एमालेका १५ पदाधिकारी : ५ ले हारे, ५ ले जिते, बाँकीको के होला ?

चुनावमा ठूलो चुनौतीको सामना गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तरले चुनाव जिते पनि बाँकी पाँच पदाधिकारीले हारेका छन्। एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रतिनिधिसभाको उम्मेदवार थिए ।

नेपालभ्युज

एमालेका १५ पदाधिकारी : ५ ले हारे, ५ ले जिते, बाँकीको के होला ?

काठमाडौं। २०७४ को निर्वाचनको परिस्थिति अहिले उल्टिएको छ । नेकपा एमालेका थुप्रै पदाधिकारीले चुनाव हारेका छन्। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर प्रत्यक्षमा ८० सिट जित्न सफल एमाले अहिले त्यसको आधामा सीमित हुने देखिएको छ।

चुनावमा ठूलो चुनौती सामना गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तरले चुनाव जिते पनि पाँच पदाधिकारीले हारेका छन्। केही अझै रेड जोनमा छन् ।

एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रतिनिधिसभाको दौडमा थिए। मतगणना भइरहेकामध्ये चार जना झिनो मतले अगाडि छन्। एक स्थानमा गणना हुनै बाँकी छ।

एमालेका अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातै जना सचिव उम्मेदवार बनेका थिए । उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल प्रतिस्पर्धामा उत्रिएनन् ।

उठेका मध्ये कसको अवस्था कस्तो छ हेरौं ।

जसले हारे

२०७४ को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं-५ मा कांग्रेस नेता डा. प्रकाशशरण महतलाई हराएका थिए। अहिले सत्ता गठबन्धनले अघि सारेका कांग्रेस युवा नेता प्रदीप पौडेललाई भने हराउन सकेनन्। एमालेको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेल ५ हजार ६२ मतले पराजित भए।

पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १ सय ७५ मत मात्रै ल्याए। ६ महिनाअघि मात्रै भएको स्थानीय तह चुनावमा सत्तारूढ दलको गठबन्धनका बाबजुद एमालेले सो क्षेत्रमा राम्रो प्रदर्शन गरेको थियो।

पार्टीको आउँदो महाधिवेशनबाट अध्यक्ष बन्ने लाइनमा रहेका मानिएका महासचिव शंकर पोखरेलको पनि चुनावी परिणाम सुखद् रहेन। दाङ २ मा उनलाई माओवादीकी रेखा शर्माले झिनो मतान्तरले पराजित गरिन ।

कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायरले एमाले सचिव लेखराज भट्टलाई हराए। पार्टीको सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट तीन हजार ५८४ मतले पराजित भए । पूर्व माओवादी नेता भट्ट नेकपा विभाजित हुँदा एमालेतिर लागेका थिए ।

चितवन १ बाट उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि जित निकाल्न सकेनन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले हराए। हरिले ३४ हजार १८९ मत ल्याउँदा पाण्डे २६ हजार ६०८ मत ल्याएर उपविजेता बने।

४ स्थानमा परिणाम आउन बाँकी, केही रेड जोनमा

इलाम-१ मा सुवास नेम्वाङले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कासँग झिनो मतको अग्रता लिइरहेका छन् । त्यहाँ हिजोदेखि मतगणना रोकिएको छ । सुरुवातमा पछि परेका नेम्वाङले हिजो अग्रता लिएका हुन् ।

गुल्मी–१ को मतगणनामा उपमहासचिव प्रदीप ज्ञवालीको सामान्य अग्रता छ। उनले कांग्रेसका चन्द्र भण्डारीलाई केही सय मतले पछि पारेका छन् ।

जारी मतगणनामा रुपन्देहीको २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अघि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले उनलाई पछ्याइरहेका छन्।

रुपन्देही १ मा चुनाव लडेका सचिव छविलाल विश्वकर्मा गणनामा अघि छन्। दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल छन्। धनुषा ४ बाट उठेका सचिव रघुवीर महासेठ पनि रेड जोनमै छन्। उनी कांग्रेसका महेन्द्र यादवसँग पछाडि परेका छन् ।

एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन। जहाँ सत्तागठबन्धनले धाँधली गरेको भन्दै एमालेले पुन: मतदानको माग गरेको छ ।

जसले जिते

२०७४ सालको निर्वाचनमा देशभरकै बढी मतान्तरको रेकर्ड बनाएका एमाले अध्यक्ष ओलीको मत यसपटक घट्यो। तर, उनले झापा-५ बाटै चुनाव जिते । ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याए।

ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जिते। अध्यक्ष ओलीसहित पाँच पदाधिकारीले जित हात पारेका छन्।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङमा माओवादीका महासचिव देवप्रसाद गुरुङलाई पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत ल्याउँदा माओवादीका गुरूङ ३१ हजार ७ सय ८१ मा सीमित भए ।

सचिव टोपबहादुर रायमाझीले पनि जितेका छन्। उनले अर्घाखाँचीमा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई सामान्य मतले पराजित गरे। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन्।

उता ताप्लेजुङबाट सचिव योगेश भट्टराईले पनि जित निकाले  । उनले माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई झिनो मतान्तरमा पराजित गरे। योगेशले २१ हजार ९४६ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरे।

सचिव गोकर्ण विष्टले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी–२ मा हराए । विष्टले २८ हजार ४८५ पाउँदा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved