चुनावको सम्पूर्ण तयारी पुरा : ढुक्कले मतदानमा भाग लिन आयोगको आग्रह

नेपालभ्युज

चुनावको सम्पूर्ण तयारी पुरा : ढुक्कले मतदानमा भाग लिन आयोगको आग्रह

काठमाडौं। संघ र प्रदेश निर्वाचन २०७९ को सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई भयरहित शान्तिपूर्ण र निष्पक्ष बनाउन आयोगले कुनै कसुर बाँकी नराखेको बताए ।

उनले मतदान सुरु हुन केही घण्टामात्र बाँकी रहेकाले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल पनि गरेका छन् ।

आइतबार बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ पाँच बजेसम्म चल्नेछ । यो चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र बनाइएको छ ।

निर्वाचन तयारी र यससँग सम्बन्धित केही विषयमा नेपालभ्युजकर्मी प्रकाश बस्यालले प्रवक्ता पौडेललाई केही प्रश्न गरेका छन् ।  

मतदानको समय सुरु हुन केही घण्टा मात्र बाँकी छ, आयोग तयार छ ?

आयोगले आफ्नो काम समयमै सम्पन्न गरेको छ । मतदान सुरु हुनुपूर्व गर्नुपर्ने सबै तयारी लगभग सम्पन्न भएको छ । कतिपय ठाउँमा मतदान केन्द्र निर्माणको काम सकिँदैछ ।

आज मतदान केन्द्रमा बुथ निर्माण गर्ने दिन नै हो । सबै कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।  सबै ठाउँमा सर्वदलीय बैठक बस्दै छ । कतिपय ठाउँमा आज बिहान पनि सम्पन्न भइसकेको छ ।  भोलि आइतबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने गरी तयारी पुरा गरेका छौं ।

निर्वाचनका बेला जहिले पनि शान्ति सुरक्षाको विषयमा प्रश्न उठिरहेको हुन्छ ? यसबारे आयोग कत्तिको सचेत  छ ?

आयोग यस बिषयमा सचेत छ । सुरक्षा व्यवस्था कडा बनाउन आवश्यक रणनीति तयार बनाएर यस्ता गतिविधि निषेध गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ ।

सुरक्षा निकायबाटपनि निर्वाचनलाई शान्तिपूर्ण तवरबाट सम्पन्न गराउने प्रतिबद्धता आइसकेको छ । उहाँहरूले आयोगलाई विश्वस्त बनाउनुभएको छ सुरक्षामा हामी ढुक्क छौं ।

विगतका निर्वाचनलाई हामीले समीक्षा गर्दै केही त्रुटि भए सच्याउँदै लगेका छौँ । यो पटक निर्वाचन सुरक्षा योजना निकै प्रभावकारी छ । संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।

संवेदनशील मानिएका क्षेत्रमा आवश्यक परेमा ३० मिनेटभित्र बाहिरको सुरक्षा टोली पुग्न सक्नेगरी व्यवस्थापन गर्न सुरक्षा निकायलाई भनेका छौँ ।

निर्वाचन आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भइरहेका छन् । आयोग मुकदर्शक बन्यो भन्ने आरोप छ नि ?

त्यसो होइन, हाम्रो काम गरिरहेका छौँ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट सुरू भएको प्रचारप्रसार निषेधको अवधिमा आयोगले विशेष सजगता अपनाएको छ ।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन  भइरहेको छ ।

कतिपय उम्मेदवारले नै मौन अवधिमा मतदातालाई प्रभावित गर्न खोजेका छन्, आयोगले कारबाही गर्छ कि गर्दैन ?

सामाजिक सञ्जालमा आएका कुरामा प्रमाण पुग्नुपर्‍यो, एकाथरीको भनाई एउटा छ अर्काथरीको भनाई भिन्न छ । एउटाले पैसा बाँड्यो भन्छ अर्काले होइन म त बिरामी भेट्न गएको थिएँ, अथवा म सधै पस्ने घर हो भन्ने गरेका छन् ।

यि कुराहरू आयोगले छानबिन गर्छ जाँचबुझ गरेपछि प्रमाणका आधारमा आवश्यक कारबाही गर्छ ।

सामाजिक सञ्जालमा भेटिएका सूचनालाई प्रमाण मान्छ कि मान्दैन ?

कतिपयले पुराना भिडियो तोडमोड गरेर राखेको पनि पायौँ ।  सामाजिक सञ्जाल वा मिडियामा आएकै भरमा आयोगले एक्सन लिन सक्दैन । आयोगले ति कुरालाई जाँचबुझ गरेर निर्णय लिन्छ ।

मतदाता परिचयपत्र नभएका वा हराएका व्यक्तिले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?

मतदाता परिचयपत्रबाहेक सरकारी मान्यता प्राप्त परिचय खुल्ने कागजातका आधारमा पनि भोट हाल्न पाइने व्यवस्था छ । तर त्यसका लागि मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कलका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउनेछन् ।

एउटा व्यक्तिको नाममा अर्कैले मत हालेको पनि पाइन्छ, यसलाई कसरी रोक्नुहुन्छ ?

यो पटक कसैले पनि वारेसमार्फत मतदान गर्न पाउँदैन । अशक्तबाहेक कसैले पनि अरूको नाममा मत हाल्न पाउँदैन । मतदाताले बोकेको परिचयपत्र यकिन गर्न त्यहाँ दल र उम्मेदवारका प्रतिनिधि हुन्छन् । स्थानीय स्वयंसेवक पनि हुन्छन् । त्यसैले, यो पटक यो समस्या दोहोरिँदैन ।

निर्वाचन पर्यवेक्षण कसरी हुँदै छ ?

यो निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षक साथीहरू खटिनुभएको छ । पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति लिएका छन् ।

पर्यवेक्षकले प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्नेछन् । त्यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्ने वातावरण बनाइएको छ ।

मतदानकाे दिन यातायात सञ्चालनको व्यवस्था कस्तो हुन्छ ?

अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्ता लगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ ।

आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीलाई निर्देशन दिइसकिएको छ ।

विगतमा परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै आयोगको आलोचना भएको थियो । यो पटक कति समय लाग्ला ?

निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगले लक्ष्य लिएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने योजना छ भने समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्नेगरी हामीले आवश्यक तयारी गरेका छौँ ।

मतपेटिका संकलनको कार्य सकिएलगतै मतगणना सुरु गछौँ । मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेगरी हाम्रो तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved