तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे ८ अर्ब

नेपालभ्युज

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे ८ अर्ब

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो ।

सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू समेटिएको विवरण अनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गत आव २०७८/७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved