लुम्बिनी। नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केबुलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएका छन्।
निरीक्षणका क्रममा मुख्यसचिव वैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए। उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथासक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे ।
उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १/२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए।
उनले केवलकारको झन्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए।
“अबको १/२ महिनापछि केबुलकार सञ्चालनमा आउँछ। तर, बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ। केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुका साथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ।’
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीको विश्वास कम्पनीको रहेको छ।
Facebook Comment
Comment