बेइजिङ डायरी

ओली र प्रचण्डलाई एकता गराउने रूख

बेइजिङका सडकपेटीमा जतासुकै जिन्कोका रुखहरू लहरै रोपिएका छन्। कतिपय उद्दानहरु जिन्कोबाटै भरिएका छन्। सहरी क्षेत्रलाई यसले दुई प्रकारको सौन्दर्य प्रदान गर्दछ। गृष्म ऋतुमा झपक्क हरियालीले सहरलाई सिँगार्छ भने शरद ऋतुमा यसका पहेँला पातले सहरलाई सुनौँलो बनाउँछ।

ओली र प्रचण्डलाई एकता गराउने रूख

बेइजिङ । अबको तीन दिनपछि संघीय संसद् र प्रदेशसभाको निर्वाचन हुँदैछ। यो निर्वाचनले आगामी पाँच वर्षका लागि नेपालको राजनीतिक सत्ताको रूपरेखा तय गर्ने छ। राजनीति विचित्रको खेल हो। राजनीतिलाई लिएर विश्वव्यापी रूपमा एउटा भनाइ निकै लोकप्रिय छ। त्यो भनाइ हो राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन।

पाँचवर्ष अगाडि विपरीत ध्रुवमा रहेर प्रतिस्पर्धा गरेकाहरूले अहिले गठबन्धन गरेका छन्। पाँचवर्ष अगाडि एकै खेमा र एउटै पार्टीमा रहेर सहकार्य गरेका बीचमा अहिले तीव्र प्रतिस्पर्धा हुँदैछ। त्यतिमात्र होइन एउटै झन्डा लिएका नेपालका कम्युनिस्ट पार्टीहरू एक-अर्कालाई सिद्ध्याउने गरी चुनावी मोर्चामा सहभागी भएका छन्।

साढे चार वर्ष अगाडि एउटा रूखले नेपालका दुई कम्युनिस्टका धारलाई एकतामा ल्याएको थियो। अर्थात् नेपालका दुई मुख्य कम्युनिस्ट धारले एउटा रूख रोप्दै एकता घोषणा गरेका थिए। यो गज्जबको संयोग थियो। रूख नेपाली कांग्रेसको चुनाव चिह्न हो। त्यही रूखले माओवादी र एमालेलाई एकता गराउनु अथवा एकताको प्रतीकका रूपमा विशेष प्रजातिको बिरुवा रोप्नु एउटा संयोग थियो।

हरियोबाट पहेँलो बन्दै गरेको जिन्कोको रूख।

२०७५ जेठ ३ गते बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अणु बमले पनि क्षति नपुर्‍याउने एउटा विशेष प्रजातिको बिरुवा रोपेर ओली र प्रचण्डले पार्टी एकताको घोषणा गरेका थिए। त्यतिन्जेल धेरै नेपालीलाई उक्त विशेष प्रजातिको वनस्पतिका बारेमा उति जानकारी थिएन।

जसलाई जानकारी थियो उनीहरूले समाचार प्रकाशन भएपछि व्यङ्ग्य गर्दै प्रतिक्रिया लेखेका थिए। एउटा प्रतिक्रिया थियो -‘‘यो एकदमै ढिलो बढ्छ वर्षको एक फिटभन्दा कम। यसलाई आफ्नो आकार ग्रहण गरेर रूख बन्नका लागि ८० वर्ष लाग्छ। यो नेकपा पनि यस्तै हुने त होला नि। त्यस्तै अर्को प्रतिक्रिया पनि रमाइलो थियो पानी नपाएर मर्ला है बिरुवा। बिचार गरेर रोपेको भए हुने।’’

यतिबेला कुनै सञ्चारमाध्यमले उक्त बिरुवाको अवस्था कस्तो छ भनेर फलोअप समाचार ल्याएका छैनन्। एक वर्षमा एक फिट पनि नबढ्ने बिरुवा साढे चार वर्षमा कत्रो भयो ? हेरचाह गरिँदै छ कि एमाले र माओवादी विभाजित भएपछि उक्त बिरुवा पनि उखेलेर फालियो?

बालुवाटारमा उक्त बिरुवा रोपेकै बिहान बल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु बमको चर्चा गरेका थिए। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु बमले पनि क्षति गर्न नसक्ने बिरुवा रोपेर पार्टी एकताको उद्घोष गरेका थिए।

जिन्को बगैँचामा फोटो खिच्दै गरेका युवायुवती।

ओलीले विभिन्न स-साना तत्त्वहरू मिसिएर खतरनाक अणुबम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै स-साना तत्त्वहरूको सम्मिश्रण भएको बताएका थिए। त्यसलगत्तै पार्टी एकता संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरूले संयुक्त रूपमा बिरुवा रोप्दै पानी हालेका थिए।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रोपेको उक्त वनस्पतिको नाम हो जिन्को बाइलोबा। बोलिचालीमा यसलाई जिन्कोु भनिन्छ। यो वनस्पतिको विशेष चरित्र, क्षमता र गुणले गर्दा विश्वमै परिचित छ। त्यति मात्र होइन दुई कम्युनिस्ट पार्टीका नेताले यही वनस्पतिको बिरुवा रोपेर पार्टी एकता गर्नुका पछाडि यो वनस्पतिको विशेष चरित्र भएकाले छनोट भएको हुनसक्छ।

जिन्कोको इतिहास पनि निकै रोचक छ। यो वनस्पति ३४ करोड ५० लाख वर्षअगाडि पृथ्वीमा देखिएको वैज्ञानिकहरूले पुष्टि गरेका छन्। उक्त समयमा उत्तरी गोलार्द्धका युरोप, एसिया, अमेरिकामा यो व्यापक रूपमा पाइन्थ्यो। बिस्तारै घट्दै गएर ५ लाख वर्षअघि युरोप, उत्तर अमेरिका र एसियाका धेरैजसो क्षेत्रबाट यो वनस्पति लोप भयो।

हिजोआज जिन्को वनस्पतिको कृत्रिम खेती गरिन्छ। कृत्रिम खेतीमा चीन सबैभन्दा अगाडि छ। चीनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयात गरेर फ्रान्स र अमेरिकाको दक्षिण क्यारोलिना राज्यमा जिन्कोका बगैँचाहरू छन्।

जिन्कोका रूखहरू सामान्यतः २० देखि ३५ मिटर उचाइका हुन्छन्। चीनमा संरक्षण गरिएका जिन्कोका रूखहरू ५० मिटरभन्दा अग्ला रहेका छन्। जिन्को वनस्पतिलाई पृथ्वीको जीवित जीवाष्म पनि भनिन्छ। यो वनस्पति करोडौँ वर्षदेखि अस्तित्वमा रहेकाले यसो भनिएको हो। त्रिकोण आकारको बनोट र गहिराइसम्म पुग्ने जराका कारणले यो वनस्पति लामो समय पानी नहुँदा र व्यापक हिउँ पर्दा पनि सहजरूपमा बच्न सक्छ।

अणु बमको असरसँग जुध्नसक्ने प्रतिरोधी क्षमता यो वनस्पतिमा हुन्छ भनिन्छ। कडा ध्वनि प्रदूषण तथा निकै विषालु वायु भएको ठाउँमा पनि यो सहजरूपमा बाँच्न सक्ने भएकाले सहरी क्षेत्रका सडकपेटीमा यसका बिरुवा रोपिन्छ।

बेइजिङका सडकपेटीमा जतासुकै जिन्कोका रूखहरू लहरै रोपिएका छन्। कतिपय उद्दानहरू जिन्कोबाटै भरिएका छन्। सहरी क्षेत्रलाई यसले दुई प्रकारको सौन्दर्य प्रदान गर्दछ। गृष्म ऋतुमा झपक्क हरियालीले सहरलाई सिँगार्छ भने शरद ऋतुमा यसका पहेँला पातले सहरलाई सुनौंलो बनाउँछ।

जिन्कोका रूखसँगै सडक बत्तीको सम्मिश्रण

शरद ऋतुमा यसले बेइजिङको सहरी क्षेत्रलाई मात्र सुनौंलो बनाउने होइन सहर नजिकैका डाँडाकाँडाहरूलाई पनि सुनौलो बनाउँछ। यही वनस्पतिले सुनौला बनेका बेइजिङको पश्चिमपट्टिका पाताछु र स्याङसान हेर्नका लागि पर्यटकको भीड लाग्ने गर्दछ। रूख पहेँला, रूखबाट भईंमा खसेका पातहरू पहेँला, ती पहेँला पातले ढाकेको बाटो, चौर र उद्यान पहेँलो। फोटो खिच्ने, भिडियो छायांकन गर्ने र टिकटक बनाउनेहरूको भीड लाग्ने भएकाले शनिबार र आइतबार साप्ताहिक बिदामा त्यहाँ जानका लागि अग्रिमरूपमा बुकिङ गर्नुपर्छ। यसको रङसँगै मानिसहरू झुम्मिने अर्को कारण यसको पातको आकार पनि हो। यसको पात अन्य वनस्पतिको भन्दा फरक हुन्छ। झलक्क हेर्दा मुकुटजस्तो देखिन्छ जिन्कोको पात।

जिन्कोको फलबाट विभिन्न औषधि बनाइन्छ। यसको पातचाहिँ विषालु हुन्छ। त्यसकारण पातबाट किटनाशक औषधि बनाइन्छ। यो वनस्पतिको काठमा किरा लाग्दैन। त्यही भएर यसको काठबाट बनाइने फर्निचर पनि निकै टिकाउ हुने गर्छन्।

वनस्पति अध्येताहरूका अनुसार चीनमा २५ सय वर्ष पुराना जिन्कोका रूखहरू छन्। जिन्को धेरै वर्ष बाँच्ने भए पनि यो अत्यन्त ढिलो बढ्ने गर्छ। भनिन्छ एक दुई सेन्टिमिटर बढ्न पनि केही वर्ष लाग्छ। बेइजिङमा सडकमा चाहिँ बिसौँ फिट अग्ला जिन्कोलाई क्रेनले रोप्ने भएकाले तिनीहरू वर्षौँ कुनै नरसरीमा हुर्काएर ल्याएका हुन् भन्ने कुरामा शंका रहँदैन।

जिन्कोको अर्को रोचक चरित्र भनेको स्त्रीलिङ्गी र पुलिङ्गी फरक-फरक रूखमा हुने गर्छ। सानो बिरुवा पुलिङ्गी हो कि स्त्रिलिङ्गी हो भनेर छुट्ट्याउन सकिँदैन। जब फल दिने हुन्छन् तब मात्र स्त्रीलिङ्गी र पुलिङ्गी छुट्टिने हुन्। सामान्यतः धेरै रूखहरू पुलिङ्गी हुन्छन् र केहीचाहिँ स्त्रीलिङ्गी। पुलिङ्गी रूखमा परागकण कोन उत्पादन गर्दछ जसको केन्द्रीय अक्षको वरिपरि दुईवटा माइक्रोस्पोरङ्गिया सर्पिल रहेका हुन्छन्। स्त्रीलिङ्गी बिरुवाहरूले कोन उत्पादन गर्दैनन्। एउटा डाँठको अन्त्यमा दुईवटा अण्डाहरू बन्छन् हावामार्फत परागसेचन गर्छन्। त्यसपछि, फल लाग्ने गर्छ।

शरद ऋतुमा सुनौलो बनेको जिन्को।

सन २०२० मा ६६७ वर्ष पुरानो जिन्को रूखहरूको चीनमा गरिएको एक अध्ययनले ती रूखमा बुढ्यौलीको कम प्रभाव परेको देखायो। खोज तथा अनुसन्धानले के पत्ता लगायो भने रूखहरू उमेरसँगै बढ्दै गए, तर वृद्धावस्थाको कुनै आनुवंशिक प्रमाणहरू त्यहाँ देखिएनन्। यसो हुनुको कारण जिन्कोका रूखहरू लाखौँ वर्षसम्म पनि जीवित रहने हुनाले हजार वर्षसम्म यिनका जिनमा बुढ्यौलीपन नदेखिएको हुनसक्छ।

ओली र प्रचण्डले रोपेको जिन्कोको बिरुवा नेपालमा पहिलोपटक रोपिएको भने होइन। नेपालमा धेरै वर्ष अगाडिदेखि जिन्कोका रूखहरू रोपिएका थिए। यसको प्रमाण २०५० सालको दसकमा काठमाडौँ सुनधारालाई क्षेत्रको सडकपेटीमा जिन्कोका रूखहरू थिए। सडक विस्तार गर्ने क्रममा जिन्कोका रूखहरू काटेर नष्ट गरियो।

सीआरआईको मुख्यालयको आँगनमा रोपिएको जिन्को।

केही वनस्पतिशास्त्रीले जिन्कोको महत्त्व बुझेका थिए। त्यसरी नष्ट गरेपछि उनीहरूले चर्को रूपमा विरोध गरे। अनि बाँकी रहेका केही रूखलाई क्रेनको सहयोगमा उखेलेर गोदावरीमा सारियो।

काठमाडौं उपत्यकाको सहरी सौन्दर्यका लागि जिन्को सबैभन्दा उपयुक्त वनस्पति हो। बिरुवा हुर्काएर सडकपेटीमा रोपेमा हजारौँ वर्षसम्म यसले सहरी सौन्दर्यलाई कायम राख्न सक्छ। यसै पनि काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च छ। त्यसमाथि ध्वनि प्रदूषण पनि अर्को टट्कारो समस्या छँदै छ। यस्तो प्रतिकुल अवस्थामा अन्य वनस्पतिभन्दा जिन्को उपयुक्त हुन्छ।

चीनले जिन्कोका रूखहरू लगाएर पहाडलाई नै सिँगारे जस्तै काठमाडौं उपत्यकाका चन्द्रागिरि, गोदावरी, साँगा, नगरकोट, साँखु, सुन्दरीजल, शिवपुरी, रानीवन जस्ता क्षेत्रमा प्रश्वस्त जिन्को लगाएर सिँगार्न सकिन्छ।

गृष्ममा हरियाली र शरदमा सुनौलो दृश्यले सबैलाई मोहित बनाउने भएकाले युवापुस्तालाई वनभोज गर्ने, विद्यार्थीलाई अध्ययन अवलोकन गर्ने, प्रकृतिप्रेमीलाई टहलिने, कवि तथा कथाकारजस्ता सर्जकलाई सिर्जना गर्ने, जेष्ठ नागरिकलाई स्वास्थ्यलाभ गर्ने, चलचित्र तथा गीत छायांकन गर्नेलाई प्राकृतिक स्टुडियोका रूपमा विकास गर्न सकिन्छ। सम्बन्धित पक्षले यतिबेलै जिन्कोलाई व्यापकरूपमा रोपेमा भावी पुस्ताले त्यसको लाभ लिन सक्ने कुरामा दुई मत रहँदैन।

ओली र प्रचण्डको एकता तीन वर्ष पनि टिकेन। हजारौँ वर्ष बाँच्ने र अणुबमले समेत क्षति पुर्‍याउन नसक्ने वनस्पति रोपेर सन्देश त राम्रै दिन खोजेका थिए उनीहरूले। तर, उनीहरूको व्यवहार र मनस्थितिमा जिन्को होइन बनमारा पलायो। त्यस्तो वनमारा जसले अन्य वनस्पतिलाई अतिक्रमण गर्छ, तर फाइदाचाहिँ कसैलाई पनि गर्दैन।


Comment

One thought on “ओली र प्रचण्डलाई एकता गराउने रूख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved