ओलीको ‘किचेन क्याबिनेट’का सबै नेता पछाडि

ओलीको समर्थन पाउनेको अवस्था पनि नाजुक

ओलीको किचेन क्याबिनेटका सदस्य मानिने सबै नेता अहिलेसम्म चुनावमा पछाडी छन् । ओलीलाई ‘बा’ को उपाधि दिने महेस बस्नेतदेखि गोकुल बाँस्कोटासम्म मतगणनामा पछि परेका छन् ।

नेपालभ्युज

ओलीको ‘किचेन क्याबिनेट’का सबै नेता पछाडि

काठमाडौं। देशका धेरै ठाउँमा चुनावको मतगणना भइरहेको छ । हरेक चुनावमा उथलपुथल हुँदै आएकोमा यसपटक पनि त्यस्तै केही संकेत देखिएका छन् ।

यसपटक मूख्यत २ वटा ठूला उथलपुथल हुने देखिएको छ । पहिलो नेकपा एमालेका धेरै शीर्ष नेता पराजित हुने र  रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुनु ४ दिन अघिसम्म पनि एमालेले प्रत्यक्षतर्फ नै १ सय सिट जित्ने जिकिर गर्दै हिँडेका थिए । उनले आफ्नो विचार रेकर्ड गरेर राख्न चुनौतीसमेत दिएका थिए ।

तर, मतगणनाको अहिलेसम्मको अवस्था हेर्दा एमालेले ५० सिट कटाउन मुस्किल पर्ने देखिएको छ । अझ अर्को कुरा त ओलीको किचेन क्याबिनेटका सदस्य मानिने सबै नेता अहिलेसम्म चुनावमा पछाडि छन् ।

ओलीका हरेक कदमको चर्को बचाउ गर्दै र गलत निर्णय गर्न पनि साथ दिँदै आएका नेताहरूलाई जनताले यसपटक अश्विकार गरेको देखिएको छ । ओलीले तत्कालीन नेकपाभित्र चलखेल गरेर पार्टी विभाजनको मुखमा पुर्‍याउँदा होस् वा दुई पटक संसद विघट्न गर्दा साथ दिएका सबै ठूला नेता चुनावमा पछि परेका छन् ।

ओलीलाई ‘बा’ को उपाधि दिने र ओली नेपालका राजनेता हुन् भनेर घोषणा गर्ने महेस बस्नेतदेखि गोकुल बाँस्कोटासम्म मतगणनामा पछि परेका छन् । ओलीको किचन क्याबिनेटका सदस्य मानिने प्रदीप ज्ञवाली र सूर्य थापाको क्षेत्रमा मतगणना हुन बाँकी छ । भएकामा सबै पछाडि छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ मा हार नजिकै पुगेका छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले ठूलो मतान्तरले पछि पारेका छन् ।

आफूलाई ओलीको उत्तराधिकारीका रुपमा चिनाउँदै आएका महासचिव शंकर पोखरेल दाङ २ मा १ हजार भन्दा धेरै मतले पछि छन् । शंकर पोखरेललाई माओवादीकी रेखा शर्माले पछाडि पारिरहेकी छन् ।

ओलीको नजिकका अर्का नेता डाक्टर राजन भट्टराई काठमाडौं ४ बाट पराजित भइसकेका छन् । त्यहाँ कांग्रेसका गगन थापाले जितेका छन् ।

ओलीलाई राष्ट्रिय ‘बा’ को उपाधि दिने र ओलीका लागि धरहराबाटै हाम फाल्छु भन्ने महेस बस्नेत भक्तपुर २ मा धेरै पछि परेका छन् । महेश बस्नेतलाई कांग्रेसका दुर्लभकुमार थापाले १५ सय भन्दा धेरै मतले उछिनेका छन् ।

काभ्रे २ मा गोकुलप्रसाद बाँस्कोटा पनि १३ सय भन्दा धेरै मतले पछि छन् । कांग्रेसका शिवप्रसाद हुमागाईले गोकुललाई अघि बढ्न दिएका छैनन् ।

ओलीको हरेक कदममा बचाउमा उत्रिने भानुभक्त ढकाल मोरङ ३ मा कांग्रेसका सुनीलकुमार शर्मासँग १ हजार भन्दा धेरै मतले पछि छन् ।

ओलीको किचेन क्याबिनेटका कानुनी सल्लाहकार अग्नि खरेललाई झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माले धेरै पछि पारेका छन् ।

ओलीले मुख्य सचेतकसमेत बनाएका विशाल भट्टराई खोटाङमा माओवादीका रामकुमार राईसँग पछि परेका छन् ।

सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङ सुरुदेखि नै पछि छन् । त्यहाँ कांग्रेसका मोहनबहादुर बस्नेतले तामाङविरुद्ध अग्रता बनाएका छन्।

ओलीको भक्तिगान गाउँदै हिँड्ने कोमल वली दाङ ३ मा कांग्रेसका दीपक गिरीसँग र शान्ता चौधरी दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पछि परेका छन् ।

ओलीका विश्वासपात्र मध्येका प्रदीप ज्ञवालीको क्षेत्र गुल्मी २ र सूर्य थापाको क्षेत्र प्युठानमा भने मतगणना सुरु भएको छैन।

ओलीले बोकेका अन्य दलका नेता पनि पछाडि

एमाले अध्यक्ष ओलीले एमालेले नजित्ने सम्भावना देखेका र अरू पार्टीलाई अफ्ठेरो पार्नको लागि बोकेका नेता पनि पछाडि छन् ।

ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा सूर्य चिन्ह दिएर उठाएका थिए । तर, त्यहाँ कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले थापालाई फराकिलो अन्तरले उछिनेकी छन् ।

नवलपरासी-१ मा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई पनि ओलीले समर्थन दिएका । त्यहाँ हृदयेश त्रिपाठीलाई तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेदवार छन् ।

त्यस्तै, डडेल्धुरामा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अफ्ठेरोमा पार्न सकिन्छ कि भनेर कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई सघाएका थिए । तर, त्यहाँ पनि कर्ण मल्ल तेस्रो स्थानमा छन् ।

चितवन-३ मा कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालालाई ओलीले साथ दिएका थिए । कोइराला पनि अहिले तेस्रो स्थानमा छन् ।

चुनावको अन्तिम समयमा एमालेसँग तालमेल गर्ने निधो गरेको जसपाको पनि हालत खराब देखिएको छ  । जसपाका अध्यक्ष उपेन्द्र यादव नै सप्तरी-२ बाट पराजय नजिक पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved