मन्त्रालय फुटाउने योजना छैन, न्यूनतम साझा कार्यक्रम छिट्टै आउँछः गृहमन्त्री लामिछाने

नेपालभ्युज

मन्त्रालय फुटाउने योजना छैन, न्यूनतम साझा कार्यक्रम छिट्टै आउँछः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाउने योजना नरहेको बताएका छन् । बुधबार सत्ता साझेदार दलका शीर्ष नेताहरुले बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि उनले उक्त कुरा बताएका हुन् ।

सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँडबारे पनि छलफल भएको उनले जानकारी दिए ।

भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नीति तथा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ, पर्सीसम्म सार्वजनिक हुनसक्छ ।’

मन्त्रालय फुटाउने बारे सोधिएको प्रश्नमा उनले भने, ‘बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन, यो कहाँबाट आयो हामीलाई थाहा छैन, त्यसतर्फ जाने कुनै तयारी पनि छैन ।’

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।

उनले भने, ‘हामीले निर्देशन मात्रै दिएका छैनौँ, त्योसँगै योजना पनि बनाएका छौँ, त्यसको अपडेट पनि छ, निर्देशनसँगै विज्ञ टोलीसँग छलफल पनि गरिरहेका छौँ, तत्कालीन र दीर्घकालीन समाधान खोज्नेबारे पनि छलफल भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved