कांग्रेस संसदीय दलको नेतामा देउवालाई युवा नेता थापाको टक्कर, कस्तो छ अंकगणित ?

कांग्रेससँग ८९ सिट छ । यसरी हेर्दा संसदीय दलको नेता चुनिन कम्तीमा ४५ सांसदको समर्थन चाहिन्छ । नेता बन्न ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ । मोटामोटीरूपमा हेर्दा देउवा नै बलिया देखिन्छन् । तर चुनावमा जे पनि हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

नेपालभ्युज

कांग्रेस संसदीय दलको नेतामा देउवालाई युवा नेता थापाको टक्कर, कस्तो छ अंकगणित ?

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन बुधबार (भोलि) हुँदैछ । उम्मेदवारका रूपमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा खडा भएका छन् ।

देउवा संस्थापन पक्षबाट र थापा संस्थापनइतर पक्षबाट संसदीय दलको नेताका लागि उम्मेदवार बनेका छन् । यसबाहेक अन्य नेताहरू पनि संसदीय दलको नेता बन्न आकांक्षी थिए । पहिले छुट्टै गुट चलाएपनि अहिले देउवाकै सम्पर्कमा रहेका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले पनि संसदीय दलको नेतामा आकांक्षा देखाएका थिए । तर, उनीहरूको व्यवस्थापन गरेर देउवा उम्मेदवार बनेका हुन् ।

यस्तै संस्थापनइतर पक्षबाट पनि थापाका अतिरिक्त नेता डा. शेखर कोइराला पनि संसदीय दलका नेताको आकांक्षी थिए । तर, थापासँगको लामो संवादपछि उनले महामन्त्री थापालाई नै प्रस्ताव गरेका छन् ।

पार्टीको १५औं महाधिवेशनमा सभापतिमा आफूलाई समर्थन गर्नेगरी कोइराला थापाको प्रस्तावक बनेको बताइएको छ । यद्यपि कोइरालाले आफू पुस्तान्तरणसहितको परिवर्तनको पक्षमा रहेकाले थापालाई प्रस्ताव गरेको बताएका छन् ।

यससँगै अब संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

०७४ सालमा संसदीय दलको नेतामा शेरबहादुर देउवा र अहिले उनकै खेमामा रहेका नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला कांग्रेससँग प्रतिनिधि सभामा ६३ सिट रहेको थियो । जहाँ, देउवा ४४ मत प्राप्त गर्दै संसदीय दलको नेता चुनिँदा सिंह १९ मतमा सीमित हुनुपरेको थियो ।

यसपटक भने कांग्रेससँग ८९ सिट छ । यसरी हेर्दा संसदीय दलको नेता चुनिन कम्तीमा ४५ सांसदको समर्थन चाहिन्छ । नेता बन्न ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ ।

मोटामोटीरूपमा हेर्दा देउवा नै बलिया देखिन्छन् । तर चुनावमा जे पनि हुन सक्ने कांग्रेस नेताहरु बताउँछन्। ८९ सांसदमध्ये ५५ जना देउवाको कित्तामा देखिन्छन् । यो भनेको ६१.७९ प्रतिशत हो । बाँकी ३८.२० अर्थात् ३४ सांसद भने संस्थापनइतर पक्षमा छन् ।

यस्तो अवस्थामा संसदीय दलको नेता निर्वाचित हुन थापाले कम्तीमा ११ सांसद तान्नुपर्ने हुन्छ । यो सम्भव छ त ? भन्ने जिज्ञासामा सहमहामन्त्री जीवन परियार भन्छन्, ‘यो सक्ने वा नसक्ने भन्दा पनि परिवर्तनमाथिको कदम हो । उहाँहरू आफ्नै विवेकले चल्नुहोला नि ।’

आ-आफ्नै दाबी

संस्थापनपक्षीय सांसद एनपी साउद भन्छन्, ‘मिलेसम्म अझै सहमति जुटाएर जान्छौँ ।’ त्यसो त साउदले भनेझैँ मिलेरै अगाडि बढ्ने सम्भावना भने कम छ । त्यो सम्भव छ भन्ने नेपालभ्यूजको जिज्ञासामा उनी भन्छन्, ‘त्यो प्रयास अहिले पनि जारी छ । पार्टीभित्र सहमति खोज्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । सम्भव पार्न सकिन्छ/सकिँदैन, प्रयासचाहिँ गर्छौँ ।’

यद्यपि उनी गगन थापा नै ‘ब्याक’ हुनुपर्छ भन्नेमा छन् । ‘स्वाभाविकरूमा पार्टी सभापति उम्मेदवार बन्दैगर्दा उहाँलाई नै सहज बनाइदिइयो भने त्यो राम्रो हुन्छ । अरुको पालो त पछि पनि आउँछ नि !’

प्रतिस्पर्धा नै भएपनि देउवाले नै जित्ने उनी बताउँछन् । ‘प्रतिस्पर्धा नै भएपनि सभापतिजीले नै सहजरूपमा जित्नुहुन्छ ।’

संस्थापनइतर पक्षका सांसद चन्द्र भण्डारी पनि सहमतिबाटै जान पाए हुन्थ्यो भन्नेमा पक्षमा छन् । यद्यपि त्यहाँ सहमति भने जायज हुनुपर्ने उनको भनाइ छ । ‘युगले मागेको निर्णय गरेर अगाडि जान पाए हुन्थ्यो,’ उनले भने ।

गगन थापा बनाइनुपर्छ भन्ने तपाईंको धारणा हो ? भन्ने प्रश्नमा भने, ‘मैले युगले मागेको भनेर तपाईंलाई भनेको छु । आफैँ बुझ्नुस् ।’

यस्तो छ अंकगणित

संस्थापन पक्षबाट प्रत्यक्षतर्फ ३३ सांसदले जितेका छन् ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायरलगायतले संस्थापन पक्षबाट प्रत्यक्षतर्फ जितेका छन् ।

यस्तै रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खुमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का पनि संस्थापन पक्षकै मानिन्छन् ।

संस्थापन पक्षबाटै समानुपातिकतर्फ २२ सांसद छन् । जसमा शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र अञ्जनी श्रेष्ठ छन् ।

यस्तै इतर पक्षबाट प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदको संख्या २४ छ । डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईंलगायतले संस्थापनइतर पक्षबाट प्रत्यक्षतर्फ जितेका छन् ।

यस्तै राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे पनि संस्थापन इतर पक्षका मानिन्छन् ।

यसैगरी संस्थापनइतर पक्षबाट समानुपातिकतर्फ सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल सांसद बनेका छन् ।

संस्थापन पक्षमा रहेको भनिएकामध्ये प्रदीप पौडेल लगायतका केही नेता गगन थापाको पक्षमा लागेका छन् । पौडेल गगनको समर्थक नै बसेका छन् । उनी कृष्ण सिटौला निकट हुन् । यता इतर पक्षमा रहेका केही सांसद संस्थापनसँग सम्वादमा रहेको बताइन्छ । त्यसैले कांग्रेस संसदीय दलको चुनाव रोचक हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved