सक्छन्’

प्रवक्ता सुमन मधेसका सबै दल एकठाउँमा उभिन सक्ने प्रक्षेपण गरेका छन् । जनमत पार्टी, नागरिक उन्मक्तिलगायतका दलहरूको उदय स्वाभाविक भएको उल्लेख गर्दै उनले भने, ‘मधेसका दल भविष्यमा एकठाउँमा उभिन पनि सक्छन् ।’

मधेसका दललाई काठमाडौंले हेँला गरेको सुनाउँदै उनले थपे ‘यदि बढी नै निहुँ खोजियो भने मधेसमा अरु दललाई पाइला पनि टेक्न नदिनेगरी शक्ति निर्माण हुनसक्छ ।’

उनले भने, ‘राजनीतिमा असम्भव केही पनि हुँदैन । अब हामीले कहिल्यै डा. बाबुराम भट्टराई जसपाको नेता बन्नुहुन्छ भनेर सोचिएकै थिएनौ । उहाँ त सशस्त्र युद्ध लडेर आएको मान्छे । त्यसैले राजनीतिमा असम्भव भन्ने केही हुँदैन । मधेसका दलहरू पनि एकठाउँमा आउन सक्दैनन् भनेर भन्नु हुँदैन ।’

जसपाले यसबारे सोचेको छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘सतहमा कुनै दलमा पनि यस्तो बहस भएको छैन । तर, नेताहरूले सोचेका होलान् । त्यो बहसको रूपमा आउला । तर, वैकल्पिक शक्तिको जरुरत पर्‍यो भने हामी एक बन्न सक्छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved