धाँधली भएको भन्दै उदयपुरमा पुनः मतदानको माग, मतगणना कार्य अनिश्चित

नेपालभ्युज

धाँधली भएको भन्दै उदयपुरमा पुनः मतदानको माग, मतगणना कार्य अनिश्चित

काठमाडौं। उदयपुरको क्षेत्रनं १ को प्रतिनिधिसभाको मतगणना कार्य अनिश्चित बनेको छ। निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेकपा एमालेसहितका १५ जना उमेदवारले पुनः मतदानको माग राखेपछि त्यहाँ प्रतिनिधिसभाको मतगणना कार्य अनिश्चित बनेको हो।

खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएको र प्रदेशसभा तर्फको एक सय मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएकाले उमेदवारहरूले निर्वाचन धाँधली भएको आशंका व्यक्त गरेका हुन्।

उनीहरूले आइतबार मुख्य निर्वाचन अकिृतलाई पुनःमतदानको माग राख्दै निवेदन दिएका हुन्। उमेदवारले नै पुनः मतदानको माग राखेपछि मतगणना कार्य अनिश्चित बनेको छ। बिहान ७ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। पटक–पटकको सर्वदलिय बैठकले बोलाइएपनि निर्णय दिन नसकेपछि गणना कार्य अनिश्चित बनेको हो। प्रतिनिधिसभाको दश वटा मतपेटिका खोल्दा १०० मतपत्र प्रदेशसभा सदस्यको भेटिएको थियो।

एमालेका उमेदवार मन्जुकुमारी चौधरीले प्रदेशसभा ‘ख’ को भेटिएको मतपत्र प्रदेशतर्फ गणना हुनुपर्ने बताइन्। उनको प्रस्ताव नेपाली कांग्रेसले मानेको छैन्। यो क्षेत्रमा मतगणना कार्य सम्पन्न हुँदा नेपाली कांग्रेसका हिमाल कार्की २ सय १५ मतले विजयी भएका छन्। यद्यपि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन।

फरक प्रकृतिको मतपत्र भेटिएकाले निर्वाचन प्रक्रिया धाँधली नै भएको निष्कर्षका साथ एमालेका प्रतिनिधि सभाका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्यका उम्मेदबार कुशलबाबु बस्नेत, इश्वरमणि राउत, राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार धुर्व रायमाझी, जसपाका उम्मेदबार ज्ञानबहादुर राई, नेकपा मालेका उम्मेदबार रामप्रसाद चौलागाई, नागरिक उन्मुक्ति पार्टीका उम्मेदबार शिवनारायण चौधरी लगायत स्वतन्त्रसहित १५ जनाले पुनः मतदानको माग राखेका हुन्।

निवेदनमा प्रदेशसभा सदस्यमा खसेको मतपत्रभन्दा बढी मतपत्र प्राप्त भएको, एकमुष्ट सय मत गणनाको क्रममा भेटिएकोले निर्वाचनको क्रममा धाँधली भएको भन्दै पुनः मतदानको माग गरिएको छ। उमेदवारहरूले एकै व्यक्तिले दोहोरो मतदान गरेको पटक–पटक गरी १४१ बढी मतपत्र भेटिएको लगायतको आरोप लगाउँदै आएका छन्।

यता नेपाली कांग्रेसले २४ घण्टाभन्दा बढी मतगणना प्रक्रिया अवरोध भएकोमा आपत्ति जनाएको छ। नेपाली काँग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले रोकिएको मतगणना तुरुन्त सुचारु हुनु पर्ने बताए।

मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेशतर्फको प्रत्यक्षको मतपत्र भेटिएको पुष्टि गरे। उनले भने, ‘सहमतिका लागि सर्वदलिय बैठक बोलाइएको र निष्कर्ष नआएकाले निर्वाचन आयोगलाई पत्र पठाइएको छ। उक्त निवेदन केन्द्रीय निर्वाचन कार्यालय काठमाडौं पठाइसकिएको जानकारी दिए।

प्रतिनिधि सभाको मतगणनामा पछिल्लो चरण त्रियुगा नगरपालिकाअन्तर्गतका जनता मावि देउरी ६ (क), ६(ख) र ६ (ग) केन्द्र, अम्बेबर मावि राजाबास ९ (क) केन्द्र, मावि चिलाउने १६ (ख) केन्द्र, जनता मावि श्रीपुर ५ (क) केन्द्र, बालमन्दिर मावि बोक्से १०(ख) केन्द्र बाक्सा खोलिएको नेकपा एमालेका मत गणनामा खटिएका प्रतिनिधि धर्म तामाङले जानकारी दिए।

त्रियुगा नगरपालिकाबाहेक नारदमुनि आदर्श मावि बर्खेडाँडा ४ (क), शिव मावि सुन्दरपुर ५(ख), जनता मावि गुरुङचौरी ४ (ख) को पनि सँगै मिसाएर खोलिएको तामाङले बताए। उनका अनुसार मत गणनामा २०४ मत कम भेटिएको छ। प्रदेश सभा १(क) मा रूख चिन्ह नभएकोले १ सय मतपत्रमा रूखमा पनि मतदान गरिएको हुँदा त्रियुगा नगरपालिकाकै हुन सक्ने अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved