अन्तर्वार्ता

‘संसद् विघटन पनि संविधानविरुद्ध हो भन्न नसक्ने राजनीतिको अर्थ छैन : घनश्याम भुसाल

'लोकतन्त्रको लोकतान्त्रिकरण र वामपन्थको वामपन्थीकरणका लागि जहाँ रहेपनि लड्छु'

मसँग एमाले र सूर्य छैन भन्ने कुरा भावनाकै कुरा हुन् । यसमा म विश्वास गर्दिनँ । विवेकले काम गरेको हुनाले मलाई ठिक छ । मैले यो निर्णय भावनामा बगेर लिएको होइन, विवेकमा बगेर निर्णय लिएको हुँ ।’

नेपाल भ्युज

रुपन्देही। वाम-वृत्तमा बौद्धिक नेताको छवि बनाएका घनश्याम भुसाल अहिले कुनै पनि पार्टीमा छैनन् । गत असोज २२ गते राजीनामा दिनुपूर्व उनी नेकपा (एमाले) को स्थायी समिति सदस्य थिए । सौराहा महाधिवेशनयता पार्टी ‘ओलीकरण’ भयो भनेर बोल्दै आएका उनले अन्ततः निर्वाचनपूर्व पार्टीबाटै राजीनामा दिए ।

तैपनि, उनी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भने रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । आफू सधैँ सत्य र सहीको पक्षमा रहेको र जनताले आफूलाई साथ दिने विश्वाससहित चुनावी मैदानमा उत्रिएका उनलाई सत्ता गठबन्धनको साथ छ । पाँचदलीय गठबन्धनको ठूलो घटक नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उनलाई रुपन्देही-१ मा समर्थन गर्न नेता/कार्यकर्ताहरू तम्सिएका छन् ।

यसै सन्दर्भमा घनश्याम र उनीसँग सम्बन्धित चुनावी माहोल बुझ्न नेपालभ्युजको टोली उनकै क्षेत्र पुगेको थियो । त्यसक्रममा केही प्रश्नोत्तर भएका थिए ।

‘भावनामा होइन, विवेकमा बगेर राजीनामा दिएँ’

घनश्याम भावनामा बगेर आफूले पार्टीबाट राजीनामा दिने उद्घोष नगरेको दाबी गर्छन् । ‘भावनामा बगेर हुँदैन । मैले पार्टीबाट राजीनामा दिने निर्णय विवेकपूर्ण रूपमा लिएको हुँ र यसबाट म सन्तुष्ट छु । मेरो निर्णय विवेकको हो,  भावनाको होइन,’ उनले भनेका छन् ।

एमाले र सूर्यविनाको चुनाव कस्तो छ ? भन्ने जिज्ञासामा उनले भने, ‘ठीकै छ । नौलो छैन । हो, मसँग दुईवटै छैन । तर, पनि पाँचवटा दलको समर्थन छ । अनुभव त्यस्तै नौलो पनि छैन । मसँग एमाले र सूर्य छैन भन्ने कुरा भावनाकै कुरा हुन् । यसमा म विश्वास गर्दिनँ । विवेकले काम गरेको हुनाले मलाई ठीक छ । मैले यो निर्णय भावनामा बगेर लिएको होइन, विवेकमा बगेर निर्णय लिएको हुँ ।’

‘संसद् विघटन पनि संविधानविरुद्ध भन्न नसक्ने राजनीतिको कुनै अर्थ छैन’

घनश्याम जहाँ रहे पनि लोकतन्त्रको लोकतान्त्रीकरण र वामपन्थको वामपन्थीकरणको पक्षमा लडिरहने बताउँछन् । ‘म संसद्‌भित्र हुँदा पनि र बाहिर हुँदा पनि लोकतन्त्रको लोकतान्त्रीकरण र वामपन्थको वामपन्थीकरणको पक्षमा लडिरहन्छु । पछिल्लो समय मैले मेरो नारा नै यही बनाएको छु । अब सकेँ भने मैले यसकै लागि लड्ने हो,’ उनी भन्छन् ।

रुपन्देही क्षेत्र नं. १ का एमालेका उम्मेदवार प्रतिस्पर्धी छविलाल विश्वकर्माप्रति इङ्गित गर्दै घनश्यामले भने, ‘संसद् विघटन पनि संविधानविरुद्ध भयो भनेर भन्न नसक्ने राजनीतिको कुनै अर्थ छैन । मचाहिँ त्यस्तो राजनीति गर्दिनँ । केही साथीहरूका लागि लोकतन्त्रको लोकतान्त्रीकरण र वामपन्थको वामपन्थीकरण त कहाँ-कहाँको विषय हो ।’ उनले थपे, ‘एउटा राजनीतिज्ञले सहीलाई सही भन्न सक्नुपर्छ, आफ्नो नेतृत्वलाई गलत गरिस् भनेर भन्न सक्नुपर्छ नभए त्यो नेता नै हुँदैन ।’

‘एमाले ओलीको नियन्त्रणबाट कहिल्यै मुक्त हुँदैन’

घनश्याम एमालेको आन्तरिक लोकतन्त्र कमजोर भयो भनेर बोल्दै आएका नेता हुन् । ९औं महाधिवेशनबाट उपमहासचिव बनेका उनले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विचारहरू राखिरहन्थे । उनले एमाले ओलीको कब्जामा रहेको र त्यसबाट कहिल्यै पनि मुक्त नहुने उल्लेख गर्दै भने, ‘एमाले ओलीको नियन्त्रणबाट कहिल्यै मुक्त हुनेवाला छैन । मैले पार्टी छाड्नुको कारण यो पनि हो ।’

यद्यपि, आफूलाई एमालेभित्र पनि विधिको कुरा गर्नेले साथ दिइरहेकै बताउँछन् । ‘अझै पनि त पार्टीभित्र विधि, मूल्य, मान्यताको कुरा गर्ने त होलान् नि कोही । ओलीजीको अनियन्त्रित गिरोहका विरुद्ध पनि त कोही त होलान् । उहाँहरूले पनि मलाई शुभेच्छा र सहानुभूति दिनुभएको छ,’ उनले भने ।

‘कृषिलाई मुख्य राजनीतिक मुद्दा बनाउँछु’

अब तपाईंको राजनीतिक बाटो के हुन्छ ? भन्ने जिज्ञासामा उनले आफू राजनीतिबाट अहिल्यै टाढा नहुने बताउँछन् । आफू कुनै न कुनै रूपमा राजनीतिमै रहने उल्लेख गर्दै भने, ‘यसबारे पछि सोचुँला, कुरा गरुँला ।’

तर, अबको आफ्नो राजनीतिक मुद्दा भने कृषि नै रहने बताउँछन् उनी । ‘सक्छु, सक्दिनँ । सकेँ भने नेपाल कृषिप्रधान देश भएकाले पनि यहाँको प्रमुख मुद्दाचाहिँ कृषि बनाउँछु ।’ त्यसअघि उनले भने, ‘सकेँ भने आगामी निर्वाचनमा कृषिलाई नै मुख्य मुद्दा बनाएर चुनावमा जानेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved