पत्रकारलाई धम्की दिएको घटनाको महासंघले गर्‍यो भर्त्सना

नेपालभ्युज

पत्रकारलाई धम्की दिएको घटनाको महासंघले गर्‍यो भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार चाँदनी आचार्यलाई समाचारको विषयलाई लिएर धम्की दिएको घटनामा संलग्नको पहिचान गरी कानूनी कारबाही गर्न माग गरेको छ ।

महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान उपाध्यक्ष एवं गोरखापत्र दैनिकका कैलाली संवाददाता आचार्यलाई समाचारको विषयलाई लिएर मानसिक तनाव दिने, धम्की दिने र प्रशासनिक झमेला दिनेजस्ता कार्य भइरहेको भन्दै महासंघले  भर्त्सनासमेत गरेको छ ।

खोज पत्रकारिता केन्द्रले गत फागुनमा प्रकाशित गरेको ‘ब्याजको बोझले सिध्याएको गाउँ’ शीर्षकमा पीडितसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रसारण भएपछि पत्रकार आचार्यलाई मिटर ब्याजी समूहले मानसिक तनाव दिने, धम्क्याउने तथा प्रशासनिक हैरानी दिनेजस्ता कार्य गरिरहेको महासंघले जनाएको छ ।

‘प्रकाशित समाचारप्रति कुनै गुनासो भए त्यस उपर कानूनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई त्यस प्रकारले धम्की र मानसिक यातना दिने काम अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम हो’, महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । महासंघले प्रेस स्वतन्त्रता विरोधी त्यस्ता कार्यमा संलग्नको पहिचान गरी तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि सम्बन्धित निकायसँग माग गरेको छ । रासस


Comment

One thought on “पत्रकारलाई धम्की दिएको घटनाको महासंघले गर्‍यो भर्त्सना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved