नेपालको वैदेशिक व्यापार : ५ खर्ब ३२ अर्बको आयात ५४ अर्बको निर्यात

नेपालभ्युज

नेपालको वैदेशिक व्यापार : ५ खर्ब ३२ अर्बको आयात ५४ अर्बको निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रूपैयाँका वस्तु खरिद गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा नेपालले विदेशबाट उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रूपैयाँको वस्तु आयात गरेको थियो । चालू वर्षमा नेपालको आयात १८ प्रतिशतले घटेको हो । सरकारले विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

१५० सिसीभन्दा बढी क्षमताका दुई पांग्रे सवारी, ४२ इन्चभन्दा माथिको टेलिभिजन, डिजेल/पेट्रोलबाट चल्ने चार पांग्रे सवारीसाधन, मदिरा लगायत वस्तुको आयात प्रतिबन्ध कायमै छ । यस्तै, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल फोनसमेत आयात गर्न प्रतिबन्ध छ । यसअघि, सरकारले सुर्ति तथा चुरोटजन्य वस्तु, खेलौना, तास लगायतका वस्तुको समेत आयात प्रतिबन्ध लगाएको थियो ।

यहीकारण, चालू वर्षको ४ महिनाको अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँको आयात घटेको छ । यस्तै, यस अवधिमा नेपालको निर्यातसमेत खुम्चिएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालको निर्यात ३३ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालबाट जम्मा ५४ अर्ब ७७ करोड ४३ लाख रूपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा ८२ अर्ब १२ करोड रूपैयाँको निर्यात भएको थियो ।

४ महिनामा नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटामा भने सुधार आएको छ । कात्तिकसम्ममा नेपालको व्यापार घाटा १५.८८ प्रतिशतले सुधारिएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ४ खर्ब ७७ लाख ९१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । जुन, गत वर्षको यही अवधिमा ५ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ घाटा व्यहोरेको थियो । यो चालू वर्षको तुलनामा ९१ अर्ब रूपैयाँले बढी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved