कांग्रेसको शेखर–गगन समूहका कारण हामीले हार्‍यौं : माओवादी नेता आचार्य

माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले काँग्रेसको शेखर–गगन समूहले (माओवादी केन्द्र) लाई भोट नहाल्न तलसम्म नै निर्देशन दिएकोले माओवादीले हारेको आरोप लगाए। उनले आफ्नो पार्टीले प्रत्यक्षमा नै ४० सिट माथि जित्ने आकलन गरे पनि त्यसो नभएको बताए।

नेपाल भ्युज

कांग्रेसको शेखर–गगन समूहका कारण हामीले हार्‍यौं : माओवादी नेता आचार्य

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी कांग्रेस र एमालेभन्दा धेरै तल खुम्चिएको छ। अघिल्लो चुनावमा एमालेसँग गठबन्धन गर्दा ३६ सिटमा जितेको माओवादी अहिले पाँच दलीय गठबन्धन गर्दा १७ सिटमा खुम्चिएको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले कांग्रेसको शेखर–गगन समूहले (माओवादी केन्द्र) लाई भोट नहाल्न तलसम्म नै निर्देशन दिएकोले माओवादीले हारेको आरोप लगाए।

उनले आफ्नो पार्टीले प्रत्यक्षमा नै ४० सिटमाथि जित्ने आँकलन गरे पनि त्यसो नभएको बताए। यसै बारेमा न्युज एजेन्सी नेपालले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यसँग कुराकानीको संक्षिप्त अंश।

  • माओवादी केन्द्रले प्रत्यक्षमा ४० सिट जित्ने आँकलन गरेको थियो।
  • नयाँ पार्टीहरूले पाएको जनमत बहकिने खालको जनमत हो। उत्तेजनामा मतदान गर्ने कुरा स्वाभाविक छैन।
  • निर्वाचन परिणामले गठबन्धन तलमाथि हुने देखिँदैन।
  • जनतामा उठेको आक्रोश शान्त पार्न सरकारको नेतृत्व (माओवादी केन्द्र) ले गर्नु अपरिहार्य छ।
  • केपी ओलीका कारण परिवर्तन विरोधी शक्तिहरू सलबलाए।
  • वर्तमान सत्तारुढ गठबन्धनले निरन्तरता पाए सरकार र संसद् पाँच वर्ष नै जान्छ।

निर्वाचनको मत परिणामलाई नेकपा (माओवादी केन्द्र)ले कसरी लिएको छ?

हामीले उठाएको ४८ सिटमध्ये ४० सिट जति आउनपर्दथ्यो भन्ने छ। तर के देखियो भने हामी माओवादीको भोट गठबन्धनका अन्य दलमा खास गरेर कांग्रेसमा, समाजवादीमा सबैतिर सजिलो गरी पर्‍यो।

कांग्रेसको भोट त्यति सजिलै गरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्ने कुरा निर्वाचनको परिणामले देखाउँछ।

यसको गहिरो विश्लेषण त पछि होला। तर, फेरि कांग्रेसको एउटा पक्षले कहीँ न कहीँ हामीलाई भोट नहाल्ने भनेर भनेको भन्ने कुरा काठमाडौं आएपछि त्यो जानकारी पाएँ मैले।

एउटा पक्षले माओवादीलाई भोट नहाल्नू भनेर गर्ने, अर्कोतिर हाम्रो भोट जतिसक्दो पूरै लिने। एक खालको असमाञ्जस्यता जस्तो,  निश्चित रूपले  आशंकाजस्तो उत्पन्न हुने वातावरण त बनेको छ चुनावपछि।

आशंका त रह्यो, तर तोकेरै भन्न सक्नुहुन्छ कांग्रेसले भोट हालेन भनेर ?

परिणामले त्यो देखाउँछ। किनभने मत हिसाब गर्दा माओवादीले ४० जति सिटमा जित्नुपर्थ्यो। आठओटा हाम्रो फुत्किए पनि भन्ने थियो। हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौं।

समानुपातिकमा हाम्रो भोट कति आउँछ त्यो हिसाबले पुरानो जुन पोजिशन थियो हाम्रो त्यो भन्दा यस पटक कम हुन्न भन्ने हाम्रो आकलन। तर,अहिले प्रत्यक्षमा झन्डै आधि भन्दा बेसिको फरक पर्‍यो।

त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रूपले हामीतिर सिफ्ट भएन भन्ने कुरा देखिन्छ।

किन तपाईंहरूलाई भोट सिफ्ट भएन त ?

माथिबाट केही न केही निर्देशन गयो। शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ। अहिले ठ्याक्कै प्रमाण त छैन।

तर, घटनाहरूले त्यस्तो देखाउँछ। कांग्रेसको संस्थापन पक्षले मूलतः इमानदारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ। तर, फेरि अर्को समस्या के रहेछ भने कांग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन।

मासबेस पार्टी हो। मासमा जाँदाखेरी मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो। तर, कांग्रेसको एउटा पक्षले माओवादीलाई जानी बुझिकन भोट नहाल, बरु अरू-अरूसँग हातेमालो गर भन्ने दिशामा गएको हो कि भन्ने घटनाले त्यस्तो देखाउँछ।

संसदमा नयाँ पार्टीहरूको उदय भएको छ, नयाँ पार्टीहरूको उदय हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नयाँ पार्टीहरू आउने कुरा नराम्रो होइन। प्रजातन्त्रको फूलबारी हो। यसमा सबै किसिमका फूलहरू फुल्न पाउँछन्। तर, जनताले विश्वास गर्दा ती नयाँ पार्टीहरूको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाब नगरीकन भोट हाल्ने जुन ट्रेन्ड देखिएको छ नेपालमा यो खतरनाक छ।

किनभने हामीले उनीहरूलाई भोट हाल्ने भनेको त उनीहरूका नीति, कार्यक्रम माथि आधारित भएर हो। व्यक्तिको अनुहार हेरेर होइन। व्यक्तिको अनुहारले त धोका दिन सक्छ।

लिखित प्रतिबद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्र नीति, नेपालको विकाससम्बन्धी उनीहरूको अवधारणा यी सबै कुरालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही खालको फेसबुके विश्लेषणको आधारमा बहकिने जुन चिज देखिएको छ, यो राम्रो छैन।

गठबन्धन कायम रहन्छ रहँदैन ? गठबन्धनको सरकार बन्छ कि बन्दैन ? सरकारको नेतृत्व कसको हुन्छ ? सरकारको नेतृत्वमा दाबी छ कि छैन ?

गठबन्धन तलमाथि पार्ने बारेमा हाम्रो बीचमा कुनै छलफल भएको छैन। गठबन्धन यथावत् नै रहला भन्ने हामी अनुमान गर्न सक्छौँ। एक दुई दिनमा हाम्रो बैठक बस्ला सबै परिणाम आइसकेपछि। त्यसबारेमा गम्भीरतापूर्वक छलफल होला। गठबन्धन तलमाथि हुन्छ भन्ने त देखिन्न।

तर, नेतृत्वको प्रश्नमा त एकचोटी यसमा खुलेरै छलफल गर्नुपर्ने हुन्छ। कांग्रेस भित्र पनि आधा दर्जन मानिसको दाबी छ। हामीले हामी नेतृत्व गर्छौं भन्ने ठाउँमा पनि हाम्रो असाध्यै थोरै छ। माओवादीसँग जनताले आशा गरेका पनि छन्।

प्रचण्डको नेतृत्वमा सरकारमा जानका लागि तपाईंहरूको दाबी हो ?

यो त चुनाव अगाडिको पनि दाबी हो। अहिले पनि हाम्रो दाबी रहन्छ। तर, हाम्रो दाबी यो हदसम्म हुन्न कि हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जान्न। किनभने नेपालजस्तो गरिब देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन।

त्यसैले, अहिले आएको परिणामलाई जोगाएर हामी सरकार सञ्चालनमा, सरकार निर्माणमा त केन्द्रित हुनुपर्छ।

संसदीय अंक गणितमा नेपाली कांग्रेस बाहेकको सरकार हुने भयो भने तपाईंहरू नेकपा (एमाले) सँग सत्ता सहकार्य गर्न तयार हो कि होइन ?

अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौँ। आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरू सलबलाएका छन्। परिवर्तन विरोधी शक्तिहरू, गणतन्त्र मन नपराउनेहरू, सङ्घीयता मन नपराउनेहरू सलबलाइरहेका छन्।

अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौँ कि जान्नौँ भन्ने बारेमा त यो पार्टी भित्रको छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ। हुँदै हुन्न भन्ने कुरा पनि भएन।

एउटा छलफलको विषय हुनसक्छ, तर आजसम्म पार्टीको जुन स्प्रिट छ, निर्णय छ, यसले ओलीसँग एकता गरेर जान दिन्न।

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्ति, निर्णायक शक्तिको रूपमा आएको देखिन्छ, यसलाई कसरी बुझ्ने ?

राप्रपा आउनुको पछाडि त म ओलीजीलाई जोड्छु। यतिका सिट लिएर राप्रपा सदनभित्र आउनुको पछाडि ओलीजीले जुन काँधमा बोकेर हिँड्नुभयो राप्रपालाई। राजेन्द्र लिङदेन र कमल थापालाई बोकेर हिँड्नुभयो। त्यसमध्येका केही मान्छेहरू छचल्किएर आएका हुन्।

आफ्नो तागत, आफ्नो बलबुताबाट आएका होइनन्। ओलीजीले यसको जिम्मा लिनुपर्छ। त्यो त केपी ओलीले बोकेर ल्याउनुभएको हो।

सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) क्लिनस्विप भयो, मधेस प्रदेशमा एक सिट मात्रै आयो, सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी किन कमजोर ?

माओवादीलाई भोट नहाल भन्ने कांग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम गर्‍यो भन्ने देखिन्छ। त्यहाँ हाम्रो पार्टी सुव्यवस्थित रूपमा नचलेको। काँग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभाव यी सबै कारणले त्यहाँको अवस्था त्यस्तो भएको हो।

सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष त्यहाँ सरकार सञ्चालन गर्दा खेरी कति राम्रो कति नराम्रो गर्यो‍ मसिनो गरी मैले बुझेको छैन। तर, जनअपेक्षा अनुसार त्यहाँ काम हुन सकेन।

परम्परागत रूपले नियमअनुसार त काम भयो तर जनअपेक्षा अनुसारका केही कामहरू हामीले सुरुवात गरिदिनुपर्थ्यो। त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको होला।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सङ्ख्याका कारण संसदमा अस्थिरता आउने हो कि भन्ने आशङ्काहरू उब्जिएको विश्लेषण सुनिन्छ, यहाँको भनाइ के छ ? संसद्को अहिलेको अंक गणितले यसको पूर्ण कार्यकालमा कस्तो असर पार्ला ?

पुरानो पाँच दलिय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ। पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरूको बिचमा केही समय नेतृत्व परिवर्तन गरेर भए पनि पाँचै वर्ष जान्छ र जानुपर्छ।

नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रुपैयाँको व्ययभार व्यहोर्न सक्दैन। त्यस कारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ। धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्न सक्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved