आर्थिक क्रान्तिका लागि गठबन्धन आवश्यक छ : कर्माछिरिङ  शेर्पा

नेपालभ्युज

आर्थिक क्रान्तिका लागि गठबन्धन आवश्यक छ : कर्माछिरिङ  शेर्पा

काठमाडौं। कांग्रेसले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ७ उपसमिति बनाएर प्रचार-प्रसार अभियान अघि बढाएको थियो । समितिले पहिलोपटक खेलकुद क्षेत्र समन्वय प्रचार-प्रसार उपसमिति गठन गरेर कर्माछिरिङ शेर्पालाई संयोजकको जिम्मेवारी दियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष शेर्पाले ५ सय ३ जनाको कमिटी गठन गरेर देशभर प्रचारका गतिविधि चलाए । प्रचारको दौड सकेर काठमाडौं आइपुगेका शेर्पासँग नेपाल भ्युजले गरेको कुराकानी ।

कांग्रेसले पहिलोपटक उपसमिति गठन गरेर चुनावी प्रचारलाई खेलकुदसँग जोड्यो । तर, सरकार चलाउँदा भने उसले खेल क्षेत्रमा खासै ध्यान दिँदैन नि ?

कांग्रसले यसपटक चुनावी घोषणा पत्रमै खेलकुदलाई महत्त्व दिएको छ । आगामी निर्वाचनपश्चात मूल धारको विकासको रूपमा खेलकुदलाई अघि बढाउने प्रतिबद्धता कांग्रेसले गरेको छ । सोही कारण हामीले कांग्रेससँग आबद्ध खेलकुदकर्मीको ठाउँ-ठाउँमा भेला राखेर कांग्रेसलाई जिताउने अभियान चलायौं । यसले खेलकर्मीमा विश्वास जागेको छ ।

अब आउने सरकारमा कांग्रेसले खेलकुद मन्त्रालय लिनुपर्छ । धैरै वर्षदेखि खेलकुद मन्त्रालय कांग्रेसले लिएको देखिँदैन । खेलकुद मन्त्रालयमा बजेट पनि एकदमै कम छ । हामीले  कांग्रेसको नेतृत्वलाई अब आउने बजेटमा खेलकुदमा गरिने लगानीलाई एजेण्डाको रुपमा लैजान सहमत गराएका छौं ।

पूर्वाधार विकास र खेलाडीमाथि लगानी गर्ने कुरामा राज्य उदार हुनुपर्छ । खेलाडीले जसरी राष्ट्रका लागि पसिना बगाएको छ, उनीहरूको भविष्य सुनिश्चित छैन । अब खेलकुदका माध्यमबाट देशको विकास गर्न सकिन्छ । खेलकुदमा लगानी गर्न पर्छ भन्नेमा पार्टी नेतृत्व सहमत देखिन्छ । शारिरिक र मानसिक रूपमा नागरिक ठीक नभएसम्म देशको विकास सम्भव हुदैन ।

स्थानीय तहमा पूर्वाधार बनाएर व्यायाम गर्ने संस्कृति जगाउन सके अस्पताल जाने बिरामीको संख्या घट्छ । खेलकुदलाई मानव विकासको मुख्य अंगको रूपमा राख्नपर्छ भन्ने सोच कांग्रेसको हो । अब आउने सरकारले खेलकुदमा धेरै लगानी गर्नपर्छ भन्ने कुरामा हामीले काम गरिरहेका छौं ।

अब खेलकुदमा बजेट मात्र हैन राम्रो नीति पनि बनाउनपर्छ । त्यही कुरा देशका विभिन्न ठाउँमा कार्यक्रम गरेर कांग्रेसले यसरी काम गर्दैछ भनेर बताएका छौं ।

देशभर अभियान चलाउँदै गर्दा आम मानिसमा राजनीतिप्रतिको दृष्टिकोण र सोच कस्तो पाउनुभयो ?

सत्य कुरा बोल्दा मान्छेमा राजनीतिप्रति त्यति उत्साह मैले पाईन । राजनीतिक अस्थिरताका कारणले जुन अवस्थामा देश छ, मान्छेमा हौसला देखिदैन । तर, जस्तोसुकै परिस्थितिमा पनि राजनीतिक परिवर्तन भोटबाट मात्र गर्न सकिन्छ । गठबन्धनको संस्कृति संविधानले नै बाध्यकारी बनाए जस्तो लाग्छ । हाम्रो निर्वाचन प्रणालीले गठबन्धन अपरिहार्य जस्तै बनेको छ ।

देश विकासका लागि गठबन्धन हुनुपर्छ । म त एमालेसँग समेत गठबन्धन हुनुपर्छ भन्ने पक्षमा छु । अहिले जनताको चाहना नै सुशासन र विकास हो । त्यसले गर्दा सुशासन र विकासका लागि सबै मिल्नुपर्छ । सबै मिलेको खण्डमा मात्र देश अघि बढ्छ । राजनीतिक परिवर्तनका लागि हामीले पटक-पटक आन्दोलन गर्‍यौं ।

अब विकासका लागि, आर्थिक क्रान्तिका लागि गठबन्धन आवश्यक छ । चुनावपछि पनि सबै पार्टी देश विकासको गठबन्धनमा सामेल हुनुपर्छ ।

प्रजातान्त्रिक आन्दोलनको सबैभन्दा अग्रणी दल खेलकुदमा किन सधैं अनुदार बन्दै आएको हो ?

राजनीतिक स्थिरता नहुँदा यो सबै समस्या आएको हो । ४६ सालको आन्दोलनपछि दुई वर्षमा कांग्रेसले नयाँ संविधान जारी गर्‍यो । ५२ सालमा धेरै कुराको विकास भयो । खेलकुदको पनि केही मात्रामा विकास भयो । फेरि देशमा जनयुद्ध भयो । त्यसपछि ६२ सालसम्म राजनीतिक अस्थिरता भयो । बेरोजगारी बढ्यो । माओवादी शान्तिप्रक्रियामा आयो र २०६४ मा संविधानसभाको निर्वाचन भयो ।

संविधान बनाउने अभियान सुरु भयो । त्यसपछि पिछडिएका विभिन्न क्षेत्र, वर्ग, लिङ्ग, धर्मका नागरिकको अभियान सुरु भयो । ६८ मा संविधान बनाउन सकिएन । त्यसपछि पुन: अर्को संविधान सभाको निर्वाचन भयो । त्यसपछि कांग्रेसको नेतृत्वमा संविधान जारी गर्ने काम भयो ।

संविधानमा भएको कानुन लागू गर्नुपर्ने भयो । पटकपटक सदन अवरुद्ध भयो । संविधान एकदमै राम्रो छ, त्यसलाई कार्यान्वयन गर्न सकिएन । यसका लागि राम्रा कानुन ल्याउन पर्ने थियो तर, भएन । त्यसले काम गर्न सकेन । सुशासनको मुख्य जड नै राम्रो कानुन हो । संविधान चाही पटक पटक जारी गर्न सक्यौ । तर, त्यो संविधानलाई सही कार्यान्वयन गर्ने राम्रो कानुन ल्याउन सकेको छैनौ ।

यही राजनीतिक अस्थिरताका कारण खेलकुद पनि अघि बढ्न सकेन । यो सरकार आएपछि संविधान जोगाउन लाग्यो । यस सरकारले स्थानीय चुनाव सम्पन्न गर्‍यो । अब सदन पटक-पटक विघटन गर्न पाइदैन भन्ने नजिर बसेको छ । त्यसैले सबै पार्टी मिलेर समृद्धिका लागि लाग्नुपर्छ ।

अन्तिममा अबको राजनीतिक कोर्स कसरी अघि बढ्नुपर्छ भन्ने लाग्छ ?

आर्थिक क्रान्तिको एजेन्डामा व्यवस्थित कानुन ल्याएर काम गर्नुपर्छ । नेपालको मुख्य विकास हुने आधार भनेकै जलस्रोत, कृषि र पर्यटन हो । जलस्रोतलाई मात्र उपयोग गर्न सकेको खण्डमा हामीले आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छौं ।

पर्यटनलाई विकास गरेको खण्डमा धेरै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । कृषिले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछ । अब आउने सरकारले जलस्रोत, कृषि र पर्यटनमा केन्द्रित भएर काम गर्नुपर्छ । त्यसो भएको खण्डमा चाँडै देश समृद्ध हुन्छ भन्ने लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved