‘अब बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ’

राष्ट्रिय राजनीतिको मियो भएकाले अवको सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने छ त्यसमा दुई मत छैन ।

नेपालभ्युज

‘अब बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्छ’

काठमाडौं। निर्वाचन परिणाम आएसँगै दलहरूले सत्ता समीकरणका लागि पहल थालेका छन् । सरकारको नेतृत्वका लागि सत्ता गठबन्धनबाट कांग्रेस र माओवादी केन्द्र दाबेदार देखिन्छन् ।

सबैभन्दा ठुलो दल भएकाले सरकारको नेतृत्व आफुले पाउनुपर्ने कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला पन्त चुनावी परिणामले दलहरु नयाँ ढंगले अघि बढ्नुपर्ने सन्देश दिएको बताउँछिन् ।

चुनावी नतिजा र अबको सत्ता समीकरणबारे केन्द्रीय सदस्य पन्तसँग नेपालभ्युजकर्मी प्रकाश बस्यालले कुराकानी गरेका छन् ।

निर्वाचनको समीक्षा गर्नुभयो त ?

निर्वाचन भनेको एउटा सुन्दर पक्ष हो । निर्वाचनमा उठेपछि हार वा जित त भइहाल्छ । यसको समीक्षा त सम्बन्धित उम्मेदवार र जिल्ला नेतृत्वले गर्ला । मैले आन्तरिक रूपमा बुझ्दै छु ।

निर्वाचनको दौडधुप बल्ल सकियो गहन समीक्षा बाँकी नै छ । तर, परिणामलाई सरसर्ती हेर्दा जनताले पुराना र ठूला दललाई सच्चिने अवसर दिएका हुन् ।

गत निर्वाचनपछि सरकारले स्थायित्व लिन सकेन, संघ र प्रदेश सरकारहरू परिवर्तन भए  र संसद् पनि  भंग भयो । सबै दल शक्ति सञ्चय र सरकार सञ्चालनमै केन्द्रित हुँदा जनताका कामले प्राथमिकता पाएनन् ।

जसको जवाफ जनताले भोटमार्फत दिएका छन् । पुराना दलहरूले विश्वास कायम राख्न नसकेपछि जनाताले नयाँलाई रोजेका छन् ।

सत्ता समीकरण कस्तो बन्ला ?

अबको सरकार गठबन्धनकै बन्छ, त्यसमा दुई मत छैन । गठबन्धन दलका शीर्ष नेताहरू अहिले छलफलमा हुनुहुन्छ । निर्वाचनमा जानुअघि पनि हामीले गठबन्धनलाई निरन्तरता दिने भनेका थियौँ ।

अहिले पनि हामी गठबन्धनलाई कसरी कायम राख्ने भन्नेमा छलफल गरिरहेका छौँ । निर्वाचनका बेला देशमा स्थायित्व कायम गछौँ, संसद भंग गर्दैनौँ भनेर प्रतिबद्धता गरेका थियौँ । अब प्रतिबद्धता पूरा गर्ने समय आएको छ ।

गठबन्धनको लाभ कांग्रेसले मात्रै लिनुपर्ने हो कि अरु दलको नेतृत्व पनि कांग्रेसले स्वीकार गर्छ ?

गठबन्धनले सोचेअनुसारको परिणाम नआए पनि यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । २०७४ को तुलनामा यो पटकको परिणामलाई कांग्रेसले सफलता मानेको छ ।

नेपाली कांग्रेसले पाएको मत हेर्दा, पहिलो पार्टी बन्ने निश्चित छ । यसबीचमा उदाएका नयाँ दलले पनि राम्रो मत पाएका छन् । यसलाई हेर्दा अबको संसदमा नयाँ समीकरण देखिन्छ ।

यी सबै परिस्थितिलाई मिलाएर लैजाने दायित्व नेपाली कांग्रेसमा आएको छ । जनताको भावना र चाहना सँगै परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने छ । राष्ट्रिय राजनीतिको मियो भएकाले अवको सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने छ त्यसमा दुई मत छैन ।

कांग्रेसको नेतृत्वसँग असन्तृष्टि र आलोचना तीव्र छ नि ?

नेपाली कांग्रेसको नेतृत्वलाई असक्षम भन्न मिल्दैन । सबै परिणाम आइसकेपछि पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्ला, संसदीय दलको पनि बैठक बसेर एउटा निर्णयमा पुग्छ ।

राष्ट्रिय राजनीतिको जुन परिदृश्य अहिले देखिएको छ त्यसमा आफू पनि अलिकति सच्चियर नयाँ ढंगले कांग्रेस जानुपर्छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने दौडमा हुनुहुन्छ । कांग्रेसले कसलाई नेता बनाउनुपर्छ जस्तो लाग्छ ?

प्रधानमन्त्री जी अनुभवी हुनुहुन्छ, उहाँ सिनियर पनि हुनुहुन्छ, त्यसैगरी पार्टीका महामन्त्री युवा हुनुहुन्छ । उहाँसँग नयाँ सोच छ र रूपान्तरणको एजेन्डा पनि छ । पार्टीको विधानअनुसार संसदीय दलको नेता चयन हुन्छ ।

तर, दुवै नेता छलफलमै रहेकाले अहिल्यै केही भन्न मिल्दैन । अर्को कुरा म सांसद् पनि छैन त्यसैले यो मेरो विषय पनि परेन । तर, पार्टीमा छलफल भइरहेको छ । आवश्यक परे छलफललाई अझ फराकिलो बनाएर पार्टीले निर्णय लिन्छ ।

अब बन्ने सरकारका चुनौती के-के देख्नुहुन्छ ?3

जनतालाई चाहिएको विकास हो । जनताले चाहेको शिक्षा, स्वाथ्य, खानेपानी, विद्युत्, बाटोघाटो हो । अहिले पनि कैयौं जनता यसको पहुँचबाट बाहिर छन् । सरकारले सबैभन्दा पहिले विकासलाई प्राथमिकता दिनुपर्‍यो ।

बेरोजगारीको समस्या विकाराल छ । अर्थतन्त्र ओरालो लागेकै छ । आर्थिक वृद्धिमा तरलता देखापरेको छ । यि विषय पुरानै हुन्, तर अब बन्ने सरकारका चुनौती पनि यही नै हो । यसलाई समाधान गर्न त सबै दलबीच राष्ट्रिय सहमति गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ ।

तपाईंलगायत कतिपय नेता संसद छिर्न पाउनुभएन, एक किसिमको तुष त होला नि ?

टिकटको अपेक्षा थियो, तयारी पनि गरेका थियौँ तर सबैले अवसर पाउने कुरा भएन । त्यसमाथि पनि हामी गठबन्धनमा भएकाले सीमित सिट थियो । तर, हामी के चाहन्छौँ भने जो जितेर जानुभएको छ, उहाँहरूले संसद् चलाउनुपर्छ ।

जो पार्टीभित्र छौँ, संसदमा जाने अवसर पाएनौँ त्यसलाई पार्टीभित्र जिम्मेवारी दिनपर्‍यो । संगठनको जिम्मेवारी लिएर जनताको बीचमा जान्छौँ । संसद् र सरकारले दिएको डेलिभरी जोड्ने भनेको त संगठनले हो नि । त्यो जिम्मेवारी हामीजस्ता साथीहरूले पाउनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved