अमेरिकी फ्रिडम पार्टीसँग रवि लामिछानेको दलको नाम मिल्नु आपत्तिजनक विषय हो ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनावचिन्ह घन्टी अमेरिकी फ्रिडम पार्टीसँग मिलेको तर्फ संकेत गर्दै त्यसभित्र कुनै रहस्य हुन सक्ने आरोप लगाएका छन् । लगत्तै, माओवादीका महासचिव देव गुरुङले रास्वपाको उदयमा विदेशी बहुराष्ट्रिय कम्पनी र एकाधिकार पुँजीवादको भूमिका हुन सक्ने आशंका गरेका छन्।

अमेरिकी फ्रिडम पार्टीसँग रवि लामिछानेको दलको नाम मिल्नु आपत्तिजनक विषय हो ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनावचिन्ह घन्टी अमेरिकी फ्रिडम पार्टीसँग मिलेको तर्फ संकेत गर्दै त्यसभित्र कुनै रहस्य हुन सक्ने आरोप लगाएका छन् ।

त्यसको लगत्तै, माओवादी केन्द्रका महासचिव देव गुरुङले रास्वपाको उदयमा विदेशी बहुराष्ट्रिय कम्पनी र एकाधिकार पुँजीवादको भूमिका हुन सक्ने आशंका गरेका छन्। गुरुङले भनेका छन–‘एकाधिकार पुँजीवादको सहयोग नभई रातारात पार्टी बन्ने र चुनाव जित्ने कसरी हुन सक्दछ।’

त्यसो त ओली र गुरुङले मात्रै हैन, सामाजिक सञ्जालका प्रयोगकर्ताले समेत ‘अमेरिकी फ्रिडम पार्टी’ को लोगो र चुनावचिन्ह पोष्ट गर्दै रवि लामिछानेलाई व्यंग गरेका छन्। पोष्ट गरिएको लोगोमा चुनावचिन्ह घन्टीमाथि पार्टीका तीन विश्वास– लिवर्टी, सोर्भेन्टी र आइडेन्टिटी लेखिएको देखिन्छ।

अमेरिका बसेर आएका पत्रकार रविको ‘नागरिकता विवाद’ समेत सार्वजनिक भइरहेको छ। रवि र अमेरिकी फ्रिडम पार्टी बीच कुनै सम्बन्ध छ कि भनेर आंशका गर्नेहरु बढ्न थालेका छन्।

कस्तो हो फ्रिडम पार्टी ?

अमेरिकी फ्रिडम पार्टी १२ बर्ष अघि सन् २०१० मा स्थापना भएको एक राजनीतिक दल हो । यो श्वेत सर्वोच्चतामा विश्वास गर्ने दक्षिणपन्थी लोकरिज्याइँवादी दल हो । सन् २००८ को वित्तिय संकट ताका राष्ट्रपति बाराक ओबामाका आर्थिक नीतिहरुको आलोचना गर्ने अभियन्ताले यो पार्टी स्थापना गरेका हुन् । यसको सुरुवात क्यालिफोर्नियाबाट भएको थियो ।

सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा यस पार्टीले पहिलोपटक उम्मेदवारी दिएको थियो । उसले असाध्यै न्यून देशभरिबाट २ हजार ३०७ भोट मात्रै पाएको थियो । यो दलको भूमिका, स्थान र भविष्यबारे अमेरिकी समाजले खासै चाखो राखेको पाइन्न । यो एकदमै सानो दल हो ।

नाम मिल्नु संयोग कि सहयोग ?

हालै स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनावचिन्ह अमेरिकी फ्रिडम पार्टीसँग मिल्नु संयोग हो कि यसभित्र कुनै रहस्य छ ? यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै उत्तर दिएको छैन ।
हुनत ‘फ्रिडम’ र ‘स्वतन्त्र’ शब्दको अर्थ उस्तै हैन । ‘फ्रिडम’ ले वैचारिक तथा दार्शनिक तहमा ‘स्वतन्त्रता’ भन्ने अर्थ दिन्छ ।

सायद रवि लामिछाने नेतृत्वको पार्टीले प्रयोग गरेको ‘स्वतन्त्र’ को अर्थ ‘फ्रिडम’ नभएर अंग्रेजीको ‘इन्डिपेन्डेन्ट’ हो । रवि लामिछानेको अभियान गत स्थानीय चुनावमा आएको स्वतन्त्र उम्मेद्वारको लहरबाट प्रभावित देखिन्छ ।

नाम र चिन्ह मिल्नु कति आपत्तिजनक ?

पार्टीहरुको नाम, चुनाव चिन्ह र विचारधारा मिल्नु खासै आपत्तिजनक कुरा भने हैन । नेपालका मूलधारका दुवै ठूला दल ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ विचार र नामका दृष्टिकोणले अन्तर्राष्ट्रिय ब्राण्ड हुन् ।

कांग्रेस नाम गरेका थुप्रै पार्टी संसारका धेरै देशमा छन् । जस्तो अफ्रिकी कांग्रेस, भारतीय राष्ट्रिय कांग्रेस आदि । ‘कम्युनिष्ट’ शब्द झनै अन्तर्राष्ट्रिय हो । यसको झण्डा, चिन्ह, मागदर्शक सिद्धान्त, पार्टी गीत र अभिवादन गर्ने तरिका सबै अन्तर्राष्ट्रिय हुन्छ ।

संसारका सबै कम्युनिष्ट पार्टीहरुले कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा निकालेको ‘घोषणापत्र’ लाई वैचारिक आधार मान्दछन् । कार्ल मार्क्स, फ्रेडरिख एंगेल्स, लेनिन, स्टालिन र माओको फोटोलाई ‘पाँच प्राधिकार’ का नाममा पूजा गरिन्छ ।

कम्युनिष्टहरुको पार्टी गीत ‘उठ जाग भोका नाङा’ फ्रान्सेली कवि युजे पोतरले लेखेका थिए । दाहिने हातको मुठ्ठी उज्याएर ‘लाल सलाम’ गर्नु कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय ‘सेलुटेसन’ हो । विश्वभरिकै कम्युनिष्ट पार्टीको झण्डामा अपवादलाई छाडेर हसियाँहथौडा हुन्छ ।

कांग्रेस, र कम्युनिष्ट पार्टी मात्रै हैन, अरु थेरै पार्टीको बीचमा पनि यस्तो समानता हुन्छ । जस्तो लेवर र वर्कस पार्टीहरुको पनि भिन्नै विश्व परम्परा छ । वेलायतको कन्जर्भेटिभ पार्टीसँग वैचारिक सामिप्यता राख्ने युरोपमा थुप्रै पार्टी छन्।

कम्युनिष्ट नेताहरुको आपत्ति किन ?

एमाले र माओवादी केन्द्र आफै विश्व कम्युनिष्ट आन्दोलन, विचार, परम्परा र प्रचलनसँग नजिकबाट जोडिएका पार्टी हुन् । रवि लामिछाने नेतृत्वको पार्टीको नाम, चुनावचिन्ह र विचार अमेरिकी फ्रिडम पार्टीसँग मिल्यो नै भने पनि त्यसमा आपत्ति हुनु पर्ने कुनै कारण देखिन्न ।

हो, कुनै पनि पार्टीहरुको स्थापना र विकासमा अन्तर्राष्ट्रिय अपारदर्शी लगानी र घुसपैठ छ भने त्यो चाहिँ आपत्तिजनक हुन्छ । तर, समान विचार भएका पार्टीहरु बीचको अन्तर्राष्ट्रिय सम्बन्ध विश्वभरी नै स्वभाविक र सामान्य मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved