नयाँ सरकार बन्नुअघि वाम गठबन्धनको सम्भावना हुन सक्छ : माओवादी नेता गुरुङ

‘राजनीति हो, असम्भव भन्ने केही हुँदैन । सबैसँग संवाद र छलफल हुन्छ । कोसँग सहज समीकरण बन्छ, त्यहीसँग समझदारी बन्छ, त्यहीसँग राष्ट्रिय सहमति बन्छ । कसैले हुन्छ भनेर हुने र कसैले हुँदैन भनेर नहुने कुरा पनि होइन ।’

नेपालभ्युज

नयाँ सरकार बन्नुअघि वाम गठबन्धनको सम्भावना हुन सक्छ : माओवादी नेता गुरुङ

काठमाडौँ ।  केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेपनि दलहरूले आ-आफ्नो राजनीतिक हैसियत थाहा पाइसकेका छन् । नयाँ सरकार गठनका लागि दौडधुप पनि सुरू भइसकेको छ ।

विगतका चुनावहरूमा जस्तै नेकपा (माओवादी केन्द्र) तेस्रो शक्तिमा कायमै भने नेपाली कांग्रेस र नेकपा (एमाले) क्रमशः पहिलो र दोस्रो शक्ति बनेका छन् ।

नयाँ सरकार कस्तो र कसको नेतृत्वमा बन्छ (?) भन्ने विषय आमचासोको विषय बनेको छ । कांग्रेस र एमाले दुवैले आफ्नो नेतृत्वमा सरकार गठन गर्न संवाद अगाडि बढाएका छन् । यसबीचमा ठूला दलका शीर्षस्थ नेताबीच एकचरणको छलफलसमेत भइसकेको छ ।

उसो त विगतमा जस्तै माओवादी केन्द्र पुनः निर्णायक देखिन्छ । ऊ जुन कित्तामा उभिन्छ, उसकै सरकार बन्ने निश्चितप्रायः छ । प्रत्यक्षमा १७ सिट जितेको माओवादी केन्द्रबिना कांग्रेस-एमालेलाई बहुमत पुर्‍याउन सकस छ ।

यस्तो अवस्थामा अब माओवादी के गर्छ ? हामीले महासचिव देवप्रसाद गुरुङसँग संवाद गरेका छौँ ।

नयाँ सरकार गठनमा सत्ता गठबन्धनको एउटा महत्त्वपूर्ण घटक नेकपा (माओवादी केन्द्र) को भूमिका कस्तो रहन्छ ?

माओवादी केन्द्र तेस्रो ठूलो दल/शक्ति हो । यो मानेमा सरकार गठनमा उसको भूमिका महत्त्वपूर्ण रहने नै भयो । देश, जनता र व्यवस्थामा सम्झौता नगरीकन माओवादी केन्द्र नयाँ सरकार गठन गर्न चाहन्छ । 

अब सबै निर्वाचन क्षेत्रहरूका मतपरिणाम आइसकेको छैन । आइसकेपछि गठबन्धनको समीक्षा बैठक बस्छ । त्यसपछि भावी दिनमा कसरी अगाडि जाने भन्नेबारे निर्णय गर्छ । यसपछि मात्रै हाम्रो भूमिका पनि प्रष्ट हुन्छ ।

तैपनि हामीले अहिले रचनात्मक सहयोग गर्नेछौँ भनेर भन्दिँदा केही हुँदैन । समृद्धि चाहने र जनताको सेवामा रहन हर्दम प्रयास गर्ने एउटा दल हुनुको नाताले जनपक्षीय सरकार गठनमा माओवादी केन्द्र सधैँ साथमै छ ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास थालेको देखिन्छ, यसलाई माओवादीले कसरी हेरिरहेको छ ?

संविधानअनुसार स्वाभाविकरूपमा ठूलो दलले सरकार गठनको प्रक्रिया थाल्नुपर्छ । तर, त्यसो हुँदा पनि राष्ट्रको हित र राष्ट्रिय सहमतिलाई भने भुल्न हुँदैन । कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरामा त अब देखिएला । अहिल्यै यही हो भन्ने ठाउँ छैन ।

संविधानको धारा ७६ अनुसारका प्रक्रियाहरू अघि बढ्नुपर्छ । त्यसअनुसार जाँदा दलहरूबीच एकखाले सहमति होला । राष्ट्रिय सहमति जुटेपछि त सरकार बनिहाल्छ । अब कसको नेतृत्वमा बन्छ ? भन्ने प्रश्नको जवाफचाहिँ मसँग अहिल्यै छैन ।

माओवादी केन्द्र पनि सरकारको नेतृत्व पाउनुपर्छ भन्नेमा हो ?

जसको नीति, उसकै नेतृत्व भनेर त हामीले अहिलेमात्रै भनेका होइनौँ । यसो हुँदा आफ्नो मुद्दामा देश चल्दैगर्दा माओवादी केन्द्रले किन नेतृत्व नलिने भन्ने त छँदैछ ।

सम्भावनाहरू त बाँकी नै छन् । जनपक्षीय सरकार बन्दैगर्दा त माओवादी केन्द्रले पनि त दाबी गर्ने नै भयो नि । यसलाई सामान्य एउटा प्रक्रियाको रूपमा लिनका लागि म अनुरोध पनि गर्छु । हामीले गठबन्धन हुँदैगर्दा पनि देश र जनताका मुद्दालाई विशेषरूपमा समेट्नुपर्छ भनेका छौँ । यही मार्गबाट हामी अगाडि बढ्नेछौँ ।

यसरी अगाडि बढ्दा देखिने सम्भावना र सहमितहरूलाई स्वीकार्दै हामी सरकार गठनको तहसम्म पुग्नेछौँ । त्यसबेला कस्तो चित्र देखिन्छ, सोहीअनुरूप हामी अगाडि जान्छौँ । दाबीको कुरा त हुने नै भयो ।

नयाँ सरकार यही गठबन्धनकै बन्ने हो कि ? समीकरण परिवर्तन हुन्छ ?

हामी सबैले गठबन्धनकै सरकार बनाउने भनेर त भनेका हौँ । अब थप छलफल सबै मतपरिणाम आइसकेपछि होला । त्यसपछि नै अघि बढ्ने कुरा हो यो ।

वाम गठबन्धनको कुरा पनि सतहमा आएको छ, यो सम्भावना कति टाढा वा नजिक हो ? यसलाई तपाईंले कसरी लिनुभएको छ ?

राजनीति हो, असम्भव भन्ने केही हुँदैन । सबैसँग संवाद र छलफल हुन्छ । कोसँग सहज समीकरण बन्छ, त्यहीसँग समझदारी बन्छ, त्यहीसँग राष्ट्रिय सहमति बन्छ । कसैले हुन्छ भनेर हुने र कसैले हुँदैन भनेर नहुने कुरा पनि होइन । आपसी सहमतिको आधारमा हुने कुरा हो ।

कसैको इच्छा, आकांक्षा र दाबीविरोधमा हुन्छ भन्ने मलाई लाग्दैन । अब बन्ने सरकारले मुलुकको स्वाधीनतालाई नै केन्द्रविन्दु नबनाएर इगोको कारणले निषेधको राजनीति गरे मुलुक गम्भीर दुर्घटनामा पर्नसक्छ । निर्दलवादी हाबी हुनसक्छन् । ती शक्तिहरू क्षणिकको ह्वीमको आधारमा आएकाले त्यो दीगो हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved