नेकपा विभाजनका बेला एमालेमै रहेका पूर्वमाओवादी नेता असन्तुष्ट, पुरानै पार्टीमा फर्केलान् ?

माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, दावा लामा, गौरीशंकर चौधरीसहितका नेता एमालेमै रहे । नेकपा फुट्दा उनीहरू मन्त्रीकै हैसियतमा एमालेमा रहेपनि धेरै अहिले असन्तुष्ट देखिन्छन् । 

नेकपा विभाजनका बेला एमालेमै रहेका पूर्वमाओवादी नेता असन्तुष्ट, पुरानै पार्टीमा फर्केलान् ?

काठमाडौं । २०७४ सालमा बनेको वाम गठबन्धन ०७७ फागुन २३ गते फुट्यो । ०७४ जेठ ३ गते दुई ठूला वामपन्थी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः ३ वर्ष पनि नपुग्दै छिन्नभिन्न अवस्थामा पुग्यो । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको व्यक्तिगत तिक्तताकै कारण नेकपा फुट्दा कतिपय प्रभावशाली नेता आफ्नो पूर्वदलमा फर्किएनन् ।

माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, दावा लामा, गौरीशंकर चौधरीसहितका नेता एमालेमै रहे । नेकपा फुट्दा उनीहरू मन्त्रीकै हैसियतमा एमालेमा रहेपनि धेरैजसो अहिले असन्तुष्ट देखिन्छन् ।

त्यसबेला गृहमन्त्री रहेका रामबहादुर थापा माओवादी केन्द्रमा पनि उपल्लो तहमा थिए । उनी एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्ष भए । तर, यो पटक चुनाव लडेनन् । पार्टीले काठमाडौं १० बाट टिकट दिएपनि उनले त्यसलाई अस्वीकार गरे । यसपछि एमाले नेताहरूले ‘उहाँको क्षमताचाहिँ के हो भनेर छुटाउनै गाह्रो भयो’ भनेर व्यङ्ग्य गर्ने गरेका छन् ।

एमालेका एक नेताले भने, ‘उहाँले पार्टीले दिएको टिकट अस्वीकार गर्नुभयो । पार्टीले सबैलाई समान अधिकार दिएर अगाडि जाने भनेकै हो । उहाँ कस्तोखाले नेता हो भन्ने नै पत्ता लागेन ।’ थापाको निर्वाचन क्षेत्र चितवन २ हो । उनले पहिलो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए ।

टोपबहादुर रायमाझीले भने यसपटक चुनाव जितेका छन् । एमालेको सौराहा महाधिवेशनबाट सचिव बनेका उनले पुरानै क्षेत्रबाट चुनाव जितेका हुन् । पार्टी परिवर्तन गरेपछि अर्घाखाँचीबाटै उम्मेदवार बनेका उनले नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गरे ।

उनी पूर्वमाओवादी ‘लिगेसी’ बोकेका एमाले नेतामध्येका सन्तुष्ट नेता हुन् । उनका सार्वजनिक अभिव्यक्तिहरूमा पनि यो झल्किन्छन् । चुनावअगाडि उनले भनेका थिए— ‘प्रचण्ड एक्लै हुँदैछन् । मोहन वैद्यदेखि टोपबहादुर रायमाझीसम्मले पार्टी छाड्दा त उहाँ एक्लै हुनुहुन्छजस्तो छ । अब एमाले नै जनताको पार्टी हो ।’

चुनाव जितेपछि बधाई तथा शुभकामना कार्यक्रममा व्यस्त रहेका रायमाझीले नेपालभ्यूजसँग भने, ‘मैले नेकपा (एमाले) बाट चुनाव जितेँ । म एमालेको एउटा बफादार कार्यकर्ता हुँ, नेता हुँ । यसभन्दा मलाई भन्नु केही छैन, विगत सम्झिनु छैन ।’

१०औं महाधिवेशनबाटै सचिव बनेका लेखराज भट्ट कैलाली ४ बाट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका छन् । पार्टीका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट बालायरसँग ५८४ मतले मात्रै हारे । आफूलाई आवधिक निर्वाचनको हारले तात्विक फरक नपर्ने भट्ट बताउँछन् । उनी भन्छन्, ‘सधैँको हार होइन यो । संविधानअनुसार ५/५ वर्षमा हुने आवधिक निर्वाचनको पराजयबाट पाठ सिक्ने हो । यसलाई ठूलोरूपमा लिनुहुन्न ।’

नेकपा फुट्दा एमालेमै रहेका प्रभु साहले भने निर्वाचनअगावै पार्टी छाडे । उनले आफ्नै निर्वाचन क्षेत्र रौतहट ३ बाट चापाकल चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिए । अन्ततः चुनाव जिते पनि । सत्ता गठबन्धनको समेत समर्थन पाएका उनले ३२ हजार ४३७ मत ल्याएर निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाशविरुद्ध फराकिलो अन्तर निकाले र चुनाव जिते ।

एमालेबाटै लडेको भए चुनाव जित्न कठिनाइ हुने उनको आकलन थियो । साह भन्छन्, ‘मैले एमालेबाट उम्मेदवारी दिएको भए जित्दिनँ थिएँ । मैले जे गरेँ, ठिक निर्णय गरेँ ।’

चुनावअगाडि उनी एमाले नेतृत्वसँग रुष्ट बनेका थिए । एमालेको सौराहा महाधिवेशनबाट केन्द्रीय सदस्यको भूमिकामा रहेका उनी सुरुवातदेखि नै एमाले नेतृत्वप्रति सकारात्मक थिएनन् । उनले केन्द्रीय सदस्य पनि नबन्ने बताएका थिए । तर, पछि उनीनिकटका नेतालाई एमालेको प्रदेश समितिमा समेटेपछि केन्द्रीय सदस्य बस्न राजी भएका थिए ।

तर, उनले चुनावअगावै त्यो पद त्यागेर स्वतन्त्ररूपमा अघि बढे । ‘मैले सत्ता गठबन्धनको समर्थनमा चुनाव जितेँ । यो समग्र जनताको जित हो,’ उनले भनेका छन् । उनी एमालेभित्र रहेका पूर्वमाओवादी नेता कोही पनि खुसी नरहेको बताउँछन् । ‘एमालेमा रहेका पूर्वमाओवादी नेता साथीहरू कोही पनि खुसी हुनुहुन्न । यसका धेरै कारणहरू हुनसक्छन् । त्यसतर्फ अहिले नजाउँ ।’

उनीहरू पुनः माओवादी केन्द्रमै फर्किने सम्भावना पनि रहन्छ ? भन्ने जिज्ञासामा उनले भने— ‘भन्न सकिन्न ।’

कैलाली ३ बाट चुनाव लडेका गौरीशंकर चौधरी पनि पूर्वमाओवादी ‘लिगेसी’ भएका नेता हुन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट सोही क्षेत्रबाट निर्वाचित भएका उनले यसपटक एमालेको तर्फबाट टिकट पाएपनि चुनाव भने जित्न सकेनन् । उनको असन्तुष्टि छ– ‘एमाले साथीहरूकै कारण चुनाव हार्नुपर्‍यो ।’

उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मतसहित चुनाव जिते । गौरीशंकर भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित हुनुपर्‍यो । उनी एमाले ‘फ्याक्टर’ कै कारण चुनाव हारेको निष्कर्ष निकाल्छन् । ‘नागरिक उन्मुक्ति पार्टी राम्रैसँग आयो र अर्को त एमालेकै कारण पनि चुनाव हारियो । एमालेकै साथीहरूले पनि राम्रो समर्थन गर्नुभएन ।’

आफू सधैँ एमाले-माओवादी केन्द्र पुन:मिलनको पक्षमा रहेको उनको भनाइ छ । उनी एमालेमै रहने सोचमा पनि छैनन् । तपाईं एमालेबाटै अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘अबको राजनीति कसरी अगाडि बढ्छ, पहिले त्यो हेरौँ । म एमालेमै रहन्छु भनेर भन्दिनँ ।’

यसबाहेक रामबहादुर थापाकै नेतृत्वमा एमालेमा सँगै रहेका मणि थापा र दावा लामाले भने टिकट नै पाएनन् । जो नेकपा पूर्ववत् अवस्थामा फर्किँदा मन्त्रीकै हैसियतमा एमालेमै रहेका थिए । मणि थापा भन्छन्, ‘राजनीति मिलिरहेको छैन । कहाँ के, कहाँ के जस्तो भएको छ ।’

उनी यसपटकको निर्वाचनबाट ठूला र पुराना दलले धेरै कुरा सिक्नुपर्ने बताउँछन् । ‘यसपटकको निर्वाचन हेरिरहेको छु । यहाँ दलगत माथापच्चीभन्दा पनि राष्ट्रियरूपमा धेरै पाठहरू सिक्नुपर्ने देख्छु । यसबारे ठूला दलले समीक्षा गर्ने नै छन्,’ उनले भने ।

टिकट नपाएपछि एमाले र एमाले नेतृत्वसँग चिढिएका उनले अबको राजनीति कसरी अगाडि बढाउनुहुन्छ ? भन्ने प्रश्नमा भने बोल्न चाहेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved