अध्यक्षले चुनेको महासचिवलाई जनताले चुनेनन् !

अध्यक्षले चुनेर पार्टीको महासचिव बनेपनि शंकर-देवप्रसादलाई जनताले चुनेनन् । जनताले उसैलाई चुने, जो पार्टीको महत्त्वपूर्ण पदमा पनि आन्तरिक चुनावबाटै पुगेका थिए । यसका दह्रा उदाहरण हुन्— गगन-विश्वप्रकाशहरू ।

नेपाल भ्युज

अध्यक्षले चुनेको महासचिवलाई जनताले चुनेनन् !

काठमाडौं । कांग्रेसका महामन्त्री (महासचिव) द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरले निर्वाचित हुँदैगर्दा वामपन्थी दल एमाले र माओवादी केन्द्रका महासचिव शंकर पोखरेल र देवप्रसाद गुरुङ पराजित भए ।

संयोग कस्तो भने, संसदीय निर्वाचनमा जित निकालेका गगन-विश्वप्रकाश पार्टी महामन्त्री पनि आन्तरिक निर्वाचनबाटै बनेका हुन् भने हार ब्यहोरेका शंकर-देवप्रसाद पार्टी अध्यक्ष/सभापतिले टपक्क ‘टिपेर’ राखेका हुन् । अझ चलनचल्तीको भाषामा भन्ने हो भने उनीहरू ‘टीका’ लगाएर महासचिव बनेका हुन् ।

महासचिव/महामन्त्रीको जिम्मेवारी दलहरूमा ठूलो र महत्त्वपूर्ण हुन्छ । महासचिव पद अध्यक्षपछिको दोस्रो कार्यकारी हुन्छ, उसले चाहेअनुसारको सङ्गठन बन्छ । तर, शंकर-देवप्रसादहरूले कुनै न कुनैरूपमा पार्टी प्रभाव राखेपनि संघीय संसद्‌मा भने प्रभाव शून्य हुँदैछ ।

गगन-विश्वप्रकाश क्रमश: झापा १ र काठमाडौं ४ बाट निर्वाचित भइरहँदा दाङ २ मा एमाले महासचिव शंकरले पराजय भोगे । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले हराइन् भने लमजुङ १ मा माओवादी केन्द्र महासचिव देवप्रसादलाई एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भए ।

यो पनि अर्को संयोग भन्नुपर्छ— एमाले महासचिवलाई माओवादी केन्द्रले हरायो, माओवादी महासचिवलाई एमालेले हरायो ।

शंकर यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए भने देवप्रसाद प्रतिनिधि सभामै थिए । तर, यसपटक भने उनीहरू संसद्‌ छिर्न सकेनन् ।

१४‍औं महाधिवेशनमा शंकर अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा महासचिव बनेका हुन् । नेकपाकालीन महासचिव विष्णु पौडेल मुख्य दाबेदार भए पनि अध्यक्ष ओलीले शंकरलाई टिका लगाइदिए । ओलीले आफूपछि पार्टी हाँक्ने नेताका रूपमा शंकरलाई लिएका थिए ।

यता देव गुरुङ पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै रोजाइका महासचिव हुन् । ८औं महाधिवेशनमा जम्मा भएका प्रतिनिधिले पदाधिकारी चयनका लागि निर्वाचन नै गर्नुपर्ने बताएका थिए । तर, उनीहरूको मागलाई लत्याउँदै पार्टी अध्यक्ष प्रचण्डले पछि टपक्क टिपेर देव गुरुङलाई महासचिव बनाए ।

अध्यक्षले चुनेर पार्टीको महासचिव बनेपनि शंकर-देवप्रसादलाई जनताले चुनेनन् । जनताले उसैलाई चुने, जो पार्टीको महत्त्वपूर्ण पदमा पनि आन्तरिक चुनावबाटै पुगेका थिए । यसका दह्रा उदाहरण हुन्— गगन-विश्वप्रकाशहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved