विश्वकप फुटबल : क्यामरुन र सर्बिया भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : क्यामरुन र सर्बिया भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा सोमबार क्यामेरुन र सर्बियाबीच प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी विश्वकपमा क्यामेरुन र सर्बिया अल जनुब रंगशालामा भिड्दैछन्। क्यामेरुन र सर्बिया नेपाली समयअनुसार दिउँसो पौने ४ बजे आमने सामने हुनेछन्।

क्यामेरुन र स्विट्जरल्यान्ड आफ्नो पहिलो जित निकाल्दै अन्तिम १६ को सम्भावना कायम गर्न चाहन्छन्। पहिलो खेलमा क्यामेरुन स्विट्जरल्यान्डसँग १–० ले पराजित भएको थियो।

सर्बिया भने ब्राजिलसँग २–० ले पराजित भएको थियो। पराजित दुवै टोली गर वा मरको अवस्था छन् । आजको खेलमा पराजित भएको टोलीको नकआउट चरण पुग्ने सम्भावना न्यून हुनेछ।

अंकविहिन क्यामेरुन समूह जीको तेस्रो स्थानमा छ भने सर्बिया पुछारमा छ। सर्बिया र क्यामेरुन यसअघि मात्र १ पटक मैदानमा उत्रिएका थिए। दुई राष्ट्रले सन् २०१० मा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए।

सो मैत्रीपूर्ण खेल निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो। सर्बियाले ४ गोल गर्दा क्यामरुनले भने ३ गोल फर्काएको थियो। सो खेलमा १८ वर्ष भिन्सेन्ट अबुबाकर क्यामेरुनको लागि खेलिरहेका थिए।

सर्बियाविरुद्धको आजको खेलमा भने अबुबाकर कप्तानको रूपमा मैदानमा प्रतिस्पर्धा गर्नेछन्। अबुबाकर साउदी अरेबियाको अल नासर फुटबल क्लबसँग पनि आबद्ध छन्। खाडी मुलुकमा खेलेको अबुबाकरको अनुभव आजको खेलमा पनि फाइदाजनक हुने देखिन्छ ।

यस्तै, अबुबाकरलाई साथ दिन सिरी एमा पनि सहभागी भइसकेका गोलरक्षक आन्द्रे ओनाना र स्टार मिडफिल्डर आन्द्रे–फ्रांक जाम्बो एन्गुइसा पनि सर्बियाको लागि तयार छ। एन्गुइसालाई डिफेन्स र मौकामा गोल हान्ने खेलाडीका रूपमा चिनिन्छ। एन्गुुइसा लयमा आएर मौका मिलाउन सके पक्कै पनि क्यामेरुनको प्रदर्शन यादगार हुनेछ।

तथापि, सर्बिया टोली उत्तिकै चुनौती दिने टोली रहेको छ। सर्गे मिलिन्कोभिच–साभिचको मिडफिल्ड तथा आलेक्सान्दर मित्रोभच र दुसान भ्लाहोभिचको फ्रन्ट लाइनअपले सर्बिया आक्रमक शैलीमा उत्रिने अनुमान गर्न सकिन्छ। यसमा लुका जोभिकले पनि अवसर पाए सर्बिया बलियो रुपमा प्रस्तुत हुनेछ।

सर्बियाले शारीरिक र आक्रोशित खेल प्रस्तुत गर्न सक्छ। तर, सर्बियाले खेल भने अनुशासित शैलीमा खेल्नु पर्ने हुन्छ। पहिलो खेलमा ब्राजिलले लगातार आक्रमण गर्दै सर्बियाको स्वरूपलाई भङ्ग गर्न सफल भएको थियो। क्यामेरुनलाई यस्तो गर्न सहज भने पक्कै हुने छैन। तर, क्यामेरुनले सर्बियाको सतर्कतालाई बुझेर आक्रमण गर्दा भने गोल गर्ने अवसर प्राप्त हुने देखिन्छ।

स्विट्जरल्यान्ड सँगको पहिलो हाफमा क्यामेरुनले बराबरको टक्कर दिएको थियो। सोही तरिकाले खेलेमा सर्बियालाई क्यामेरुनलाई पक्कै चुनौती दिनेछ ।

समूह ‘जी’ मा सर्बिया, क्यामेरुन, ब्राजिल र स्विट्जरल्यान्ड रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved